ट्रम्प–किम वार्ता तयारी तीव्र

उत्तर कोरियाली टोली अमेरिकामा, रूसी विदेशमन्त्री पनि उत्तर कोरिया पुगे

मस्को — अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा तय गरिएको वार्ताको तयारीका लागि उत्तर कोरियाका एक उच्च अधिकारी अमेरिका भ्रमणमा रहेकै बेला रूसी विदेशमन्त्री सेर्गेई लाभरोभ बिहीबार उत्तर कोरिया पुगेका छन् ।

ट्रम्प–किम वार्ता तयारी तीव्र

उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना समकक्षीसँग वार्ता गर्ने कार्यक्रम छ ।


रूसी विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी विदेशमन्त्री लाभरोभले उत्तर कोरियाली समकक्षी री योङ होसँग आणविक कार्यक्रम र अन्य द्विपक्षीय हितका विषयमा कुराकानी गर्ने जनाएको छ । उत्तर कोरियाली विदेशमन्त्रीको निम्तोमा लाभरोभ प्योङयाङ पुगेका हुन् ।


भेटका क्रममा उत्तर कोरियाको आणविक अस्त्र उत्पादन नीति, गत साता मात्र उत्तर कोरियाले भत्काएको आणविक परीक्षणस्थल लगायतका विषयमा पनि वार्ता हुने बताइएको छ ।


अमेरिका र उत्तर कोरियाबीच आगामी १२ जुनमा शिखर वार्ता गर्ने तयारी भइरहेका बेला रूसी विदेशमन्त्रीको यो भ्रमण निकै अर्थपूर्ण रूपमा लिइएको छ । लाभरोभले बुधबारै अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग टेलिफोनमा कुराकानी गरेका थिए । तयारीका बारेमा सिंगापुरमा पनि उत्तर कोरियाली र अमेरिकी अधिकारीबीच भेट हुँदै छ ।

रूसी विदेशमन्त्री सेर्गेई लाभरोभ प्योङयाङमा उत्तर कोरियाली समकक्षी री योङ होसँग ।


वार्ताको तयारीका लागि उत्तर कोरियाका विशेषदूत किम योङ चोल चीनको बाटो हँुदै बिहीबार अमेरिका पुगेका छन् । उनीहरू दुवै न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयनजिकैको भवनमा ‘वर्किङ डिनर’ मा सहभागी भए । किमसँगको वार्ताअघि ट्वीट गर्दै पोम्पियोले आफूहरूबीच शिखर सम्मेलनका बारेमा छलफल हुने र आफूहरू कोरियाली प्रायद्वीपमा पूर्ण, प्रमाणित र स्थिर नि:शस्त्रीकरणप्रति प्रतिबद्ध रहेको बताएका थिए ।


वार्ताकै तयारीका क्रममा उत्तर कोरियाका उपविदेशमन्त्री चोई सन हुईले दक्षिण कोरियाका लागि पूर्वअमेरिकी राजदूत सुङ किमसँग सीमावर्ती पानमुनजोममा वार्ता गरेका छन् । उनीहरूबीचको वार्ता आइतबारदेखि जारी रहेको जनाइएको छ ।


सकारात्मक छु : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा उत्तर कोरियासँगको वार्ता सकारात्मक भएको र किम जोङ उनको पत्र हस्तान्तरण गर्न प्योङयाङको टोली वासिङ्टन आउने अपेक्षा गरेको बताएका छन् ।


हयुस्टनको संयुक्त बेसतर्फ प्रस्थान गर्नुअघि बिहीबार उनले भने, ‘पत्रमा के छ भनेर हेर्न म उत्सुक छु ।’ उनले आफ्ना विदेशमन्त्री र उत्तर कोरियाली विशेष दूतबीचको वार्ता निकै सकारात्मक भएको र भविष्यमा पनि यस्तै हुने बताए । सन् २००० यता कुनै पनि उत्तर कोरियाली अधिकारी ह्वाइटहाउस पुगेका छैनन् ।

प्रकाशित : जेष्ठ १८, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?