साउदी महिलाले सवारी चलाउने

एएफपी

रियाद — साउदी अरबका महिलाले आफैं सवारीसाधन चलाउन पाउने भएका छन् । उनीहरूलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको अधिकारीहरूलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी महिलाले सवारी चलाउने

समाचार संस्था एएफपीले लामो समयको प्रतीक्षापछि साउदी अरबका राजा सलमानले पहिलो पटक महिलाले गाडी चलाउन पाउने आदेश जारी गरेका हुन् । सलमानले महिलाले पनि सवारीसाधन आफैं हाँक्न पाउने नियम यही जुन २४ देखि लागू हुने उल्लेख गरेका छन् ।

सवारी चलाउने अनुमतिपत्र प्रदान गर्ने निर्णयले साउदी महिलामा खुसी छाएको एएफपीले जनाएको छ । ‘म सानैदेखि विद्रोही स्वाभावकी हुँ । तर अन्य केहीले पनि मेरो देखासिकी गर्दै आएका थिए,’ आइतबारदेखि साउदी अरबका सडकमा सवारी चलाउने तयारीमा रहेकी २९ वर्षीय डोआ बासेमले भनिन्, ‘तर बल्ल समाजले हामीलाई पनि अधिकार प्रदान गर्नुपर्छ भन्ने स्वीकार गर्न थालेका छन् ।’

साउदी प्रेस एजेन्सीका अनुसार यातायात मन्त्रालयले त्यससम्बन्धी अध्ययन गरी राजालाई प्रतिवेदन पेस गरेपछि उनले आदेश जारी गरेका हुन् । साउदी अरबमा महिलालाई पनि गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै महिला तथा अधिकारवादी संस्थाले लामो समयदेखि अभियान चलाउँदै आएका थिए ।

साउदी अरबको विद्यमान कानुनअनुसार हालसम्म पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए । राजाको आदेशअनुसार कानुनको संशोधन गरेपछि महिलाले सवारी चालक अनुमतिपत्र पाउने भएका हुन् । यसअघि केही महिलाले लुकीछिपी गाडी चलाउने गरेको भए पनि सरकारी नीतिको अवज्ञा गरेको आरोपमा महिलामाथि कडा जरिवाना गर्ने गरिन्थ्यो ।

केही महिलाले सवारी चलाउने तालिमसँगै अनुमतिपत्रसमेत प्राप्त गरिसकेको एएफपीले जनाएको छ । अधिकारीहरूले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी महिलाले सवारी चलाउने कार्यको सुरुवात गरिने जनाएका छन् । अमेरिकालगायतका देशले महिलालाई गाडी चलाउने अनुमति दिने साउदी राजाको आदेशको स्वागत गरेका छन् । उनीहरूले साउदी सरकारको यस कदमलाई मानवअधिकारको पक्षमा एउटा महत्त्वपूर्ण कदम भएको जनाएका छन् । समाज सुधारलगायत महिलालाई विभिन्न अधिकार प्रदान गर्न माग गर्दै विभिन्न विरोध गरेपछि ८ जनालाई साउदी सरकारले पक्राउ गरेको थियो । पक्राउ परेका मानवअधिकारवादीलाई राजद्रोह तथा जासुसी गरेको आरोपमा मुद्दा चलाइएको छ ।

अमेरिकी सञ्चारमाध्यममा केही समयअघि दिएको अन्तर्वार्तामा साउदी राजकुमार मोहम्मद बिन सलमानले साउदी महिला र पुरुषहरू समान रहेको बताएका थिए । साउदी अरबका राजकुमारले आफ्नो देशमा सामाजिक सुधारका महत्त्वपूर्ण कार्य गर्ने घोषणा गरेपछि महिला अधिकारका क्षेत्रमा केही परिवर्तन भएको जनाइएको छ । उनको घोषणासँगै महिलाका लागि बन्देज लगाइएका विभिन्न स्थानमा अनुमति प्रदान गरिँदै आएको छ । तर साउदी अरबमा हालसम्म पनि महिलालाई भ्रमण गर्न, सार्वजनिक स्थानमा पुरुषबिना जान, राहदानी बनाउन, विदेश यात्रा गर्नलगायत कार्यका लागि रोक लगाइएको छ ।

सलमानले केही समयअघि साउदी महिलालाई सिनेमा घरमा चलचित्र हेर्न तथा रंगशालामा फुटबल हेर्न पाउने निर्णय गरेका थिए ।

प्रकाशित : असार ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?