कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘कर लगाउँदैमा क्यानडा झुक्दैन’

बीबीसी

टोरन्टो — क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रिलन्डले स्टिल तथा एल्मुनियममा लगाइएको अमेरिकी करसामु आफ्नो देश नझुक्ने चेतावनी दिएकी छन् ।

‘कर लगाउँदैमा क्यानडा झुक्दैन’

उनले देशका स्टिल र एलुमिनियम उद्योगलाई सघाउन क्यानडाले डेढ अर्ब अमेरिकी डलर बराबरको सहायता कार्यक्रम सार्वजनिक गरेपछि फ्रिलन्डको प्रतिक्रिया आएको हो ।

यसअघि अमेरिकाले स्टिलमा २५ र एल्मुनियममा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेपछि व्यापारिक साझेदारहरू रुस्ट भएका छन् ।

त्यसको प्रतिक्रियामा क्यानडाले अमेरिकी सामान लगाएको १६ दशमलव ६ अर्ब क्यानडियन डलर मूल्य बराबरको कर आगामी जुलाई १ तारिखदेखि कार्यान्वयनमा आउने जनाइएको छ । विदेशमन्त्री फ्रिलन्डले अमेरिकी कदमपछि क्यानडासँग ‘अन्य विकल्प नभएकाले जवाफी कदम चाल्न बाध्य भएको’ दाबी गरिन् ।

क्यानडाले लगाएको कर अमेरिकी स्टिल तथा एलुमिनियम उत्पादनमा लक्षित छ । त्यसबाहेक दही, विस्कन्सिन, पेन्सिल्भानिया र फ्लोरिडामा उत्पादन हुने सुन्तलाको जुसलगायत पेय पदार्थमा पनि क्यानडाले कर लगाएको हो ।

अमेरिकाले गत जुन १ देखि लागू गरेको करको जवाफमा कर लगाइएको फ्रिलन्डले दाबी गरिन् । उनले भनिन्, ‘दुई देशबीच तनाव बढाउन हामीले उक्त नीति लिएका होइनौं । तर अमेरिकी कदमले हामी झुक्ने पनि छैनौं ।’ अमेरिका र क्यानडाबीच वार्षिक ७०० अर्बभन्दा बढी अमेरिकी डलरको व्यापार भएको थियो । तर दुग्ध पदार्थ, काठजन्य उत्पादन तथा वाइनलगायत सामानमा लगाइएको करका कारण दुई देशबीचको व्यापार सम्बन्ध तनावपूर्ण बनेको छ । हालैका दिनमा मेक्सिकोसहित अमेरिका र क्यानडा तनावपूर्ण व्यापारिक अवस्था अन्त्य गर्न वार्तारत छन् ।

विदेशमन्त्री फ्रिलन्डले आइतबार मेक्सिकोको निर्वाचन सकिएलगत्तै व्यापार सम्झौताबारे छलफल हुने विश्वास व्यक्त गरिन् । उनले ‘समझदारीपूर्ण निर्णय’ लिए समस्या समाधान हुने विश्वास व्यक्त गरिन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि व्यापक आलोचना भएको थियो । ट्रम्पले चीनले बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै ५० अर्ब डलर मूल्य बराबरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए ।

उक्त कदमपछि चिनियाँ सञ्चार माध्यमले राष्ट्रपति ट्रम्पको आलोचना गर्दै ‘बुद्धिमान् मान्छेले पुल बनाउने, तर मूर्खले पर्खाल बनाउने’ जनाएका थिए । वार्षिक व्यापारमा करिब ३४ अर्ब डलर मूल्य बराबरको असर पर्ने गरी ५ सय ६० भन्दा बढी सामानमा लगाइएको कर ६ जुलाईदेखि लागू हुने ट्रम्पले जनाएका छन् । ह्वाइटहाउसले १६ अर्ब डलर मूल्यका उत्पादनबारे टिप्पणी गर्ने र चीनले बदला लिए थप कर लगाउने चेतावनीसमेत दिइसकेको छ । तर हालसम्म अमेरिकाले भने कुनै प्रतिक्रिया जनाएको छैन । राष्ट्रपति ट्रम्पको यस्तो निर्णय कार्यान्वयन भए चीन र अमेरिकाबीच व्यापार युद्ध सुरु हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ट्रम्पले उक्त निर्णय चीनले गर्दै आएको आफ्नो प्रविधिको नक्कल तथा बौद्धिक चोरी रोक्न अत्यावश्यक भएको बताउने गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाले अब अनुचित आर्थिक अभ्यासमार्फत आफ्नो प्रविधि र बौद्धिक सम्पत्ति गुमाएको सहन नसक्ने बताएका छन् । चिनियाँ राज्य नियन्त्रित सञ्चार माध्यमहरू ट्रम्पको नीतिको खुलेरै विरोधमा उत्रेका छन् ।

चीनले बौद्धिक सम्पत्ति र उत्पादनका उपाय चिनियाँ कम्पनीमा पठाउने प्रोत्साहन गरेको आरोप लगाउँदै चीनले त्यस्तो गर्न बन्द गरोस् भन्ने अमेरिकाले चाहेको छ । अमेरिकी राजदूत रोबर्ट लाइटहाइजरले ट्रम्पले समस्याको पहिचान गरेको र देशको भविष्य समृद्ध बनाउन निष्पक्ष व्यापार र अमेरिकाको प्रतिस्पर्धी स्वभावको संरक्षण गर्न अडान लिनुपर्ने दाबी गरे ।

गत शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गङ स्वाङले अमेरिकाले व्यापार प्रतिबन्ध लगाए चीन र अमेरिकाबीचको व्यापार वार्ता त्याग्ने चेतावनी दिएका थिए । उनले अमेरिकाले चीनको चासोलाई हानि गर्ने एकपक्षीय र रक्षात्मक उपाय अवलम्बन गरे तुरुन्तै प्रतिक्रया दिने चेतावनी दिएका थिए ।

प्रकाशित : असार १७, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?