१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ट्रम्प–किम वार्ता: सिंगापुरको क्यापिला होटलमा

१५ जुनसम्मका लागि रिसोर्ट बुक गरिएको छ । वार्ता अवधिभर त्यहाँ कोही पनि पर्यटक जान पाउनेछैनन् 
बीबीसी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरको सेन्तोसा टापुस्थित क्यापिला होटलमा शिखर वार्ता हुने भएको छ । वार्ता आगामी १२ जुनमा हुँदै छ ।

ट्रम्प–किम वार्ता: सिंगापुरको क्यापिला होटलमा

ह्वाइटहाउसकी प्रेस सेक्रेटरी सराह स्यान्डर्सले दुई नेताबीचको वार्ता पाँचतारे होटल क्यापिलामा हुने पुष्टि ट्वीटरमार्फत गरेकी हुन् ।

राष्ट्रपति ट्रम्पले वार्ताको तयारी योजना अनुसार चलिरहेको मंगलबार बताएका छन् । तर वार्तामा कुन विषयमा छलफल हुने भन्नेबारे अहिलेसम्म स्पष्ट पारिएको छैन । अमेरिका उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गरोस् भन्ने चाहन्छ । ट्रम्पले किमसँग लामो समयसम्म छलफल चल्न सक्ने र त्यसपछि पनि कैयौं पटक भेट गर्नुपर्ने हुन सक्ने यसअघि नै बताइसकेका छन् ।

वार्ता क्यापिला होटलमा हुने भनिए पनि दुई नेता बस्ने व्यवस्था भने अन्यत्रै हुने बताइएको छ । स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार ट्रम्प सिंगापुरको मुख्य टापुस्थित सांग्रिला होटलमा बस्नेछन् । उनी उक्त होटलमा यसअघि पनि बसिसकेका थिए । यस्तै किम भने सेन्ट रेगिस होटलमा बस्ने सम्भावना रहेको बताइएको छ ।

१ सय १२ कोठा भएको क्यापिला रिसोर्ट ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ । ब्रिटिस आर्किटेक्टले डिजाइन गरेको यो रिसोर्टमा ब्रिटिस शासनकालका कैयौं भवन छन् । यो रिसोर्टको प्रिमियर गार्डेन किङ नामक कोठाको शुल्क प्रतिरात ५३ हजार ६ सय नेपाली रुपैयाँ छ । यस्तै, प्राइभेट पुलका साथ तीन कोठा भएको कोलोनियल मनोरको एक रातको शुल्क ८ लाख नेपाली रुपैयाँ पर्छ ।

ह्वाइटहाउसका अधिकारीहरूले वार्तास्थलको अवलोकन गरिसकेका छन् भने सम्मेलनको तयारी पनि करिब पूरा भएको जनाइएको छ । १५ जुनसम्मका लागि रिसोर्ट बुक गरिएको छ । उक्त अवधिसम्म त्यहाँ कोही पनि पर्यटक जान पाउने छैनन् । यो टापु प्राकृतिक रूपमै निकै सुरक्षित मानिन्छ । कोही पनि व्यक्ति यहाँ सजिलै प्रवेश गर्न नसक्ने भएकाले वार्ता स्थलका रूपमा यसैलाई रोजिएको जनाएको छ ।

सेन्तोसा टापुको विगत
सेन्तोसा सिंगापुरको ६३ टापुमध्ये एक हो । मुख्य टापुभन्दा केही दूरीमा रहेको यो टापु ५ सय हेक्टरमा फैलिएको छ । यहाँ कैयौं लक्जरी रिसोर्ट, प्राइभेट मरिना र आलिसान गल्फ क्लब छन् । तर यो टापुको विगत समुद्री डकैती, रक्तपात र युद्धसँग जोडिएको छ ।

१९औं शताब्दीमा सिंगापुरलाई एक ब्रिटिस व्यापारिक केन्द्रका रूपमा स्थापित गरिएको थियो । भारत र चीनको समुद्री मार्गमा पर्ने भएकाले यसको विशेष महत्त्व थियो । ब्रिटिस शासनभन्दा अघिदेखि नै सिंगापुर व्यापारको प्रमुख केन्द्र थियो । व्यापारीको आउजाउ भइरहने यहाँ समुद्री डाकुहरूले आतंक मच्चाएका थिए ।

सन् १९४२ मा सिंगापुरमा जापानको नियन्त्रणमा आएको थियो । यसपछि यसलाई जापानी नाम ‘सोयोनेन’ (दक्षिणको प्रकाश) दिइएको थियो । त्यहाँ जापान विरोधीलाई समाप्त पार्न चलाइएको अप्रेसनमा हजारौं मारिए । सेन्तोसा टापुको त्यही नरसंहार भएको स्थानमा अहिले क्यापिला होटल बनेको छ । १९७० मा सिंगापुर सरकारले यसको नाम सेन्तोसा राखेको हो । जसको अर्थ शान्ति हुन्छ । त्यसयता यसलाई पर्यटकीय स्थलको रूपमा विकास गरिएको हो ।

प्रकाशित : जेष्ठ २४, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?