२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता

रमेश लम्साल, रासस

काठमाडौँ — नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्वमै सान्दर्भिक देखिएको छ । यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एक पछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन् । 

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता

शक्तिको दुरुपयोग गरेर व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय सम्पत्तिको हिनामिना गरेको भन्दै पछिल्लो दुई सातामा मलेसिया र पाकिस्तानका पूर्वप्रधानमन्त्री यो मुद्दामा तानिए । संसारभर नै भ्रष्टाचारका कारण नैतिकता र राजनीतिक साख गुमेको तथा राजनीतिक नेतृत्व जनताप्रति इमान्दार छैनन् भन्ने पनि पछिल्ला यी घटनाले प्रस्ट पारेको छ ।


विश्व बैंकको पछिल्लो एक तथ्याङ्कअनुसार हरेक वर्ष एक खर्ब २५ अर्ब डलर भ्रष्टाचारका कारण अपचलन हुने गरेको छ । विश्वभर नै भ्रष्टाचार विरुद्धको अभियानमा संलग्न ट्रान्सपरेन्सी इन्टरनेशनले भ्रष्टाचार संस्कृतिको रुपमा फैलँदै गएको र त्यो भयावह रहेको जनाएको छ । उसले भनेको, ‘सार्वजनिक खरिद प्रक्रियामा रहने छिद्रका कारण आम मानिसले थाहा नपाउने गरी नै भ्रष्टाचार हुने गरेको छ ।’ ट्रान्सपरेन्सीले थप भनेको छ, ‘संसारका धनी वा गरिब सबै देशमा भ्रष्टाचार महारोगका रुपमा फैलिएको छ र त्यसले हरेक वर्ष ४०० बिलियन अमेरिकी डलर बराबरको हानी नोक्सानी गरेको छ ।’


सत्ताको बलमा कानुन मिच्ने, आफ्ना नाता गोता र आफन्तमार्फत अकूत सम्पत्ति कमाउन खोज्ने प्रवृत्ति संसारमै रोगजस्तै फैलिएको छ । सभ्य भनिने संसारलाई चुनौती दिने अनियमितता रोक्न भनेर गरिएका प्रयाससमेत फितलो र कामकाजी बन्न सकेका छैनन् ।


केही दिन पहिले मात्रै मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक पक्राउ परे । ९२ वर्षीय महाथिर पुनःसत्तामा आएपछि मलेसियाको राजनीतिमा करिब ६० वर्षभन्दा बढी समय बिताएका रजाकमाथि भ्रष्टाचारको मुद्दा लाग्यो । यो एउटा समान्य परिघटना मात्रै थिएन । शक्तिको बलमा राज्यको साधन र स्रोतमाथि कुन हदसम्मको बदमासी गरिन्छ भन्ने उदाहरण पनि हो ।


पूर्वप्रधानमन्त्री रजाकमाथि ७५ अर्ब बढीको भ्रष्टाचार गरेको आरोप लागेको छ । आरोपको पुष्टि होला वा नहोला त्यो भने आगामी दिनमा नै थाहा होला तर, जुन प्रवृत्तिका कारण पूर्वप्रधानमन्त्री समातिए त्यसले भने भ्रष्टाचार विरुद्धको लडाइँ सरल र सहज छैन भन्ने देखाइदिएको छ ।


मलेसियाको एक अनुसन्धान निकायले रजाकका श्रीमतीका गरगहना, बहुमूल्य सामान र नगद गरी २७ करोड डलर बराबरको सम्पत्तिसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वप्रधानमन्त्रीका आफन्त, नातागोता तथा उनको कार्यकालमा हर्ताकर्ता बनेका माथिसमेत छानबिन सुरु गरेको अनुसन्धान संस्थाले जनाएको छ ।


