१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

जम्मु–कश्मीर सरकारबाट भाजपा अलग

मुख्यमन्त्रीले दिइन् राजीनामा 

नयाँदिल्ली — पछिल्लो समय जम्मु–कश्मीरमा बढ्दो हत्याहिंसा र त्यसबाट विकसित राजनीतिक अन्योलबीच भारतीय जनता पार्टी (भाजपा) प्रदेश सरकारबाट अलग हुने निर्णय गरेको छ । भाजपा महासचिव राम माधवले मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । 

जम्मु–कश्मीर सरकारबाट भाजपा अलग

राज्यमा शान्ति सुरक्षा कायम गर्न नसकेको, आतंकवादलाई नियन्त्रण गर्न नसकेको लगायतमा सरकार असफल भएको आरोप लगाउँदै समर्थन फिर्ता लिएको हो । साथै राष्ट्रपति शासनको मागसमेत गरेको छ ।


बीजेपीको उक्त निर्णयप्रति पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले आश्चर्य व्यक्त गरेको छ । र, लगत्तै पीडीपी प्रमुख तथा मुख्यमन्त्री मेहमुबा मुफ्तीले पदबाट राजीनामा दिएकी छन् । मुफ्तीको राजीनामासँगै जम्मु–कश्मीरमा थप अन्योल सिर्जना भएको छ ।


भाजपाको निर्णयलाई लिएर विभिन्न अड्लबाजी सुरु भएको छ । केही राजनीतिक विश्लेषकहरूले यसलाई भाजपाको आगामी वर्ष हुने लोकसभा चुनाव लक्षित प्रोपोगान्डासमेत भनेका छन् । प्रतिपक्षी कंग्रेस आईले गठबन्धन टुट्नु जनताका लागि सुखद भएको बताएको छ ।


पार्टीका महासचिव तथा पूर्वमुख्यमन्त्री गुलाबनबी आजादले भाजपाले पछिल्लो तीन वर्षमा कश्मीरलाई बर्बाद पारेर अहिले सरकार छाडेको आरोप लगाएका छन् । पीडीपी र भाजपाबीच पछिल्लो असमझदारी चर्किंदै गएको थियो ।


इदका बेला घोषणा गरिएको युद्धविरामलाई निरन्तरता नदिएकोमा पीडीपी केन्द्र सरकारसँग असन्तुष्ट बनेको थियो । वरिष्ठ पत्रकार सुजत बुखारीको हत्यापछि केन्द्र र राज्य दुवैको तीव्र आलोचना सुरु भएको थियो ।


यसैबीच, भारतीय कंग्रेसले हाल सरकारमा जाने कुनै सम्भावना नरहेको जनाएको छ । मुख्यमन्त्रीको राजीनामासँगै राज्यमा थप अस्थिरता बढ्न सक्ने आशंका गरिएको छ । जम्मु–कश्मीरमा सन् २०१५ मा भएको निर्वाचनमा पीडीपीले २८ तथा भाजपाले २५ स्थानमा जित हासिल गरेका थिए ।

जम्मु–कश्मीरमा राज्यसभामा कुल ८९ विधायक छन् ।

प्रकाशित : असार ६, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?