कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्प–किम वार्ता : ‘तयारी हुँदै छ’

बीबीसी

काठमाडौँ — अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिका र उत्तर कोरियाबीच हुने शिखर वार्ताको तयारी भइरहेको बताएका छन् ।

ट्रम्प–किम वार्ता : ‘तयारी हुँदै छ’

उत्तर कोरियाली नेता किम जोङ उनका निकटस्थ सहयोगी किम योङ चोललाई न्युयोर्कमा भेटेपछि पोम्पियोले अझै वार्ताका लागि धेरै तयारी बाँकी रहेको प्रतिक्रिया दिए । जर्नेक किमले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङ्टनमा भेट्दै छन् । उनले सर्वोच्च नेता किम जोङ उनले ट्रम्पलाई लेखेको पत्र हस्तान्तरण गर्ने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच आगामी जुन १२ मा सिंगापुरमा शिखर बैठक हुँदै छ । उक्त वार्ता उत्तर कोरियाली नेता र बहालवाला अमेरिकी राष्ट्रपतिबीचको पहिलो हुनेछ । ट्रम्पले दुई नेताबीचको बैठक विश्व समुदायकै लागि उपलब्धिमूलक हुने जनाउँदै आएका छन् ।

७२ वर्षीय पूर्वजासुस किम उच्च तहको उत्तर कोरियाली कूटनीतिज्ञ मानिन्छन् । दुई कोरियाबीच विगतमा भएका वार्तामा सहभागी भएका किम दक्षिण कोरियामा भने निकै विवादित छन् । उनीमाथि दक्षिण कोरियाले सन् २०१४ मा माछा मार्ने डुंगामा आक्रमण गरी ४६ जना माझीहरूको हत्या गरेको आरोप लगाउँदै आएको छ ।

किमले पुटिन भेट्ने
उत्तर कोरियाली नेता किम जोङ उनले रूससँग शिखर वार्ता गर्ने रूसी विदेशमन्त्रीले जनाएका छन् । बिहीबार प्योङयाङ पुगेका रूसी विदेशमन्त्री सर्गेई लाभरोभले किमलाई भेटेका थिए । उक्त भेटमा दुई नेताबीच शिखरवार्ता गर्ने सहमति भएको लाभरोभले जनाए । यद्यपि, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालय क्रेमलिनले भने किम र पुटिनबीच यसै वर्ष भेटवार्ता हुन सक्ने जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार दुई नेताबीचको भेटवार्ताबारे हालसम्म कुनै निर्णय भने भई नसकेको बताए । उनले भने, ‘हो वास्तवमै त्यस्तो प्रकारको बैठक हुने सम्भावना छ ।’ कूटनीतिक संयन्त्रमार्फत भेटवार्ताका लागि आन्तरिक गृहकार्य भइरहेको तर तिथि र अन्य विषयबारे अहिले विस्तृतमा भन्ने अवस्था नरहेको उनको भनाइ छ ।यसअघि बिहीबार विदेशमन्त्री लाभरोभले उत्तर कोरियाली समकक्षी री योङ हीसँग आणविक कार्यक्रम र अन्य द्विपक्षीय हितबारे कुराकानी गरेका थिए ।

प्रकाशित : जेष्ठ १९, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?