कतारलाई नाकाबन्दी लगाएका छैनौं : यूएई

कतारले केही उग्रवादी तत्त्वसँग हिमचिम बढाएपछि यूएई सचेत भए पनि जनातालाई दु:ख दिने अभिप्राय होइन – सइद हम्दान अल नक्वी, राजदूत

काठमाडौँ — नेपालस्थित कतारी दूतावासले आफ्नो देशले नाकाबन्दी बेहोरेको एक वर्ष पुग्दासमेत त्यसमा सुधार नभएको धारणा सार्वजनिक गरेको दुई सातापछि युनाइटेड अरब इमिरेट्स (यूएई) को काठमाडौंस्थित दूतावासले कतारमाथि नाकाबन्दी नगरेको दाबी गरेको छ ।

कतारलाई नाकाबन्दी लगाएका छैनौं : यूएई

‘हामीले हाम्रो सीमा सुरक्षा गरेका हौं । कतारलाई नाकाबन्दी गरेका छैनौं,’ यूएईका राजदूत सइद हम्दान अल नक्बीले बिहीबार दूतावासमा केही सञ्चारकर्मीसँग भने, ‘कुनै नागरिकलाई दु:ख दिने नभई केही नीतिगत विषयमा आफ्नो धारणा राखेका हौं । यो विषय कतारले बुझेको होला ।’
कतारले केही उग्रवादी तत्त्वसँग हिमचिम बढाएपछि यूएई सचेत बनेको उनको भनाइ छ । कतारी नागरिकलाई दु:ख दिने अभिप्राय यूएईको नभएको जनाउँदै उनले भने, ‘हामी अरब मुलुकका सबै दाजुभाइजस्ता हौं । दाजुभाइ मिलेर बस्नुपर्छ । तर कसैका विरुद्ध नचाहिँदो समूहलाई प्रोत्साहन कसैले गर्नुहुँदैन ।’


यूएईले सबै प्रेसलाई उत्तिकै सम्मान गर्ने भन्दै राजदूतले अलजजिरा टेलिभिजनका कतिपय काम भने प्रेसका गतिविधिभन्दा फरक रहेको बताए ।


कतारले गत जुन ५ मा आफूलाई साउदीलगायत मुलुकले नाकाबन्दी लगाउँदा ठूलो पाठ सिकेको बताउँदै अब यस्ता गतिविधिले कुनै असर नगर्ने सार्वजनिक गरेको थियो । एक वर्षदेखिको नाकाबन्दी थेगेको, यसले कुनै समस्या नपारेको बरु उद्योग स्थापना र उत्पादन बढाउने कार्य गर्दै थप आत्मनिर्भर बनेको कतारको दाबी थियो । आफ्नो विकासप्रति छिमेकीले डाहा गरेको, मानवीयतासमेत नदेखाएको आरोप कतारले लगाएको थियो ।


कतारले केही आतंककारी र उग्रवादी समूहलाई सघाइरहेको आरोप पनि उनले लगाए ।


कतारले यसअघि आफ्ना जनताले नातेदार भेट्न नपाएको र सम्पत्ति संरक्षणसमेत नभएको धारणा सार्वजनिक गरेको थियो । यो विषय राष्ट्रसंघमा समेत उठेकाले साउदीसहित यूएई, बहराइन र इजिप्टले त्यसमा पुनर्विचार गर्नुपर्ने धारणा उसले सार्वजनिक गरेको थियो । यसबारे आफू टेबलमा बस्न तयार रहेको जनाउ दिँदै कतारले त्यसका लागि अन्य मुलुक भने तयार नभएको आरोप लगाएको छ ।


‘हामीले जनतालाई होइन, सरकारका केही नीतिगत विषयमा आफ्नो चासो व्यक्त गरेका हौं । हाम्रो क्षेत्रको शान्तिका लागि यो काम गरिएको हो,’ राजदूत नक्वीले भने, ‘कतार पनि हाम्रो ब्रदरहुड भएकाले यसलाई बेवास्ता गरेर अघि बढ्दैनौं तर कतारले पनि यो महसुस गर्न जरुरी छ ।’ खाडी संकटका विषयमा नेपाल भने तटस्थ रहँदै आएको छ । कतार, यूएई, साउदी, बहराइन सबैमा नेपाली कार्यरत छन् भने इजिप्टसँग नेपालको पुरानो सम्बन्ध छ । समस्या नलम्ब्याई वार्तामा बसेर समाधान गर्न नेपालले यसअघि नै सुझाइसकेको छ । कतार संकटपछि संकटको अर्काे विषय बनेको छ( यमन । किनकि, यमनले कतारलाई साथ दिएको छ । यमनको क्षेत्र हुँदै दाहा पोर्टमा सन् २०१५ मा भएको हमला र यमनी विद्रोहीको पकडले त्यस क्षेत्रका नागरिकमा उत्पन्न संकट सम्बोधन गर्न त्यहाँ खाडी मुलुकले मानवीय सहयोग गर्दै आएको दाबी राजूदतले गरे ।


अरब कोलिसनले त्यहाँ मानवीय सहयोग र समस्या समाधानको पहल गरिरहेको नक्वीले सुनाए । यमनमा राजनीतिक निकास आवश्यक रहेको औंल्याउँदै उनले त्यहाँका नागरिकका समस्या सम्बोधन गर्न खाडी कोलिसनले नजिकबाट नियालिरहेको बताए । दाहा पोर्टलाई आतंककारीले हतियार ओसारपसारमा प्रयोग हुने गरेको धारणासमेत खाडी कोलिसनको छ । त्यसमा हस्तक्षेप गर्दै त्यहाँका नागरिकलाई मानवीय सहायता गरिरहेको दाबी खाडी कोलिसनको छ ।


प्रतिनिधि आउँदै
स्थायी सरकार बनेको र विकासको बाटोमा अघि बढेको भन्दै यूएईले नेपालमा लगानी गर्न यूएई सरकारको प्रतिनिधि भ्रमणमा आउन लागेको जानकारी राजदूतले दिए । यूएईको वाणिज्य मन्त्रालयका अधिकारी नेतृत्वको सरकारी टोलीमा निजी क्षेत्रका लगानीकर्तासमेत रहने उनले बताए । टोली शनिबार काठमाडौं आइपुग्दै छ । उक्त टोलीले वाणिज्य मन्त्रालयमा अधिकारीहरूसँग छलफल गर्नेछ । राष्ट्रपति भ्रमणका क्रममा भएका सहकार्य र लगानीका विषयमा छलफल केन्द्रित हुने दूतावासले जनाएको छ ।

प्रकाशित : असार ८, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?