कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर कोरियाका सञ्चारमाध्यम भन्छन्–‘शताब्दीकै महत्त्वपूर्ण बैठक’

एजेन्सी

प्योङयाङ — उत्तर कोरियाली सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किम जोङ उनबीच सिंगापुरमा भएको शिखर वार्तालाई ‘महत्त्वपूर्ण’ भनी प्रशंसा गरेको छ ।

उत्तर कोरियाका सञ्चारमाध्यम भन्छन्–‘शताब्दीकै महत्त्वपूर्ण बैठक’

उत्तर कोरियाको सरकारी समाचार समिति केसीएनएले वार्ता ‘ऐतिहासिक’ भएको उल्लेख गरेको छ । सरकारी अखबार रोडोङ सिनमुनले शिखर वार्तालाई अग्रपृष्ठमा महत्त्वका साथ स्थान दिँदै ‘शताब्दीकै बैठक’ भनेको छ । उक्त अखबारले अग्रपृष्ठमा ट्रम्प–किम बैठकको फोटो फिचर प्रकाशित गरेको छ ।

यस्तै उत्तर कोरियाली सञ्चारमाध्यमले वार्ता र सहमतिका माध्यमबाट सही तरिकाले समस्या समाधानमा अग्रसर भएको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पको पनि प्रशंसा गरेका छन् । यस्तै, दुवै नेताले एकअर्का देशमा गरिएका भ्रमण निम्तोलाई स्वीकार गरेको विषयलाई पनि केसीएनएले प्राथमिकता दिएको छ । ऐतिहासिक सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा गर्दै सिंगापुरका प्रधानमन्त्री ली सिन लुङले पठाएको पत्र पनि नेता किमले प्राप्त गरेको केसीएनएले जनाएको छ ।

प्राविधिक रूपमा दुवै मुलुक अद्यापि युद्धकै स्थितिमा रहे पनि नयाँ सम्बन्धको सूत्रपात गरेको चित्रित गर्दै समाचारहरूमा दक्षिण कोरियासँगको संयुक्त सैनिक अभ्यास बन्द गराउन गरेको किमको आग्रहलाई अमेरिकाले स्वीकार गरेको कुरालाई जोड दिइएको छ । साथै, ट्रम्पले उत्तर कोरियामाथिको नाकाबन्दी हटाउने प्रतिबद्धता व्यक्त गरेको र दुवै देशले एकअर्कामाथि आरोप प्रत्यारोपजस्ता नकारात्मक कुरा त्याग्नेमा सहमति जनाएको पनि उल्लेख छ ।

शिखर बैठकअघि विभिन्न घटनाक्रम तीव्ररूपमा भएका थिए । नयाँ वर्षको सुरुमै किमले परमाणु कार्यक्रम सम्पन्न भएको जनाउँदै विश्व समुदायसँग निकटमा रहेर कार्य गर्ने घोषणा गरेका थिए । चीन र दक्षिण कोरियाका नेतासँगको भेटघाटसमेतका विभिन्न कूटनैतिक गतिविधिमा उनले विशेष ध्यान दिएका थिए ।

आणविक नि:शस्त्रीकरणप्रति किमको प्रतिज्ञालाई उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएर प्रकाशन गरेका छन् । ‘विगतमा अमेरिकाले देखाएको शत्रुतापूर्ण नीतिमा जति लचकता अपनाउँछ त्यति नै प्योङयाङ नरम हुन्छ र कोरियाली प्रायद्वीपको परमाणु नि:शस्त्रीकरणलाई पूरा गर्न मद्दत पुग्दछ,’ उत्तर कोरियाली सञ्चारमाध्यमले लेखेका छन् । ‘किम र ट्रम्पबीच कोरियाली प्रायद्वीपमा शान्ति, स्थायित्व र नि:शस्त्रीकरणमा अघि बढ्न क्रमिक रूपमा कार्य गर्नेमा सैद्धान्तिक प्रतिबद्धता व्यक्त भएको छ,’ केसीएनएले लेखेको छ ।

मंगलबार सिंगापुरको सेन्तोसा टापुस्थित क्यापिला होटलमा भएको शिखर वार्तामा दुवै नेता कोरियाली द्वीपलाई पूर्णरूपमा परमाणु अस्त्रविहीन बनाउन सहमत भएका थिए । उनीहरूले चारबुँदे सम्झौतामा पनि हस्ताक्षर गरेका छन् ।

तर पछि ट्रम्पले उत्तर कोरियामाथिको आर्थिक प्रतिबन्ध तत्कालका नहट्ने बताएका थिए । प्रतिबन्ध कुनै बेला हट्ने उल्लेख गर्दै उनले यसमा परमाणु कार्यक्रम कारक नबन्ने बताएका छन् । ट्रम्पले दक्षिण कोरियासँगको सैन्य अभ्यास पनि बन्द गर्ने घोषणा गरेका छन् ।

अमेरिका फर्केपछि ट्रम्पले ट्वीटमा भनेका छन्, ‘उत्तर कोरियाबाट अब परमाणु खतरा छैन, राष्ट्रपति ओबामाले उत्तर कोरिया हाम्रो ठूलो र खतरनाक समस्या भएको बताएका थिए, अब त्यस्तो छैन, राम्रोसँग सुत्नुहोस् ।’

दक्षिणका अखबारले के भने ?
सोल (एजेन्सी)– दक्षिण कोरियाली अखबारले पनि वार्ताका सहमति कार्यान्वयन हुने अपेक्षा गरेका छन् ।

अखबारहरूले वार्ताको प्रशंसा गर्दै सहमति कार्यान्वयनमा दक्षिण कोरियाली नागरिकले खुसी व्यक्त गरेको उल्लेख गरेका छन् । यस्तै, अमेरिकी राष्ट्रपतिसँग एउटै दस्तावेजमा हस्ताक्षर गरेको र एक्लाएक्लै वार्तामा बस्न पाएको अवसरको उत्तरले सदुपयोग गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

यस वार्ताको सफलताबाट विश्वले दुई कोरियाबीच पनि एकताको अपेक्षा गरेको पनि समाचारहरूमा उल्लेख गरिएको छ । ‘कोरियाली प्रायद्वीपमा आणविक परीक्षण मात्र रोकिँदा, अमेरिका र उत्तर कोरियाबीच हतियारको होडका अभिव्यक्ति नआउँदा मात्र पनि विश्वमा शान्तिको स्थापना हुने अपेक्षा छ,’ समाचारहरूमा भनिएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?