१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विश्व व्यापार युद्धको जोखिम बढ्दै

नवीन पोखरेल

लन्डन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबारदेखि लागू हुने गरी क्यानाडा, युरोपियन युनियन तथा मेक्सिकोबाट अमेरिका निर्यात गर्ने स्टिल तथा आल्मुनियममा क्रमश: २५ र १० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने घोषणा गरेपछि विश्व व्यापार युद्ध सुरु हुने चिन्ता बढेको छ ।

विश्व व्यापार युद्धको जोखिम बढ्दै

ट्रम्प नीतिको उल्लेखित देशहरूमा चर्को आलोचना हुनुका साथै यी देशले पनि ‘जस्तालाई तस्तै’ नीति अख्तियार गर्ने चेतावनी दिएका छन् । युरोपियन युनियनले अमेरिकाबाट युरोपमा आयात हुने विलासी तथा अन्य सामानमा थप भन्सार शुल्क लगाउने तथा विश्व व्यापार संगठन (डब्लूटीओ) मा मुद्दा दर्ता गर्ने जनाएको छ ।

फ्रान्सका राष्ट्रपति एम्यानुयल म्याक्राेंले अमेरिकी नीति गैरकानुनी भएको प्रतिक्रिया दिएका छन् । बेलायती प्रधानमन्त्री टेरेजा मेले ट्रम्पको नीतिले आफू निराश भएको बताउँंदै आगामी साता हुने जी–७ बैठकमा यसबारे कुरा उठाउने बताएकी छन् ।

ट्रम्पले सन् २०१६ को चुनावी अभियानमा अमेरिकी अर्थतन्त्र तथा रोजगारीका लागि स्टिल तथा आल्मुनियममा अतिरिक्त भन्सार शुल्क लगाउने घोषणा गरेका थिए । अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक भएको भन्दै उनले आफू यस नीतिबाट पछि नहट्ने जिकिर गर्दै आएका छन् । जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता तथा इरानी परमाणु सम्झौताबाट अमेरिका अलग्गिने घोषणा गरेपछि युरोप र अमेरिकाबीच सम्बन्ध चिसिएका बेला ट्रम्पको पछिल्लो व्यापार नीतिले थप तनाव बढ्ने देखिएको छ ।

सन् २०१७ मा विश्वमा १ दशमलव ७ अर्ब मेट्रिक टन स्टिल उत्पादन भएको थियो, जसमा ४९ प्रतिशत चीन र १० प्रतिशत युरोपियन युनियनले उत्पादन गरेका थिए । २९ अर्ब डलर बराबरको कुल स्टिल आयात गर्ने अमेरिकाले १७ प्रतिशत क्यानाडाबाट आयात गरेको थियो ।

अमेरिकाको यस संरक्षण नीतिले विश्व व्यापार युद्ध, सामानहरूको मूल्यवृद्धि भई व्यापार थप अस्थिरता र रोजगारी तथा विश्व अर्थतन्त्र अरू खल्बलिने संकेत भएको लन्डनस्थित अर्थ व्यवस्थापनका जानकार विकलचन्द्र आचार्य बताउँछन् । संसारका तीन ठूला अर्थतन्त्र भएका अमेरिका, चीन तथा युरोपियन युनियनबीच हाल भइरहेको यस्तो तनावले दीर्घकालीन व्यापारमा असर पर्ने निश्चित छ ।

अमेरिकाको युरोपियन युनियनसँग व्यापार घाटा ३८ अर्ब डलर छ । अमेरिकाले ७८ अर्ब डलर ईयूमा निर्यात गर्छ भने १ सय १६ अर्ब डलर आयात गर्छ । हाल ईयूले प्रस्तावित गरेका विभिन्न सामानमा १० प्रतिशतभन्दा धेरै भन्सार शुल्कको नीति अपनाए विश्व व्यापार करिब ६ प्रतिशतले घट्ने आचार्यको विश्लेषण छ ।