रजाकका समर्थकले उनीमाथि राजनीतिक प्रतिशोध साधिएको बताएका छन् । तर, सरकारले भने राज्यस्रोतको दुरुपयोग गरेको भन्दै कडा कारबाही गर्ने जनाएको छ । पूर्वप्रधानमन्त्री माथिको आरोपको पुष्टि भए या नभएपनि राजनीतिक नेतृत्व जनताप्रति इमान्दार रहेनछ भन्ने सो घटनाले प्रस्ट देखाउँछ । सत्ता र शक्ति पाएपछि विगतमा इमान्दार भनिएका पनि भ्रष्टाचारको आहालमा नराम्ररी डुब्दा रहेछन् भन्ने सो घटनाले प्रस्ट संकेत गर्दछ ।


राजनीतिक प्रणालीमा रहेको छिद्र खोजेर भ्रष्टाचार गर्ने, व्यक्तिगत सुख सयलका लागि खर्च गर्ने, शक्तिको दुरुपयोग गर्ने तथा त्यसैलाई माध्यम बनाएर गैरकानुनी तवरले सम्पत्ति जोडने संस्कृति राजनीतिक नेतृत्वमा हावी भएको छ ।


यस्तै पछिल्लो उदाहरण बनेको छ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी धर्मपत्नीको मुद्दा । प्रधानमन्त्रीको सरकारी निवासमा खाना बनाउने कामदार उपलब्ध नभएको बताउँदै राज्य कोषको दुरूपयोग गरी एक लाख अमेरिकी डलरको खाना खरिद गरेको आरोप पूर्वप्रधानमन्त्री पत्नी सारामाथि लागेको छ ।


उनान्साठी वर्षीया सारामाथि भ्रष्टाचारको अभियोगमा मुद्दा चलिरहेको छ । सन् २०१० देखि २०१३ सम्म नेतन्याहु, उनको परिवार र पाहुनाका लागि भनी तीन लाख ५९ हजार सेकेल्स (इजरायली मुद्रा) बराबरको खाना खरिद गरी नक्कली बिल पेस गरेको आरोप लागेको छ ।


त्यस्तै भ्रष्टाचारको अभियोगमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई तीन दिन पहिले दस वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको एक अदालतले उनलाई लन्डनमा किनेको चारवटा सुविधासम्पन्न ‘फ्ल्याट’सँग सम्बन्धित भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेको हो ।


अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमकाअनुसार अदालतले सरिफकी छोरी मर्याम नवाज सरिफलाई सात वर्ष र छोरा सफ्दर अवनलाई पनि एक वर्षको सजाय दिएको छ । नवाज सरिफले भने यसलाई राजनीतिप्रेरित रहेको प्रतिक्रिया दिएका छन् । सरिफ र उनका छोरी भने श्रीमती कुसुम नवाजको क्यान्सर उपचारको क्रममा बेलायतमा छन् । न्यायाधीश मोहम्मद बासिरले सरिफलाई आफ्नो आम्दानीभन्दा बढीको सम्पति राखेकोमा दस वर्ष र भ्रष्टाचारको मुद्दा हेरिरहेको नेशनल एकाउन्टविलिटी व्यूरोलाई सहयोग नगरेकोमा थप एक वर्ष सजाय सुनाएको छ ।


राज्यको साधान स्रोतको दुरुपयोग गर्ने, व्यापारिक तथा पारिवारिक स्वार्थमा सरकारी संयन्त्र परिचालन गर्ने प्रवृत्ति पनि पछिल्लो दिनमा हावी भएको यी घटनाक्रमले पुष्टि गरेको छ । कतिपय मुद्दा भने राजनीतिक विचार र सिद्धान्तसँग जोडिएर आएका छन् । तर, धेरै जसो मुद्दा भने चरम राज्य शक्तिको दुरुपयोगले निम्त्याएको लुटको श्रृंखलाको रुपमा देखिन्छ । दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गे उन हाइलाई शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा गतवर्ष पक्राउ गरियो । अदालतले पार्कलाई एक करोड ६८ लाख अमेरिकी डलर जरिवाना तोकेको छ ।

