कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकारका लागि असुरक्षित बन्दै भारत

नयाँदिल्ली — जम्मु–कश्मीर राज्यको राजधानी श्रीनगरका वरिष्ठ पत्रकार सुजात बुखारीको हत्या प्रकरणसँगै पुन: एकपटक भारतमा प्रेस स्वतन्त्रता तथा पत्रकारको सुरक्षाका विषयमा चर्चा सुरु भएको छ । 

पत्रकारका लागि असुरक्षित बन्दै भारत

सामाजिक सञ्जालका भित्ताहरूमा उनीप्रति श्रद्धाञ्जलिका शब्दहरूसँगै पत्रकारको सुरक्षाबारे चिन्ताहरू प्रकट गरिनुका साथै सरकारको समेत व्यापक आलोचना भएको छ ।


श्रीनगरबाट प्रकाशित हुने राइजिङ कश्मीरका प्रधान सम्पादक बुखारीको पक्षमा देखिएको समर्थनलाई उनको निर्भीक र निष्पक्ष पत्रकारिताको कदरका रूपमा मात्र नभएर पछिल्ला वर्षमा भारतमा पत्रकारमाथि बढ्दो भौतिक आक्रमणको विरोधका रूपमा समेत हेरिएको छ ।


बुखारीमाथि बिहीबार साँझ श्रीनगरस्थित आफ्नो कार्यालयबाट इदको पूर्वसन्ध्यामा आयोजित इफ्तार पार्टीमा जाने क्रममा हमला गरिएको थियो । कश्मीर घाँटी विगतमा पनि पत्रकारका लागि असुरक्षित मानिँदै आएको छ ।


पत्रकारमाथिको क्रूर भौतिक हमलाको यो पछिल्लो घटना भए पनि विभिन्न अध्ययनले भारतमा केही वर्षयता पत्रकारमाथि भौतिक हमलाका घटना बढेको देखिएको छ । भारत पत्रकारका लागि असुरक्षित बन्दै गएको समेत विभिन्न अध्ययनहरूले देखाएका छन् । पत्रकारमाथि बढो शृखंलाबद्ध आक्रमणका कारण पछिल्ला २ वर्षमा भारत सबैभन्दा बढी पत्रकारको हत्या हुने मुलुकको सूचीमा पुगेको छ ।


भारतीय अंग्रेजी न्युज पोर्टल ‘द वायर’ ले कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) को रिपोर्टलाई आधार बनाउँदै सन् १९९२ देखि २०१८ को अवधिमा भारतमा ७७ भन्दा बढी सञ्चारकर्मीले ज्यान गुमाएको उल्लेख गरेको छ ।


यसैगरी, सन् २०१६ मा अन्तर्राष्ट्रिय पत्रकार महासंघले पनि पत्रकारका लागि भारत विश्वकै आठौं जोखिमपूर्ण मुलुकमा सूचीकृत गरेको थियो । द वायरले मिडियामा अध्ययन र अनुसन्धान गर्ने संस्था हुटलाई उद्धृत गर्दै २०१७ भारतीय पत्रकारका लागि सबैभन्दा हिंसात्मक वर्ष रहेको समेत उल्लेख गरेको छ ।


द वायरका अनुसार भारतमा २०१७ मा ११ पत्रकारको हत्या तथा ४६ माथि आक्रमण भएको थियो । भारतीय पत्रकारहरू विशेषगरी हिन्दु र मुस्लिम अतिवादीको निसानामा पर्न थाले थालेका छन् । बुखारीको घटनाले पनि त्यही इंगित गर्छ । सेप्टेम्बर २०१७ मा नै बैंग्लोरबाट प्रकाशित हुने साप्ताहिक ‘लंकेश पत्रिके’ की सम्पादक गौरी लंकेशको पनि हिन्दु अतिवादीले उनकै घरबाहिर हत्या गरेका थिए । उनको हत्यालाई लिएर भारतभर नै चर्को विरोध भएको थियो ।


लंकेशको हत्याविरुद्धको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । यसअघि सन् २००३ मा बुखारी मारिएकै स्थानमा स्थानीय पत्रकार परवेज मोहम्मद सुल्तानको पनि गोली हानी हत्या गरिएको थियो । त्यसको एक वर्षपछि पूर्वपत्रकार तथा अधिकारकर्मी आसिया जलानीको बारुदी सुरुङमा परी कुपवारामा मृत्यु भएको थियो । सन् २००० मा हिन्दुस्तान टाइम्सका फोटोग्राफर प्रदीप भाटियाले श्रीनगरमै भएको बम विस्फोट ज्यान गुमाएका थिए ।