अमेरिकाको चीनसँग सन् २०१७ मा व्यापार घाटा ३ सय ७५ अर्ब डलर रहेको तथ्यांक छ । यसलाई सम्बोधन गर्ने क्रममा अमेरिका र चीनसँगको सम्बन्धमा पनि उतारचढाव आइरहेको छ । बढदो व्यापार घाटा कम गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले ‘अमेरिका पहिलो’ भन्ने नीतिको वकालत गर्दै आएका छन् । उनले उत्तर अमेरिकी व्यापार सन्धिबाट पनि अमेरिका पछि हटेको घोषणा केही महिना अगाडि गरेका थिए ।

अमेरिकाको अतिरिक्त भन्सार शुल्कको विरोध बेलायतभित्र चर्किएको छ । बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले अमेरिकी धम्कीको डटेर सामना गर्नुपर्ने जनाएको छ । बेलायतले करिब ३७ करोड पाउन्ड बराबरको स्टिल अमेरिकामा निकासी गर्छ । बेलायती व्यापारमन्त्री लियम फक्सले गत मार्चमा अमेरिका भ्रमणका बेला बेलायतमाथि अतिरिक्त भन्सार नलगाउन अनुरोध गरेका थिए । अमेरिका–बेलायतबीच विशेष सम्बन्ध रहिआएकोमा राष्ट्रपति ट्रम्पको आगमनसँगै अमेरिकासँग बेलायतको राजनीतिक प्रभाव कम हुँदै गएको छ ।

अमेरिकाको कडा आलोचना

अमेरिकाले स्टिलमा २५ तथा एलुमिनियममा १० प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरेपछि क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी–७ का अर्थमन्त्रीले उक्त नीतिको कडा आलोचना गरेका छन् ।

जी–७ मा आबद्ध देशका अर्थमन्त्रीको बैठक अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको हो । जी–७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका छन् । क्यानडाको विस्लरमा भएको बैठकमा युरोपेली संघ र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिएका छन् भने फ्रान्सले केही दिनमै व्यापार युद्ध सुरु हुनसक्ने अवस्थातर्फ ध्यानाकर्षण गराएको छ ।

तर ट्वीटरमा राष्ट्रपति ट्रम्पले आफ्नो देशलाई वर्षौंदेखि अरू देशले व्यापारमा शोषण गरिरहेको उल्लेख गरेका छन् । ट्रम्पले उक्त करले अमेरिकी स्टिल उत्पादकहरूको संरक्षण गर्ने उल्लेख गर्दै त्यो अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण भएको बताए ।


उनले अमेरिकी फर्मले युरोप र अन्यत्र भोग्ने अवरोधबारे पनि गुनासो गर्दै अब चलाख हुनुपर्ने समय आएको उल्लेख गरेका छन् । शुक्रबार अमेरिकी वाणिज्यमन्त्री विल्बर रसले स्टिलमा २५ प्रतिशत र एल्मुनियममा १० प्रतिशत कर बढाउने निर्णय कार्यन्वयनमा आएको बताएका थिए ।

सम्पूर्ण व्यापार सम्झौता रद्द : चीन
बेइजिङ । चीनले ट्रम्प नीतिको विरोध गर्दै स्टिल र एल्मुनियममा अतिरिक्त कर लगाउने निर्णय कार्यान्वयन भए अमेरिकासँग भएका सबै प्रकारका व्यापार वार्ता तथा सम्झौताहरू रद्द हुने बताएको छ ।

चिनियाँ उपप्रधानमन्त्री लिउ हे र अमेरिकी वाणिज्य मन्त्री विल्बर रसबीचको वार्तापछि चीनले अन्य देशबाट हुने आयात बढाउन तयार रहेको बताएको छ ।

चिनियाँ पक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि अमेरिकाले चीनमाथि अतिरिक्त करसहितको व्यापार प्रतिबन्ध लगाउँछ भने दुई देशबीच भएका सबै व्यापार उपलब्धिहरू स्वत: रद्द हुनेछन् ।’

प्रकाशित : जेष्ठ २१, २०७५ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?