कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अस्ट्रेलियाली संसद्मा नेपाल समिति

अस्ट्रेलिया — अस्ट्रेलिया र नेपालबीच कूटनीतिक र राजनीतिक सम्बन्ध प्रगाढ बनाउन ‘अस्ट्रेलिया–नेपाल संसदीय समिति’ गठन गरिएको छ ।

अस्ट्रेलियाली संसद्मा नेपाल समिति

अस्ट्रेलियाको सत्तारूढ र प्रतिपक्षी दलका प्रभावशाली सांसद संलग्न समितिले नेपाल र अस्ट्रेलियाबीच आपसी सहयोग आदानप्रदानका साथै सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तिअनुसार सत्तारूढ दल लिबरलका सांसद पिटर खलिल र प्रतिपक्षी लेबरका सांसद एन सदमाालिसको सहअध्यक्षतामा गठन गरिएको समितिमा ३५ सांसद सदस्य छन् । समितिले मुख्य गरेर नेपाल र अस्ट्रेलियाका सांसदबीच सम्बन्ध कायम गर्नुका साथै दुवै देशको विकासमा हातेमालो गर्न भूमिका खेल्नेछ ।


समितिमा प्रभावशाली नेताहरू पेनी योङ, टोनी स्मिथ, निक च्याम्पियन, लिन्डा बर्नी, डेभिड लिटलप्राड, ब्रेन्डन ओर्कनर, जुली ओवन्सलगायत छन् ।


क्यानबेरास्थित दूतावासमा आयोजित कार्यक्रममा सहभागी सांसदले नेपालको पर्यटन, विकास, संघीय संरचनाका साथै अस्ट्रेलियामा रहेका नेपालीको विविध समस्यामा हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए ।


अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले धेरै लामो प्रयासपछि गठन भएको समितिले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सुधार मात्र नभएर यहाँका नेपालीको समस्या समाधान गर्नसमेत सहज हुने बताइन् ।


शेर्पाले समिति गठन भएपछि दुवै देशका सांसदहरूबीचमा सम्बन्ध विस्तारका लागि भ्रमण गराउने योजना भइरहेको सुनाइन् । उनले अहिलेसम्म अस्ट्रेलिया र नेपालका बीचमा उच्चस्तरीय राजनीतिक र कूटनीतिक भ्रमण नभएकाले समिति निर्माणपछि यस किसिमको भ्रमण गराउन सहयोग पुग्ने बताइन् ।

प्रकाशित : जेष्ठ १९, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?