मेक्सिकोको राष्ट्रपतिमा ओब्राडोर
मेक्सिको सिटी — मेक्सिकोमा आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी नेता आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर विजयी भएका छन् ।

अम्लो नामले परिचित मेक्सिको सिटीका पूर्वमेयर ओब्राडोर सन् १९८० यता आफ्ना प्रतिद्वन्द्वीसँग सबैभन्दा बढी मतान्तरले विजयी भएका हुन् । जितसँगै ओब्राडोरले मेक्सिकोमा झन्डै एक शताब्दी शासन गरेका २ पार्टीलाई सत्ताबाट विस्थापित गरिदिएका छन् ।
उनको विजयीसँगै मेक्सिकोको राजनीतिमा २ प्रमुख दल इन्स्टिट्युसनल रिभोलुसनरी पार्टी र नेसनल याक्सन पार्टीको वर्चस्वको अन्त्य समेत भएको छ । आब्राडोर यी दुवै पार्टीलाई शक्तिको माफियाहरूको हिस्सा रहेका भनी व्याख्या गर्छन् ।
६४ वर्षीय ओब्राडोरले चुनावी परिणाम घोषणा भएलगत्तै देशमा ‘बृहत् परिवर्तन’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि चुनावी सभामा बोल्दै ओब्राडोरले भ्रष्टाचारीलाई निर्मूल पार्ने आश्वासन दिएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर विरोधी ओब्राडोर राष्ट्रपतिमा विजयी भएसँगै दुई देशबीचको सम्बन्धबारे चर्चा शुरु भएको छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिसँग दुई देशबीचको तनाव थप उत्कर्षमा पुगेको छ ।
मेक्सिकोमा आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी नेता आन्द्रेस म्यानुएल लोपेजओब्राडोर विजयी भएपछि खुसी मनाइरहेका समर्थक
ट्रम्पले आप्रवासी तथा ब्यापारका विषयमा मेक्सिकोको आलोचना गर्ने गरेका छन् । उनले आफ्नो चुनावी अभियानका क्रममा समेत मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल लगाउने घोषणा गरेका थिए । तर ट्रम्पले भने राष्ट्रपतिमा निर्वाचित भएकोमा ओब्राडोरलाई सामाजिक सञ्जाल टीटरमार्फत बधाई दिएका छन् ।
चुनावी परिणामपछि बोल्दै ओब्राडोरले आफूले नागरिक स्वतन्त्रतालाई सम्मान गर्ने जनाए । उनले भने, ‘म तानाशाह बन्ने चाहना राख्ने मान्छे होइन् ।’ यद्यपी, कतिपय विपक्षीहरूले उनको बामपन्थी र लोकप्रिय नीतिका कारण देशको अर्थतन्त्रमा संकटका कारण मेक्सिको ‘अर्को भेनेजुयला’ हुने बताउने गरेका छन् ।
उनका चुनावी प्रतिस्पर्धी मध्य–दक्षिणपन्थी उम्मेदार रिकार्डो अनाएले उनलाई ‘लोकप्रियतावादी, खतरनाक एवं चतुर व्यक्ति भएको’ बताउने गरेका छन् । आर्थिक मामिलामा ओब्राडोरलाई विश्वास गर्न नसकिनेमा पनि अनाएले जोड दिएका थिए ।
ओब्राडोरले भने, ‘अनैतिक राजनीतिक व्यवस्थाको कारकका रूपमा रहेको भ्रष्टाचार हाम्रो सामाजिक र आर्थिक असमानता र हिंसाको मूल जड हो ।’ उनले आफूले नियमित रूपमा मन्त्रिपरिषद् बैठक गर्ने र देशमा व्याप्त लागूऔषधको कारोबारलाई नियन्त्रण गर्ने समेत प्रण गरेका छन् । आब्राडोरले राज्य, राजनीतिक दल र व्यापारिक घरानाले गरेको चरम दुरुपयोग अन्त्य गरी कामदारहरूको ज्याला र पेन्सन वृद्धि गर्नेसमेत बताएका छन् ।
आइतबारको चुनावमा देशभरबाट करिब ७ करोडले मतदान गरेका थिए । ल्याटिन अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्र मेक्सिको ठूलो तेल निर्यातकर्ता मध्येको एक हो । यद्यपि पछिल्ला महिनामा तेलको मूल्य खस्किएका कारण मेक्सिकोको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ ।
मेक्सिकोमा आइतबार भएको चुनावअघिका अभियानका क्रममा केही खराब राजनीतिक हिंसात्मक घटना भएका थिए । गत सेप्टेम्बरमा सुरु भएको चुनावी अभियानयता १ सय ३० भन्दा बढी उम्मेदवार तथा राजनीतिक कार्यकर्ता मारिएका थिए । मेक्सिकोमा यो चुनावी अभियानका बेला भएका घटनाहरू अहिलेसम्मकै हिंसात्मक हुन् ।
को हुन् ओब्राडोर?
ओब्राडोर सन् १९५३ को १३ नोभेम्बरमा मेक्सिकोको टबास्को राज्यको ग्रामीण क्षेत्र टेपिटिटानमा जन्मिएका हुन्। मेक्सिकोमा उनी अम्लो नामले परिचित छन्। उनी सन् २००० मा मेक्सिको सिटीको मेयर निर्वाचित भएका थिए।
ओब्राडोर यसअघि सन् २००६ र २०१२ मा भएको राष्ट्रपतीय निर्वाचनमा भने पराजित भएका थिए। उनी यसपटक ३ विभिन्न पार्टीको गठबन्धन नेसनल रिजेनेरेसन मुभमेन्ट पार्टी (मोरेना) को उम्मेदवारका रूपमा राष्ट्रपतीय निर्वाचनमा विजयी भएका हुन्।
सन् १९७६ देखि राजनीतिमा सक्रिय ओब्राडोर आइतबार भएको निर्वाचनमा उनले ५३ दशमलव ८ प्रतिशत मतसहित विजयी भएका हुन्।
प्रकाशित : असार १९, २०७५ ०८:३६