दक्षिण कोरियामा राष्ट्रपति पदमा चुनिने पार्क गुउन हाइ पहिलो महिला भए पनि दक्षिण कोरियामा अपराधमा तानिएर हिरासतमा पर्नेमा भने उनी तेस्रो राष्ट्रपति हुन् । उनीपछि अर्का पूर्वराष्ट्रपति लि म्युङ बाकलाई पनि भ्रष्टाचार, कर छली र सार्वजनिक स्रोत, साधन र शक्तिको दुरुपयोगको अभियोगमा पक्राउ गरिएको छ । पदमा नै रहेका वखत उनीमाथि लागेको अभियोगले संसार हल्लाइदिएको थियो । उनलाई अदालतले दोषी ठहर गर्दै २४ वर्षको कैद सजाय सुनाएको छ । हाल ६६ वर्षीय पूर्वराष्ट्रपतिको बाँकी जीवन कारावासमा नै बित्ने निश्चित भएको छ ।


यसैवर्ष दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमा पनि भ्रष्टाचारको आरोपमा तानिए । उनलाई पनि शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । सन् २००९ देखि लागेको आरोप २०१८ मा आइपुग्दा पुष्टि भयो र पद छाड्नुपर्‍यो ।


भ्रष्टाचारको श्रृंखलाबाट बङ्गलादेश पनि अछुतो छैन । पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल पठाइएको छ । खालिदाले बङ्गलादेशमा १० वर्ष प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेका थिए । उनलाई राज्यशक्तिको दुरुपयोग गरेको आरोप लागेको छ । बङ्गलादेशमा राजनीतिकरुपमा सिध्याउन भ्रष्टाचारको आरोप लगाइएको र खालिदालाई पनि त्यस्तै गरिएको आलोचकले बताएका छ्न् ।


यस्तै फुटबलको महाशक्ति मानिने ब्राजिलका पूर्वराष्ट्रपति लुला डि सिल्भालाई पनि भ्रष्टाचारको आरोपमा कैद सजाय सुनाइएको छ । सो देशको सर्वोच्च अदालतले सिल्भालाई १२ वर्षको कैद सजाय सुनाएको छ । तर सिल्भाले भने निकट भविष्यमा हुन लागेको राष्ट्रपतिको निर्वाचनलाई प्रभावित पार्न भ्रष्टाचारको नाटक रचिएको प्रतिक्रिया दिँदै आएका छन् ।


पेरुमा पनि पूर्वराष्ट्रपति पाब्लो माथि भ्रष्टाचारको आरोप लागेको छ । उनीमाथि लागेको आरोपको छानबिन भइरहेको छ । भारत, पोर्चुगल, रोमानिया, इजरायल, सर्बियालगायतका देशका शीर्ष नेता तथा राजनीतिज्ञमाथि पनि भ्रष्टाचारको आरोप लागेको छ ।


कुनै समय शक्तिशाली र लोकप्रिय नेता एक पछि अर्को गर्दै भ्रष्टाचारको आरोपमा पक्राउ परिरहेका छन् । यसले राजनीतिक इतिहास र विरासतको बदनाम गर्ने मात्र होइन कि विगतका आदर्शका शिखरहरु पनि एकाएक ढलेका छन् । कानुनभन्दा माथि कोही पनि रहेका छैनन् र हुँदैनन् भन्ने पनि पछिल्ला यी उदाहरणले देखाएको छ । धेरैजसो मुलुकमा भ्रष्टाचारका कारण राजनीतिक प्रणालीमाथि नै प्रश्न चिन्ह लाग्न थालेको छ । यसलाई सम्बोधन गर्न विश्व समुदायले कस्तो प्रयास गर्ने हो भन्ने विषय त भविस्यकै गर्भमा छ ।


विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित : असार २७, २०७५ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?