२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

इजिप्टको राष्ट्रपतिमा पुन: अल–सीसी

बीबीसी

कायरो — इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सीसीले दोस्रो कार्यकालका लागि आइतबार शपथ लिएका छन् । शपथलगत्तै उनले ‘हिंसा, आतंकवाद र अतिवादविरुद्ध’ लड्ने प्रतिबद्धता जनाएका छन् ।

इजिप्टको राष्ट्रपतिमा पुन: अल–सीसी

गत मार्चमा भएको निर्वाचनमा अल–सीसी ९७ प्रतिशत मतसहित विजयी भएका थिए । चुनावमा ४१ प्रतिशत मात्र मतदान भएको थियो ।

शपथ ग्रहण समारोहको समयमा इजिप्टको संसदीय भवनमाथि लडाकु विमानहरूले गस्ती गरेका थिए । अल–सीसी शपथका लागि संसद् भवनतर्फ जाँदै गर्दा लडाकु विमानहरूले राष्ट्रिय झन्डाका रंगहरू मिश्रित धूवाँ उडाउँदै प्रदर्शन गरेका थिए ।

शपथलगत्तै सीसीले आफूले जहिले पनि इजिप्टका जनताका लागि ‘समान स्थान कायम गर्न लागिपर्ने’ बताए । इजिप्टको उत्तरी क्षेत्र सिनाईमा विभिन्न जिहादी आक्रमणमा सयौं सैनिक तथा सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।

त्यसतर्फ संकेत गर्दै सीसीले ‘सबैजना एकत्रित भए आर्थिक, सामाजिक र राजनीतिक चुनौती तथा त्यसको नकारात्मक प्रभाव अन्त्य गर्न सफल हुने’ बताए । सन् २०१३ मा निर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीविरुद्ध आन्दोलन सुरु भएपछि सैनिक आडमा सीसीले सत्ता कब्जा गरेका थिए । उनी सेनाका अवकाशप्राप्त फिल्ड मार्सल हुन् ।

मानव अधिकारवादीहरूले सीसीले ठूलो संख्यामा विपक्षीलाई पक्राउ गरी थुनामा राखेको आरोप लगाउँदै आएका छन् । उनीहरूले दर्जनौं व्यक्तिहरू झूटो समाचार सम्प्रेषण गरेको तथा गैरकानुनी समूहसँग आबद्ध भएको आरोपमा पक्राउ गरिएको बताएका छन् ।

प्रकाशित : जेष्ठ २१, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?