दशकौंदेखि हिंसाको चपेटामा रहँदै आएको कश्मीर घाँटीमा बसेर निर्भीक पत्रकारिता गर्दै आएका थिए बुखारी । उनी कतिसम्म साहस र निर्भीक थिए भन्ने अन लाइन न्युज पोर्टल द प्रिन्टमा प्रकाशित जम्मुका वरिष्ठ पत्रकार मनु श्रीवास्तवको लेखमा वर्णित एउटा घटनाबाट समेत पुष्टि हुन्छ ।


सन् २००३ मा पाकिस्तान गएका बेला प्रधानमन्त्री नियुक्त हुनै लागेका नवाज सरिफ र पत्रकारबीच एउटा भेटघाट भएको थियो । भेटमा बुखारीले सरिफसामु एउटा कडा प्रश्न सोधे, ‘पाकिस्तानले हतियार उठाउन प्रेरित गरिरहेको कश्मीरका युवाहरूबारे के भन्नुहुुन्छ ? के उनीहरूलाई पनि सिध्याउने पाकिस्तानको योजना हो ?’ सरिफ बुखारीको प्रश्नले नाजवाफ बनेको श्रीवास्तवले लेखेका छन् । जम्मु कश्मीर विवाद हतियारबाट नभई राजनीतिक संवादबाट मात्र समाधान हुनेमा बुखारीको अडान थियो ।


उनको अडानलाई कश्मीर घाटीका हिंसापक्षधरले रुचाउने गरेका थिएनन् । यही निर्भीक अडानकै कारण २००६ मा उनी बन्दुकधारीको अपहरणमा परेका थिए । अपहरणबाट मुस्किलले फुत्कन सफल भएयता बुखारीलाई प्रदेश सरकारले व्यक्तिगत सुरक्षा उपलब्ध गराउँदै आएको थियो । राइजिङ कश्मीरको प्रधानसम्पादक बन्नुअघि उनी भारतीय अंग्रेजी दैनिक ‘द हिन्दु’ मा जम्मु तथा कश्मीरका लागि करिब डेढ दशक ब्युरो प्रमुख भएका थिए ।


उनी लामो समयसम्म फ्रन्टलाइन म्यागाजिनका स्तम्भकारसमेत थिए । उनी पत्रकार मात्र नभई एक सफल साहित्यिक र सांस्कृतिक अभियन्तासमेत थिए ।


द एडिटर्स गिल्ड अफ इन्डियाले घटनाको निन्दा गर्दै विशाल हृदय भएका साहसिक पत्रकार बुखारीको हत्याले पत्रकारका लागि कश्मीरमा मात्र नभएर पूरै भारत असुरक्षित बन्दै गएको जनाएको छ ।

गिल्डद्वारा जारी विज्ञप्तिमा घटनालाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक आवाजमाथि क्रूर हमला जनाइएको छ ।


त्यसैगरी प्रेस क्लब अफ इन्डियाले कश्मीर घाँटीमा शान्तिबहाल भएको देख्न नचाहनेहरूले तर्क, विवेकशील र शान्तिको आवाजलाई बन्द गर्ने प्रयास गरेको जनाएको छ । भारतीय अंग्रेजी दैनिक द इन्डियन एक्सप्रेसले आफ्नो सम्पादकीयमा बुखारीमाथिको आक्रमणलाई ‘वाक् स्वतन्त्रता र प्रजातन्त्रमाथिको आक्रमण’ भनेको छ । पत्रकार सीमा चिस्तीले बुखारीलाई क्षमतावान्, साहसी तर सरल व्यक्तिका रूपमा उल्लेख गरेकी छन् ।


शुक्रबार प्रकाशित भारतीय अंग्रेजी दैनिक द इन्डियन एक्सप्रेसमा आफूले बुखारीलाई समाचारका भोका, निष्पक्ष र लगनशील पत्रकारका रूपमा चिनेको बताएकी छन् । बुखारीको हत्याले कश्मीरमा शान्ति बहालीको प्रयासमा पनि ठूलो धक्का लागेको बताइएको छ । किनकि बुखारी जम्मु कश्मीरको शान्ति प्रक्रियाका लागि ‘ट्रयाक टु’ रणनीतिका पक्षपाती थिए ।

प्रकाशित : असार ६, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?