१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कोलम्बियाको राष्ट्रपतिमा डुके

अनुदारवादी नेता राष्ट्रपति चुनिएपछि शान्ति सम्झौताको भविष्यबारे आशंका पैदा भएका छन् 
बीबीसी

बोगाटा — कोलम्बियाको राष्ट्रपतिमा अनुदारवादी नेता इभान डुके निर्वाचित भएका छन् । निर्वाचन अधिकारीहरूका अनुसार उनी ५४ प्रतिशत मतसहित राष्ट्रपतिमा चुनिएका हुन् । डुकेका प्रतिद्वन्द्वी तथा शान्ति सम्झौताको समर्थन गरेका पूर्ववामपन्थी छापामार गुस्ताभो पेट्रोले ४१ दशमलब ८ प्रतिशत मत प्राप्त गरेका छन् ।

कोलम्बियाको राष्ट्रपतिमा डुके

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै आयोजित विजयी र्‍यालीमा डुकेले देशलाई एक बनाएर लैजाने बताएका छन् । तर चुनावी सभाहरूमा उनले फार्क विद्रोहीसँग सन् २०१६ मा भएको शान्ति सम्झौता परिमार्जन गर्नुपर्ने बताएका थिए ।

डुकेले फार्क विद्रोहीलाई संसदमा निश्चित सिट दिने तथा आगामी चुनावमा प्रतिस्पर्धा गर्न दिने सम्झौताबारे पुन: अध्ययन गर्नुपर्ने बताउँदै आएका छन् । उनलाई पूर्वराष्ट्रपति अलभारो उरिभेको समर्थन रहेको छ ।

कर कटौती, लगानी वृद्धिलगायत नीति लिएका कारण डुके व्यापारिक समुदायमा पनि लोकप्रिय थिए । तर पेट्रोले समाजमा समानता कायम गर्ने र स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा सर्वसाधारणको पहुँच पुर्‍याउने प्रतिबद्धता जनाएका थिए । सामाजिक सञ्जाल टीटरमा पेट्रोले आफ्नो पराजय स्वीकार गरे पनि अन्य केही प्रतिक्रिया जनाएका छैनन् ।

डुकेले ५ दशक लामो गृहयुद्धका क्रमममा भएका अपराधीलाई दिइने सजायसमेत कडा पार्ने जनाएका छन् । चुनावी अभियानमा डुकेले ‘आफू न्यायको पक्षमा रहेको’ बताएका थिए । उनको प्रतिक्रियासँगै फार्क विद्रोही र कोलम्बिया सरकारबीच भएको ऐतिहासिक तर विवादास्पद शान्ति सम्झौताको भविष्यबारे अन्योलता बढेको छ ।

अधिकांश कोलम्बियालीले शान्ति सम्झौता विद्रोहीप्रति बढी नै नरम भएको जनाउने गरेका छन् । तर शान्ति सम्झौताका धेरैजसो बुँदा कोलम्बियाको संविधानमा लेखिएकाले डुकेलाई सम्झौता परिवर्तन गर्न भने निकै कठिन छ ।

प्रकाशित : असार ५, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?