अफगान सरकारद्वारा युद्धविराम घोषणा

बीबीसी

काबुल — अफगानिस्तानमा इद पर्वका लागि सरकार तथा तालिवानले गरेको युद्धविरामलाई राष्ट्रपतिले निरन्तरता दिने घोषणा गरेका छन् ।

अफगान सरकारद्वारा युद्धविराम घोषणा

राष्ट्रपति असरफ घानीले विद्रोहीलाई सरकारको अग्रसरतालाई स्वीकार गर्दै शान्ति वार्तामा आउन समेत आग्रह गरेका छन् । इदको अवसरमा युद्धविराम गरिएपछि देखिएका अभूतपूर्व दृश्यमा विद्रोही, सर्वसाधारण र सरकारी सैनिकहरूले मोबाइलमा सेल्फी लिनुका साथै अंकमाल समेत गरेका थिए ।

तर तालिबान र सरकारी अधिकारी जम्मा भएको एउटा भीडमा गरिएको आत्मघाती हमलामा २५ जना मारिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । नांगहारमा भएको बम आक्रमणमा तालिबान तथा स्थानीयहरू प्रभावित भएका छन् । अधिकारीहरूले ५४ जना घाइते भएको जनाएका छन् । आक्रमणको इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ । हालैका दिनमा अफगानिस्तानका विभिन्न सहरी क्षेत्रमा इस्लामिक स्टेटले आक्रमणलाई तीव्रता दिँदै आएको छ । राष्ट्रपति घानीले टेलिभिजनमार्फत गरेको सम्बोधनमा तालिवानसँग ‘विस्तृत वार्ता’ गर्न सरकार तयार रहेको बताए । उनले भने, ‘तालिवानसँग हुने वार्ताका विषय र अन्य मागबारे कुरा गर्न तयार छौं ।

उनले इद उल फित्रमा तालिवान, सरकारी फौज तथा अधिकारी एकै ठाउँमा उभिएको जनाउँदै सबै जना शान्तिको पक्षमा रहेको दाबी गरे । घानीले युद्धविरामको अवधिमा तालिवानी लडाकुलाई स्वास्थ्य र मानवीय सहायता उपलब्ध गराउन सकार तयार रहेको बताए । साथै, घानीले सरकारले केही तालिवान बन्दी रिहा गरेको जनाउँदै थुनामा रहेका तालिवानका आफन्तजन तथा परिवारका सदस्यसँग भेटघाट गर्न दिइने जनाए ।

राष्ट्रपति घानीले पाकिस्तानी तालिवानका कमान्डर मौलाना फजलुल्लाहको अमेरिकी ड्रोन हमलामा बिहीबार निधन भएको पनि पुष्टि गरे । घानीले दुवै पक्ष केही दिनअघिसम्म लडाइँमा भए पनि अप्रत्याशित घटनाक्रममले स्थायी शान्तिको आशा जगाएको जनाए । धेरै अफगान तालिवान नेता पाकिस्तानभित्रै बस्ने गरेकाले अफगानिस्तानमा शान्ति प्रक्रिया सुरु हुनुमा पाकिस्तानको महत्त्वपूर्ण भूमिका भएको बीबीसीले उल्लेख गरेको छ ।

तर आफ्नो देशमा हिंसात्मक आक्रमण गर्ने इस्लामवादी विद्रोहीलाई अफगानिस्तानले सहयोग गर्दै आएको आरोप पाकिस्तानको छ । पाकिस्तानले सर्वाधिक खोजीको सूचीमा राखेको मुलाह फजलुल्लाह मारिएका विवरणले इस्लामावादका केही सुरक्षा चासो सम्बोधन हुनसक्ने ठानिन्छ । सरकारले बुधबारसम्मका लागि युद्धविराम घोषणा गरेको केही दिनपछि तालिबानले ३ दिने युद्धविराम घोषणा गरेका थिए । सन् २००१ मा अमेरिकी नेतृत्वको आक्रमणपछि उनको नेतृत्वको सरकार अपदस्थ भएपछि तालिवानले पहिलोपटक युद्धविराम गरेको हो ।

स्थानीयहरू विगतका वर्षहरूमा भन्दा आफूहरूले शान्तिपूर्ण रूपमा इद मनाएको बताए । जाबुलका एक विद्यार्थीले भने, ‘यो इद सबैभन्दा शान्तिपूर्ण भयो । हामीले पहिलोपटक सुरक्षित महसुस गर्‍यौं । यो खुसी शब्दमा व्यक्त गर्न पनि निकै गाह्रो छ ।’ युद्धविरामका समय तालिबान र सरकारी फौजले मस्जिदमा संयुक्त रूपमा प्रार्थना समेत गरेका थिए ।

प्रकाशित : असार ४, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?