‘उत्तर कोरियाबाट अझै खतरा’

एएफपी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाबाट अझै पनि ‘असामान्य खतरा’ रहेको उल्लेख गर्दै प्रतिबन्ध नवीकरण गरेका छन् । ट्रम्पले यसअघि उत्तर कोरियाबाट कुनै पनि खतरा नरहेको दाबी गरेका थिए ।

‘उत्तर कोरियाबाट अझै खतरा’

राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच गत जुन १२ मा सिंगापुरमा भएको शिखर बैठकको भोलिपल्ट ट्रम्पले उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध निकै राम्रो भएको दाबीसमेत गरेका थिए ।

शिखर बैठकपछि ट्रम्पले भनेका थिए, ‘उत्तर कोरियाबाट अब कुनै पनि खतरा छैन ।×’ ट्रम्पले उत्तर कोरिया र अमेरिका तथा सहयोगीबीचको युद्धको खेलको अन्त्यका लागि आफू प्रतिबद्ध रहेको जनाएका थिए । अमेरिकाले सन् २००८ मा प्योङयाङविरुद्ध लगाएको नाकाबन्दीलाई निरन्तरता दिँदै आएको छ । राष्ट्रपति ट्रम्पले ‘उत्तर कोरियाका कारण अमेरिकाको राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रमाथि खतरा रहेको’ उल्लेख गर्दै नाकाबन्दीलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

डेमोक्रयाटहरूले ह्वाइहाउसको भाषा राष्ट्रपतिको सिंगापुर बैठकको अभिव्यक्तिसँग बाझिएको बताएका छन् । डेमोक्रयाट सिनेटर चक सुमरले भने, ‘राष्ट्रपतिको दुई साताअघिको अभिव्यक्तिलाई उनकै प्रशासनले खारेज गरेको छ ।’ उत्तर कोरियाली सञ्चारमाध्यमले भने अमेरिकी राष्ट्रपति ट्रम्प ‘नाकाबन्दी हटाउन’ सहमत भएको जनाएका छन् । यसअघि शुक्रबार ट्रम्पले उत्तर कोरियाले नि:शस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताएका थिए ।

ट्रम्प र किमबीच भएको ऐतिहासिक वार्ताका ४ बुँदै सम्झौता कार्यान्वयनमा कुनै प्रगति नभएको भन्दै ट्रम्पको आलोचना भएपछि उनले परमाणु नि:शस्त्रीकरणको काम सुरु भइसकेको दाबी गरेका थिए । शुक्रबार मन्त्रिपरिषद् बैठकमा बोल्दै उनले शिखर बैठकका सम्झौता पूर्णरूपमा कार्यान्वयन हुने दाबी गरेका थिए ।

प्रकाशित : असार १०, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?