‘अमेरिका आप्रवासी शिविर बन्दैन’

बीबीसी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई ‘आप्रवासीहरूको शिविर’ बन्न नदिने बताएका छन् । 
राष्ट्रपतिमा निर्वाचित भएदेखि नै आप्रवासीबारे ट्रम्पले कडा नीति अख्तियार गर्दै आएका छन् ।

‘अमेरिका आप्रवासी शिविर बन्दैन’

पछिल्लो समय आप्रवासी नीतिका कारण ६ सातामा अमेरिकी अधिकारीले करिब २ हजार बालबालिकालाई आफ्ना बाबुआमासँग अलग गरेको समाचार सार्वजनिक भएपछि ट्रम्पले कडा प्रतिक्रिया दिएका हुन् ।


‘अमेरिका आप्रवासीका लागि शिविर बन्ने छैन र यो शरणार्थी राख्ने स्थान पनि होइन,’ मंगलबार ह्वाइटहाउसमा ट्रम्पले भने, ‘हेर्नुस् युरोपमा के भइरहेको छ, अन्य स्थानमा पनि के भइरहेको छ, हामी अमेरिकामा त्यसो हुन कदापि दिँदैनौँ।’


यसअघि ट्रम्पले युरोपेली देशको आप्रवासन नीतिको कडा आलोचना गरेका थिए । उनले लाखौं आप्रवासीहरूलाई बसोबास अनुमति दिएर युरोपेली देशले ठूलो गल्ती गर्दै आइरहेको बताएका थिए ।

ट्रम्पले जर्मन चान्सर एन्जेला मर्केलले आप्रवासीसम्बन्धी नरम नीति लिएको भन्दै नामै तोकेरै आलोचना गरे । आप्रवासीसम्बन्धी मुद्दाका कारण जर्मनहरू आफ्नो नीति तथा नेताको विरोधमा उभिएको ट्रम्पको आरोप छ । हालैका दिनमा मर्केल तथा उनका आन्तरिक मामिलामन्त्रीबीच आप्रवासी मुद्दाबारे मतभेदमा उत्पन्न भएको छ ।


शरणका लागि अन्यत्र दर्ता भइसकेका आप्रवासीलाई अनुमति दिन नहुने पक्षमा रहेका आन्तरिक मामिला मन्त्रीले दुई साताभित्र आप्रवासनसम्बन्धी युरोपेली संघसम्बद्ध राष्ट्रबीच हुने सम्झौता सुनिश्चित गर्न मर्केललाई समयसीमा दिएका छन् । मर्केलले त्यसो नगरे संवैधानिक व्यवस्था कायम राख्न आफूले जर्मनीको सीमामा कडाइ गर्ने चेतावनी उनले दिएका छन् ।


गतसाता आफ्ना आमाबुबाबाट अलग गरिएका बालबालिकालाई टेक्सासस्थित तारबार लगाइएको केन्द्रमा राखिएका तस्बिरहरू सञ्चारमाध्यममा सार्वजनिक भएका थिए । राष्ट्रसंघीय मानवअधिकार निकाय प्रमुखले अमेरिकी प्रशासनको कदम स्वीकार गर्न नसकिने’ भन्दै भर्त्सना गरेका छन् ।


तीव्र आलोचनाबीच ट्रम्प प्रशासनले मेक्सिकोबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने आमाबुवाबाट सन्तानबाट अलग राख्ने नीतिको बचाउ गरेको छ । ह्वाइटहाउसमा आन्तरिक सुरक्षामन्त्री क्रिस्चन नेल्सनले अमेरिका समवेदना र मुटु भएको देश भएको दाबी गरिन् । उनले ट्रम्प र कंग्रेसबीच जारी विवादमा आप्रवासी बच्चालाई प्रयोग गरिएको भन्ने आरोपको खण्डन गरिन् ।


यसअघि, अमेरिकाका भूतपूर्व प्रथम महिला लाउरा बुसले मेक्सिकोको सीमाक्षेत्रबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्नेको परिवारलाई टुक्रयाउने विवादास्पद नीतिको निन्दा गरेकी थिइन् । उनले छोराछोरीलाई बाबुआमाबाट अलग गर्ने कार्य निर्दयी, अनैतिक र हृदयविदारक भएको बताएकी थिइन् । त्यसैगरी, अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले पनि सरकारको नीतिबारे चिन्ता व्यक्त गरेकी थिइन् । श्रीमती ट्रम्पले समस्या समाधानका लागि संसद्का दुवै पक्ष बसेर आप्रवासन नीति तथा मुद्दाबारे छलफल गर्नुपर्ने बताइन् ।

प्रकाशित : असार ६, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?