१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ग्वाटेमालमा ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्याे

रासस/एएफपी

ग्वाटेमाला सिटी, ग्वाटेमाला — ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ । राजधानी शहरनजिकै अवस्थित स्थानमा एक शताव्दियताकै शक्तिशाली विस्फोट भएको पुष्टि गरिएको छ ।

ग्वाटेमालमा ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्याे

उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका थिए ।

मध्य अमेरिकी देश ग्वाटेमालाको विपद्सम्बन्धी निकायले फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा शवहरू फेला परेकाे र दर्जनौँ मानिसहरू हराइरहेकाे जानकारी दिएको छ ।

ग्वाटेमाला सिटीभन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रमा तीव्र वेगमा तातो खरानी र लाभाबाट जोगाउने क्रममा चार हजार भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ ।

उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएका कैयौं व्यक्तिहरूले आफ्ना आफन्त हराइरहेकाे बताएका छन् ।

त्यसमा परी अरु करिब ४६ व्यक्ति घाइते भएका र ती मध्ये प्रायःको अवस्था चिन्ताजनक भएको बताइएको छ ।


आइतबार राति भएको याे प्रकोपमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । ती मध्ये ३ हजार २७१ व्यक्तिलाई १ हजार ७८७ शरणार्थी स्थलमा सारिएको बताइएको छ ।


सुरुमा यस प्रकोपमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ भएको बताइएको थियो । पछि सो सङ्ख्या बढेर ६५ पुग्यो अझै पनि व्यक्ति हराइरहेका र घाइते मध्ये पनि कैयौको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

यहाँको सेना र प्रहरीले उद्धारको काम जारी राखेका छन् । उनीहरुकाे सहयोगमा ठूलो सङ्ख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको छ ।

उद्धारकर्ताले उक्त पहाडी क्षेत्रमा अकस्मात ज्वालामुखीको गतिविधि बढेको र खरानीको मुस्लोका कारण दिउँसोको नै रातिको दश बजे जस्तो लागेको बताएका छन् ।

ज्वालामुखी विज्ञ जेनिन क्रिपनरले फोएगो एकदमै सक्रिय ज्वालामुखी भएको त्यहाँ खुकुलो प्रकृतिका ज्वालामुखीबाट निस्कने बस्तुहरू रहेका बताए । उनले भीषण पानी परेको अवस्थामा यस्ता ज्वालामुखीबाट एकदमै ठूलो परिमाणमा भग्नावशेष र चट्टानसहितको भेल बाहिर बग्ने गर्छ जुन एकदमै खतरनाक र घातक हुनसक्ने जानकारी दिएका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७५ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?