कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

थाइल्यान्डको गुफामा फसेका सबैको उद्धार

चियाङराई — थाइल्यान्डका उद्धारकर्मीले एक बाढीग्रस्त गुफामा फसेका सबै १३ जनाको उद्धार गरेको जनाएका छन् । १२ विद्यार्थी र उनीहरूका फुटबल प्रशिक्षक गत जुन २३ देखि थाइल्यान्डको उत्तरी प्रान्त चियाङराईको एक गुफामा बाढीका कारण फसेका थिए ।

थाइल्यान्डको गुफामा फसेका सबैको उद्धार

थाइल्यान्डको जलसेनाको इकाईले मंगलबार गुफामा फसेका सबैको सकुशल उद्धार गरेको जनाएको छ । सेनाका अनुसार आइतबार र सोमबार ४/४ जना विद्यार्थी तथा मंगलबार ४ विद्यार्थीसहित उनीहरूका प्रशिक्षकको उद्धार गरिएको हो ।


उद्धार गरिएका विद्यार्थीहरूमध्ये केहीलाई सामान्य चिसो लागेको भए पनि अन्यको स्वास्थ्य अवस्था राम्रो रहेको अधिकारीहरूले जनाएका छन् । उद्धार गरिएका सबै जनालाई चियाङराईस्थित अस्पतालमा राखिएको छ ।


अधिकारीहरूले भने हालसम्म उद्धार गरिएकोबारे विस्तृत विवरण सार्वजनिक भने गरेका छैनन् । विद्यार्थीका अभिभावकले आफूहरूलाई अस्पताल जान रोक लगाएको जनाएका छन् ।
अस्पताल अधिकारीका अनुसार विद्यार्थीहरूलाई अझै एक साता अस्पतालमा राखिनेछ ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गुफामा फसेकाको उद्धार गरिएलगत्तै स्थानीयले उनीहरूलाई राखिएको अस्पतालअघि खुसी मनाएका छन् ।


विद्यार्थी तथा उनीहरूका प्रशिक्षकलाई गत शुक्रबार बेलायतका दुई गोताखोरले फेला पारेका थिए । त्यस लगत्तै एक डाक्टर तथा थाइल्यान्डको जलसेनाका ३ अधिकारीहरू उनीहरू रहेको स्थानमा बस्दै आएका थिए । विद्यार्थीको उद्धारसँगै डाक्टर तथा सेनाका अधिकारीसमेत बाहिर निस्केको जनाइएको छ ।


गत जुन २३ मा फुटबल खेलेर फर्केका विद्यार्थी नजिकैको गुफामा घुम्ने क्रममा भीषण वर्षापछिको बाढीका कारण फसेका थिए । उद्धार टोलीमा संलग्न सुरक्षाकर्मीले ७ किलोमिटर लामो गुफामा उनीहरू प्रवेशद्वारबाट करिब ४ दशमलव ५ किलोमिटर टाढा बसेका थिए ।


अधिकारीहरूले गुफामा फसेकाको उद्धार गर्न धमिलो पानी तथा भौगोलिक जटिलताका कारण कठिनाइ भएको जनाएका छन् । उद्धारकर्मीले विद्यार्थीलाई बसेको स्थानमा गुफाबाहिर ल्याउन करिब ११ घण्टा लागेको थियो ।


चियाङराईका गभर्नरका अनुसार उद्धार टोलीमा विदेश ५० सहित ९० उद्धारकर्मी रहेका थिए । टोलीमा बेलायत, चीन, म्यान्मार, लाओस, अस्ट्रेलिया, अमेरिका र जापानका उद्धारकर्मी संलग्न थिए ।


विश्व समुदाय खुसी
लन्डन (बीबीसी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८ दिनदेखि बाढीग्रस्त गुफामा फसेका विद्यार्थी तथा उनीहरूका फुटबल प्रशिक्षकको सकुशल उद्धार गरेको भन्दै थाइल्यान्डको जलसेनालाई बधाई दिएका छन् ।


ट्रम्पले ट्वीटरमा लेखेका छन्– ‘अमेरिकाको तर्फबाट म विद्यार्थी तथा प्रशिक्षकको सफल उद्धरा गरेकोमा थाई जलसेनालाई बधाई दिन चाहन्छु ।’ बेलयातकी प्रधानमन्त्री टेरेजा मेले विद्यार्थीको उद्धार भएकोमा खुसी लागेको जनाउँदै उद्धारमा संलग्नप्रति सम्मान व्यक्त गरेकी छन् । त्यसैगरी जर्मन चान्सलर एन्जेला मर्केलका प्रवक्ता स्टेफेन सिबर्टले पनि विद्यार्थी तथा उनीहरूका प्रशिक्षकको सफल उद्धार गरेकोमा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित : असार २७, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?