किम तेस्रोपटक बेइजिङमा 

रोयटर्स

बेइजिङ/सोल — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर बैठकको एक सातापछि उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीन पुगेका छन् ।

किम तेस्रोपटक बेइजिङमा 

तीन महिनामा तेस्रो पटक बेइजिङ पुगेका किमले सिंगापुरमा बैठकबारे चिनियाँ राष्ट्रपति सी चिनफिङलाई जानकारी गराउने अपेक्षा गरिएको छ ।


अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीच गत जुन १२ मा सिंगापुर शिखर बैठक भएको थियो । बैठकमा दुई नेताबीच कोरियाली प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने सहमति भएको थियो । बैठकमा ट्रम्पले उत्तर कोरियाको सुरक्षाको प्रतिबद्धतासमेत जनाएका थिए ।


समाचार संस्था रोयटर्सले किम दुईदिने भ्रमणका क्रममा चीन पुगेको उल्लेख गरेको छ । उत्तर कोरियाको आर्थिक तथा कूटनीतिक सहयोगी चीनले सिंगापुर बैठकलगत्तै प्योङयाङविरुद्धको नाकाबन्दी फुकुवा गर्न आग्रह गरेको थियो ।


उत्तर कोरियाली नेता किमको भ्रमणबारे चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरे पनि विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । यसअघि किमले गत अप्रिलमा चीनको भ्रमण गरेका थिए ।


यसैबीच, ट्रम्प र किमबीच सिंगापुर बैठकका दौरान भएको समहमतिअनुसार अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास स्थगित गरेका छन् । दुई देशबीच आगामी महिना संयुक्त सैन्य अभ्यास हुने जनाइएको थियो ।


उत्तर कोरिया तथा चीनले उक्त क्षेत्रमा नियमित रूपमा हुने गरेको सैन्य अभ्यासको अन्त्यका लागि लामो समयदेखि आवाज उठाउँदै आएका थिए । तर अमेरिकाका एसियाली सहयोगी दक्षिण कोरिया र जापानले भने सैन्य अभ्यास निकै महत्त्वपूर्ण हुने गरेको बताउने गरेका थिए ।


दक्षिण कोरियामा तैनाथ २९ हजार अमेरिकी सेनाले हरेक वर्ष ठूलो सैन्य अभ्यास गर्दै आएका थिए । १७ हजार ५ सय अमेरिकीसहित दुई देशका सेनाले आगामी महिना सैन्य अभ्यास गर्ने जनाएका थिए ।


वासिङटन तथा सोलस्थित अधिकारीले मंगलबार दुई देशको सैनिक अभ्यास स्थगित भएको जनाएका छन् । ‘दक्षिण कोरिया र अमेरिकाबीच आगामी महिनाका लागि तय भएको संयुक्त सैन्य अभ्यास स्थगित गरेसँगै अन्य विकल्पबारेसमेत छलफल गरिने भएको छ,’ दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


हाइटहाउसका प्रवक्ता सराह स्यान्डर्सले पत्रकारहरूसँग ‘हामीले सिंगापुरमा देखेजस्तो उत्तर कोरियाले विश्वास दिलाएको खण्डमा संयुक्त सैन्य अभ्यास सधैंका लागि अन्त्य हुने’ बताइन् ।

प्रकाशित : असार ६, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?