सिंगापुर गोर्खालाई सुरक्षाको चटारो

चन्द्रशेखर अधिकारी

काठमाडौँ — दोस्रो विश्वयुद्धअघि जापानको कब्जामा रहँदासम्म रगतले लत्पतिएको र सामुद्रिक डाकुको अखडा बनेको सिंगापुरको सन्तोसा टापुले यतिखेर विश्वको ध्यान तानेको छ ।

सिंगापुर गोर्खालाई सुरक्षाको चटारो

जापानीको कब्जामा रहँदा ‘सोयोनेन’ अर्थात् ‘दक्षिणमा उज्यालो’ नामले परिचित टापु अहिले विश्व शान्तिको आस जगाउने केन्द्रका रूपमा परिचित हुँदै छ ।

सन् १९७० मा सिंगापुर सरकारले यसलाई ‘सन्तोसा’ नाम दिएको हो, जसको अर्थ हुन्छ ‘शान्ति’ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ता हुने भएकाले यो टापु विगत केही दिनदेखि अझ चर्चामा छ ।

सिंगापुर आफैंमा एसियाको सुरक्षित टापु मानिन्छ । यसका ६३ टापुमध्ये पनि सन्तोसा सबैभन्दा बढी सुरक्षित मानिन्छ । यहींबाट विश्वको राजनीतिमा नयाँ मोड आउने आशा विश्व समुदायको छ । अमेरिका र उत्तर कोरियाको द्वन्द्वका साथै दुई मुलुकका नेतृत्वको वाक् युद्धले उत्पन्न त्रासदी सिंगापुरमा मथ्थर हुनसक्ने अपेक्षा गरिएको छ ।

वार्तास्थल क्यापिला होटल र दुवै नेता बस्ने होटल वरपर अमेरिकी र उत्तर कोरियाली सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । वार्तास्थलको सुरक्षाका लागि भने सिंगापुर प्रहरीका गोर्खा खटिँदै छन् । अमेरिकी र उत्तर कोरियाली नेताबीचको शिखर वार्तामा विशेष ‘आर्किटेक्ट’ मानिएका दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन पनि पुग्ने बताइएको छ ।

सिंगापुर प्रहरीको गोर्खा टुकडी संवेदनशील विषयमा हुन लागेको वार्ता र विश्वकै उच्च सुरक्षा आवश्यक पर्ने अति विशिष्ट व्यक्तिहरू भएकाले ट्रम्प एन्ड किम समिट (टाक्स) नै नामकरण गरेर सुरक्षामा सक्रिय भएको छ । सिंगापुरमा निकै विश्वासिलो फोर्सका रूपमा रहेको सिंगापुर प्रहरीका गोर्खाले त्यहाँ हुलदंगा नियन्त्रणदेखि विपत् व्यवस्थापन, तटीय सुरक्षा र अति विशिष्ट व्यक्तिको सुरक्षामा अब्बलता देखाइसकेका छन् । गोर्खाहरू बिदा रद्द गर्दै वार्तास्थलको सुरक्षामा खटिने भएका छन् । वार्तास्थल आसपासका स्थानमा सबै तहका गोर्खाहरू खटिने बताइएको छ । हवाई, जल र स्थल तीनै तहबाट सुरक्षाको प्रबन्ध गरिएको बताइएको छ ।

‘हुन त उच्च व्यक्तित्वको सुरक्षामा हामी खटिनु कुनै ठूलो विषय होइन तर विश्व चर्चाको विषय भएकाले सुरक्षामा हामीले ध्यान दिएका छौं,’ एक सिंगापुर प्रहरीले टेलिफोनमा भने, ‘नेतृत्वले दिएको जिम्मेवारीअनुसार हामी खट्ने छौं । त्यो महत्त्वपूर्ण अवसर हाम्रा लागि गौरव पनि हो ।’ सन्तोसा टापु सबै सिंगापुर प्रहरी, अमेरिकी सेना र उत्तर कोरियाली सुरक्षा अधिकारीको निगरानीमा छ ।

वार्तास्थलको भित्री कोर क्षेत्रबाहेक सबै स्थानमा गोर्खा खटिनेछन् । दुवै नेताका आ–आफ्नै सुरक्षाकर्मीहरू सिंगापुर आइसकेको पुष्टि गर्दै प्रहरीले भने, ‘हामी उनीहरूसँगै सबै स्थानमा सक्रिय छौं । वार्तास्थल, दुई नेता बस्ने होटल, उनीहरू हिँड्ने सडक, विमानस्थल, सबै स्थानमा सुरक्षा दिनेछौं ।’ २ हजार ७ मध्ये आधाभन्दा बढी प्रहरी अमेरिकी–कोरियाली शीर्ष नेताको सुरक्षामा खटिने अनुमान गरिए पनि यति नै संख्या भन्ने तय नभएको बताइएको छ । यद्यपि सबैलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको अधिकारीले बताए । यसअघिका उच्चस्तरीय सम्मेलनमा गोर्खाहरू परम्परागत हतियार खुकुरी, कर्जा, बेल्जियममा बनेको अत्याधुनिक राइफल र पेस्तोलसहित सुरक्षामा खटिने गरेका थिए ।

‘सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षा भनेकै गोर्खाहरूबाट हो,’ सिंगापुरका सशस्त्र प्रहरी विज्ञ टिम हक्सलेलाई उद्धृत गर्दै यसै साता रोयटर्सले जनाएको थियो । सिंगापुरसमेत हेर्ने थाइल्यान्डस्थित नेपाली दूतावासले पनि वार्तामा सिंगापुर प्रहरीका गोर्खा खटाइने विषय सकारात्मक भएको जनाएको छ । ‘अन्य मुलुकका लागि भए पनि नेपालीले सुरक्षा दिने भनेको नेपालीप्रतिको विश्वास र हाम्रा पुर्खाले जगाएको साख हो,’ राजदूत खगनाथ अधिकारीले कान्तिपुरसँग भने ।

सिंगापुर प्रहरीको गोर्खा टुकडीका विभिन्न तहमा २ हजार ७ जना कार्यरत छन् । उनीहरू त्यहाँ सपरिवार बस्न पाउँछन् । सोही कारण एउटै कम्पाउन्डमा करिब ६ हजार नेपाली छन् । उनीहरूको परिवार रहने स्थानका घरहरू सबै नेपाली कलाशैलीमा निर्माण गरिएको छ ।

विगतमा नेपाल–अंग्रेज युद्धपछि बेलायतले गोर्खाहरूलाई भर्ती लिन थालेको हो । बेलायतीले नै सिंगापुरमा पनि नेपालबाट लिएका गोर्खाहरूलाई तैनाथ गरेका हुन् । पहिले बेलायतले छनोट गरेर सिंगापुरलाई दिने गरेको भए पनि अहिले सिंगापुर आफैंले छनोट गर्ने गरेको छ । दुवै विश्वयुद्धका साथै फकल्यान्ड युद्धमा देखाएको वीरताले पनि गोर्खाको साख बढाएको हो । बेलायत, भारत, ब्रुनाई र सिंगापुरका सेनामा गोर्खाहरू छन् भने पछिल्लो समय नेपालीहरू अमेरिका, फ्रान्स र अन्य मुलुकका सेनामा पनि प्रवेश गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ २८, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?