३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

यमनमा विद्रोहीविरुद्ध भीषण हमला

साउदी नेतृत्वको गठबन्धन र इरानी समर्थत हुथीविद्रोहीबीच युद्ध
एजेन्सी

साना — साउदी अरब र युनाइटेड अरब इमिरेट्स नेतृत्वको गठबन्धनले बुधबारदेखि यमनको बन्दरगाह शहर हुदाइदाहमा हुथी विद्रोहीलक्षित गर्दै भीषण हमला गरेका छन् ।

यमनमा विद्रोहीविरुद्ध भीषण हमला

साउदी नेतृत्वको गठबन्धन र इरानसमर्थित हुथी विद्रोहीबीचको यो युद्ध तीनवर्ष यताकै भीषण भएको बताइएको छ । यस युद्धमा लाखौं मानिसको जीवन संकटमा पर्न सक्ने चेतावनी राष्ट्रसंघले दिएको छ ।

रेड सी बन्दरगाहदेखि दक्षिण क्षेत्रमा रहेका हुथी विद्रोहीलाई लक्षित गर्दै बुधबार बिहानै हवाई आक्रमण गरिएको थियो । गठबन्धनले हुदाइदाहको विमानस्थललाई लक्ष्य बनाएको थियो । यमनी सेनाले भने स्थलमार्गबाट हुथीविरुद्ध कारवाही चलाइरहेको छ ।


यमनको एकमात्र तटीय शहर भएकाले हुदाइदाह उक्त मुलुककै ‘लाइफलाइन’ मानिन्छ । हाल निर्वासनमा रहेको यमनको सरकारले पनि विद्रोहीबाट यमन पुन: कब्जा गर्न योशहरलाई मुक्त गर्नु महत्वपूर्ण हुने जनाएको छ । यही बन्दरगाहबाट यमनमा खाद्यान्न आपूर्ति हुने गर्छ । हुथीको नियन्त्रणमा रहेका कारण यमनमा यतिखेर खाद्यान्न समस्या देखिएको छ । युएईले बुधबार बन्दरगाह शहर परित्याग गर्नका लागि हुथीमाथि दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो ।


साउदी नेतृत्वको गठबन्धनले हुथीविद्रोहीविरुद्ध सन् २०१५ मार्चदेखि आक्रमण थालेको हो । त्यसयता १० हजारभन्दा बढी मानिस मारिइसकेका छन् ।


संयुक्त राष्ट्रसंघले हुदाइदामा आक्रमण हुँदा २ लाख ५० हजार मानिसको जीवन नै संकटमा पर्न सक्ने चेतावनी दिएको छ । त्यहाँ ६ लाख मानिस बसोबास गर्छन् ।


प्रकाशित : जेष्ठ ३०, २०७५ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?