जनचेतना जगाउन ९ हजार किलोमिटर पौडी

बीबीसी

टोकियो — एक फ्रान्सेली पौडीबाजले जलवायु परिवर्तनबारे जनचेतना जगाउन ९ हजार लामो पौडी सुरु गरेका छन् ।५१ वर्षीय बेन लेकोम्टेले मंगलबार जापानको चोसीस्थित प्रशान्त महासागरबाट पौडी सुरु गरेका हुन् । उनी पौडी खेलेर प्रशान्त महासागर पार गर्ने पहिलो मानव हुनेछन् ।

जनचेतना जगाउन ९ हजार किलोमिटर पौडी

लेकोम्टे अमेरिकाको पश्चिम तटीय क्षेत्रमा पुग्नका लागि ६ महिनाभन्दा बढी दैनिक ८ घण्टा पौडने छन् । अधिकारीहरूले उनले आँधी, सार्क, जेलिफिस तथा न्यून तापक्रमको जोखिम रहेको बताएका छन् । उनले आफ्नो कार्यले विश्वमा भएको जलवायु परिवर्तनप्रति चेतना जगाउन मानिसको ध्यान आकर्षण गर्ने बताएका छन् । उनको पौडीको समय वैज्ञानिकहरूले विभिन्न अनुसन्धान गर्ने बताइएको छ । उनीहरूले प्लास्टिकका भग्नावशेष, बृहत् शारीरिक अभ्यासको मुटुमा असर र जापानस्थित फुकुसीमा आणविक भट्टीका कारण समुद्रमा परेको प्रभावबारे अध्ययन गर्नेछन् ।


अमेरिकामा बस्ने लेकोम्टेले प्रशान्त महासागर पार गर्ने तयारी स्वरूप आफूले दैनिक खुला पानीमा पौडी खेल्ने गरेको जनाए । ‘शारीरिकभन्दा मानसिक स्वास्थ्य अवस्था ठीक हुनु महत्त्वपूर्ण हुन्छ,’ उनले समाचार संस्था एएफपीसँग भने, ‘यसका लागि आफूले सकारात्मक कुराहरू सोच्न आवश्यक हुन्छ ।’ उनले यसका लागि आफूले ६ वर्ष लामो तयारी गरेको बताए । यसअघि सन् १९९८ मा उनले एटलान्टिक महासागरमा ६ हजार ४ सय किलोमिटरको दूरी ७३ दिनमा पूरा गरेका थिए । त्यसताका उनले ‘आगामी दिनमा समुद्रामा नपौडने’ बताए पनि फेरि नयाँ चुनौतीको सामना गर्न लागेका हुन् । उनले भने, ‘मैले मेरो सोचाइ परिवर्तन गर्न लामो समय लागेन ।’


यात्रा अवधिमा उनले ८ घण्टा पौडी खेल्ने त्यसलगत्तै खाना खान तथा सुत्न डुंगामा चढ्ने र फेरि पौडी खेल्नेछन् । त्यसका लागि आफूले दैनिक करिब ८ हजार क्यालोरी शक्ति खपत गर्ने उनले बताए । उनले आफ्नो सहयाताका लागि सँगै लगिने डुंगामा जीपीएस प्रविधि जडान गरिएकाले इच्छुक मानिसले आफ्नो प्रगतिबारे हेर्नसमेत सक्ने जनाए ।

प्रकाशित : जेष्ठ २३, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?