‘चीन शान्तिका लागि प्रतिबद्ध’

आफ्नो भू–भागको रक्षा गर्न जुनसुकै कदम चाल्न तयार रहेको सीको भनाइ
बीबीसी

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘चीनले आफ्नो भूभाग एक इन्च पनि नछाड्ने’ चेतावनी दिएका छन् । चीन भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्री जेम्स म्याटिससँगको भेटमा सीले तर ‘शान्तिका लागि प्रतिबद्ध रहेको’ जनाएका छन् । 

‘चीन शान्तिका लागि प्रतिबद्ध’

चीन र अमेरिकाबीच हालैका दिनमा साउथ चाइना सीका कारण तनाव बढेको छ । गत महिना उक्त क्षेत्रमा बम वर्षक विमान अवतरण गरेपछि अमेरिका सार्वजनिक रूपमा चीनको आलोचनामा उत्रेको थियो ।

म्याटिस एसियाली सहयोगी राष्ट्रको भ्रमणका क्रममा बुधबार चीन पुगेका हुन् । उनी सन् २०१४ यता चीन भ्रमण गर्ने पहिलो अमेरिकी रक्षामन्त्री हुन् । उनले दक्षिणपूर्वी एसियाका विभिन्न राष्ट्रको भ्रमण गर्ने बीबीसीले जनाएको छ ।

रक्षामन्त्री म्याटिसले चिनियाँ राष्ट्रपति सी तथा अन्य उच्च पदस्थ अधिकारीसँग आफ्नो ‘निकै राम्रो’ भेटवार्ता भएको जनाएका छन् । साथै उनले ‘अमेरिकाले चीनसँग उच्च तहको सैनिक सम्बन्धलाई महत्त्व’ दिएको दाबी गरे ।

भेटका क्रममा सीले ‘चीनको शान्ति कायम राख्ने अभिप्राय रहेको तर चिनियाँ जमिनको रक्षा गर्नका लागि कुनै कसर बाँकी नराख्ने’ बताए । ‘चीनले आफ्ना पुर्खाले दिएको एक इन्च भूभाग गुमाउन चाहन्न,’ चिनियाँ सञ्चारमाध्यममा प्रकाशित सीको भनाइलाई बीबीसीले उल्लेख गरेको छ, ‘हामीलाई अन्य देशको पनि कुनै भू–भाग चाहिन्न ।’ अमेरिकाले बारम्बार साउथ चाइना सीमा चीनले अतिक्रम तथा सैनिकीकरण गरेको आरोप लगाउँदै आएको छ । उक्त विवादित क्षेत्रमाथि विभिन्न देशले आफ्नो दाबी गर्दै आएका छन् । साउथ चाइन सी क्षेत्रमा पानीजहाजको मुख्य व्यापारिक मार्ग पर्छ ।

अमेरिकी रक्षामन्त्री म्याटिस गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच भएको शिखर बैठकपछि पहिलो पटक एसिया भ्रमणमा निस्केका हुन् । भ्रमणका क्रममा बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुगेका म्याटिसले कोरियाली समकक्षी सङ योङ–मुसँग पनि भेटवार्ता गरेका छन् ।

म्याटिसले सङलाई ‘कोरियाली द्वीपको शान्तिका लागि अमेरिका प्रतिबद्ध रहेको आश्वस्त पारेका’ थिए । उनले कोरियाली प्रायद्वीपमा हुँदै आएको संयुक्त सैनिक अभ्यास रद्द गरेर ‘कूटनीतिक वार्ताको वातावरण बनाएको’ दाबी गरे ।

यसअघि गत जुन १२ मा सिंगापुरमा भएको वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच कोरियाली प्रयाद्वीपलाई परमाणु नि:शस्त्रीकरण गर्ने सहमति भएको थियो । यद्यपि, ट्रम्प र किमबीचको शिखर वार्तामा परमाणु नि:शस्त्रीकरण कसरी गर्ने भन्नेबारे विस्तृत विवरण भने उल्लेख छैन ।

उत्तर कोरिया तथा चीनले कोरियाली प्रायद्वीपमा नियमित रूपमा हुने गरेको सैन्य अभ्यासको अन्त्यका लागि लामो समयदेखि आवाज उठाउँदै आएका थिए । तर अमेरिकाका एसियाली सहयोगी दक्षिण कोरिया र जापानले भने सैन्य अभ्यास निकै महत्त्वपूर्ण हुने गरेको बताउने गरेका थिए । दक्षिण कोरियामा तैनाथ २९ हजार अमेरिकी सेनाले हरेक वर्ष ठूलो सैन्य अभ्यास गर्दै आएका थिए । १७ हजार ५ सय अमेरिकीसहित दुई देशका सेनाले आगामी महिना सैन्य अभ्यास गर्ने जनाएका थिए ।

प्रकाशित : असार १५, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?