कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्प–किम अर्को साता भेट्दै: गोर्खा प्रहरीले सुरक्षा दिने

रोयटर्स

सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् । दुई नेताबीच जुन १२ मा सिंगापुरमा शिखर बैठक हुँदै छ ।

ट्रम्प–किम अर्को साता भेट्दै: गोर्खा प्रहरीले सुरक्षा दिने

दुवै नेताहरूले आ–आफ्नै सुरक्षाकर्मीहरू ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल, दुई नेता बस्ने होटल, उनीहरू हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिने वार्तास्थलको सुरक्षाबारे जानकार कूटनीतिज्ञले बताए । गोर्खा टुकडीले गत साता सांग्रिला होटलमा आयोजित एसिया सुरक्षा सम्मेलनमा पनि सुरक्षा दिएको थियो । उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रक्षामन्त्री जिम म्याटिससहित अन्य क्षेत्रीय मन्त्रीहरू सहभागी थिए । उनीहरू परम्परागत हतियार खुकुरी, बेल्जियममा बनेको राइफल र पेस्तोलसहित सुरक्षामा खटिएका थिए ।


‘सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट गोर्खाहरू नै हुन् । म विश्वस्त छु, शिखर वार्तामा पनि उनीहरू खटिनेछन्,’ इन्टरनेसनल इन्स्टिच्युसन फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस) मा सिंगापुरका सशस्त्र प्रहरी विज्ञ टिम हक्सलेले भने । ‘गोर्खाहरू मजबुत दस्ताका रूपमा अग्रपंक्तिमा रहँदै आएका छन् र यस प्रकारका कार्यक्रमको सुरक्षाको जिम्मेवारीका लागि उनीहरूलाई आवश्यक विशेष तालिम दिइएको हुन्छ,’ उनले भने ।


सिंगापुर प्रहरी प्रवक्ताले भने गोर्खालाई खटाउने तथा उनीहरूको संख्याबारे भने प्रतिक्रिया दिन अस्वीकार गरे । आईआईएसएसका अनुसार सिंगापुर प्रहरीमा करिब १ हजार ८ सय गोर्खा छन् । १९ औं शताब्दीको नेपाल–अंग्रेज युद्धमा पराजय भोगेपछि बेलायतले गोर्खाहरूलाई भर्ती लिन थालेको हो । तर भारतमा बेलायतको उपनिवेश अन्त्यसँगै केही गोर्खाहरूलाई सिंगापुरमा तैनाथ गरिएको थियो । गोर्खाहरूले दुवै विश्वयुद्धका साथै फकल्यान्ड युद्ध लडेको भए पनि हालै अफगानिस्तानमा भएका विद्रोही लक्षित आक्रमणका कारण विश्वको ध्यान आफूतिर तानेका थिए । गोर्खाहरू बेलायती, भारतीय तथा ब्रुनाई सेनामा पनि कार्यरत छन् ।


हक्सलेले गोर्खाले जातीय विविधता भएको सिंगापुरमा अति विशिष्ट व्यक्तिको सुरक्षा तथा दंगा नियन्त्रणमा लामो समयदेखि तटस्थ फौजका रूपमा कार्य गरेको बताए । उनका अनुसार क्षेत्रीय तनावका बेला महत्त्वपूर्ण भूमिका निर्वाह गरेका गोर्खाहरू यदाकदा मलेसिया र सिंगापुरको सीमा क्षेत्रमा पनि देखिन्छन् ।

प्रकाशित : जेष्ठ २३, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?