कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

साउदी महिलाले गुडाए गाडी

बीबीसी

रियाद — साउदी अरबले महिलालाई पहिलोपटक सवारी साधन चलाउने अनुमति दिएको छ । उक्त अनुमतिसँगै साउदी महिलालाई सवारी चलाउन दिने विश्वको पछिल्लो देश बनेको छ ।

साउदी महिलाले गुडाए गाडी

स्थानीय समयअनुसार मध्यरात शाही घोषणामार्फत् उक्त अनुमति प्रदान गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । धार्मिक रूपमा निकै कट्टर साउदी अरबमा सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणाले महत्त्वपूर्ण सुधारको सुरुवात गरेको जनाइएको छ ।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पछिल्ला वर्षहरूमा साउदी अरबमा समाज सुधारका कार्यहरू गर्दै आएका छन् । उनको पछिल्लो कदमलाई देशलाई आधुनिकीकरणतर्फ अग्रसर गराउने महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । गत सेप्टेम्बरमा महिलालाई सवारी चलाउन अनुमति दिइने घोषणा गरिए पनि आइतबारदेखि कार्यान्वयनमा आएको हो ।

साउदी अरेबियाले एक साताअघि नै पहिलोपटक महिलाको नाममा सवारी चालक अनुमतिपत्र जारी गरेको थियो । सवारी चालक अनुमतिपत्र पाएपछि जेद्दाहस्थित महिला चालक रोआ अल्टावलीले ‘पहिलोपटक आफ्नो काममा जान गाडी चलाएको’ बताइन् ।

उनले भनिन्, ‘सधैंभन्दा आज म छिट्टै उठें । म निकै उत्साहित थिएँ र म पहिलोपटक आफैंले गाडी चलाएर काममा आएँ ।’ उनले आफूले विभिन्न स्थानमा प्रहरी देखे पनि आफूसँग सवारी चालक अनुमतिपत्र भएकाले कुनै डर नलागेको जनाइन् । तर उनले यसअघि पढाइ तथा कामका सिलसिलामा दुबई, पोर्चुगल र अमेरिकामा हुँदा गाडी चलाएको बताइन् ।

यसअघि साउदी अरबमा परिवारले महिला नातेदारका लागि निजी गाडी भाडामा लिने चलन रहेको थियो । नयाँ नियम लागू भएसँगै साउदी अरबमा ३० लाख महिला लाभान्वित हुने अपेक्षा गरिएको छ ।

बीबीसीका अनुसार नयाँ अधिकारको पक्षमा वकालत गर्ने धेरै महिला अधिकारकर्मीलाई अघिल्लो महिना थुनामा राखिएकाले सवारी साधन चलाउन पाउने अधिकारको कार्यान्वयन सुरुमै छायामा परे जस्तो देखिन्छ ।

अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले ८ जना अधिकारकर्मीहरू थुनामा रहेको जनाएको छ । एमनेस्टीका अनुसार उनीहरूलाई प्रतिआतंकवाद तथा देशद्रोहको मुद्दा लगाइने तयारी भइरहेको छ ।

एमनेस्टीले साउदी अरबमा हालसम्म पनि पुरुष अभिभावकत्वको प्रथा कायमै रहेको जनाएको छ । उसले साउदी अरबलाई अन्य क्षेत्रमा पनि सुधारका लागि कदमहरू चाल्न आग्रह समेत गरेको छ ।

महिलालाई सवारी चलाउनुपर्ने अधिकार दिइनुपर्ने मागसहित अधिकारवादी समूहले करिब एक दशकयता अभियान चलाएका थिए । सन् १९९० मा सवारी चलाएको अभियोगमा राजधानी रियादबाट कयौं महिला पक्राउ परेका थिए । सन् २००८ देखि २०१४ बीचमा केही महिलाले आफूले सवारी चलाएका भिडियो सार्वजनिक गरेका थिए । तर पछिल्लो निर्णयसँगै हजारौं महिलाले साउदीका सडकमा सवारी साधन हाँक्ने अनुमान गरिएको छ ।

स्थानीय एक टेलिभिजन प्रस्तोता सबिका अल दोसारीले समाचार संस्था एपीसँग कुराकानी गर्दै प्रत्येक साउदी महिलाका लागि ऐतिहासिक दिन भएको जनाइन् । उनले सवारी चलाउन प्रतिबन्ध खुलेको केही मिनेटभित्रै आफूले पनि गाडी चलाएको बताइन् ।

गत जुन ५ मा १० महिलालाई पहिलोपटक साउदी अरबले सवारी चालक अनुमतिपत्र जारी गरेको थियो । प्रतिबन्ध खुल्ला हुँदासम्म अनुमतिपत्र पाइसकेका महिलाको संख्या करिब २ हजार पुगिसकेको अधिकारीले जनाए । साउदी अरबका महिलाले अझै पनि सम्बन्ध विच्छेद गर्न, राहदानी बनाउन, विदेश यात्रा गर्न लगायतका कार्य गर्नका लागि पुरुष अभिभावकको सहमति आवश्यक पर्छ ।

प्रकाशित : असार ११, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?