कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरिफ छोरीसहित पक्राउ

१० वर्ष जेल चलान
बीबीसी

इस्लामाबाद — पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियम नवाजलाई शुक्रबार राति लाहोरस्थित विमानस्थलबाट पक्राउ गरिएको छ । लन्डनबाट अबुधाबी हुँदै शुक्रबार पाकिस्तान फर्किएका सरिफ लाहोर विमानस्थलमा ओर्लिए लगत्तै पक्राउ परेका हुन् ।

सरिफ छोरीसहित पक्राउ

सरिफ र उनकी छोरीलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेसनल अकाउन्टेबिलिटी ब्युरो (एनएबी) का अधिकारीहरूले पक्राउ गरेका हुन् । सरिफले कार चढेर जान अस्वीकार गरेपछि चार्टर्ड जहाजबाट राजधानी इस्लामाबाद पुर्‍याइएको थियो । लगत्तै उनीहरूलाई अडियाला जेल पुर्‍याइएको हो ।

सरकारी अधिकारीहरूलाई सरिफ र मरियमलाई अदालतमा उपस्थित नगराईकन जेल पठाउने आदेश दिइएको थियो । सरिफलाई तत्कालका लागि अडियाला जेलमै राखिने अधिकारीहरूले जनाएका छन् । मरियमलाई भने स्वास्थ्य परीक्षण र अरू औपचारिकता पूरा गरी इस्लामाबादस्थित प्रहरी प्रतिष्ठान लगिने जनाइएको छ ।

लाहोरमा सरिफको स्वागतका लागि बसेका समर्थक र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । झडपका क्रममा केही सामान्य घाइते भएको जनाइएको छ ।

पाकिस्तानी अदालतले गत जुलाई ६ मा भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै सरिफलाई १० वर्ष र मरियमलाई ७ वर्ष जेल सजाय सुनाएको थियो । जेल सजायसँगै १ करोड अमेरिकी डलर जरिवानाको फैसला गरेको थियो । अदालतले सजाय सुनाउने बेला सरिफ आफ्नी श्रीमतीको उपचारका लागि लन्डनमा थिए ।

सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजले उनको स्वागतका लागि ठूलो संख्यामा विमानस्थल पुग्न अपिल गरेको थियो । विमानस्थल पुगेका कैयौंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न समयमा ३ पटकसम्म पाकिस्तानको प्रधानमन्त्री बनेका सरिफ गतवर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट मुक्त भएका थिए ।

साथै अदालतले उनलाई राजनीतिक गतिविधि गर्न प्रतिबन्धसमेत लगाइसकेको छ । तर सरिफ तथा उनका समर्थकले आफूमाथि लागेको भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका छन् । सरिफले भने ‘सत्तापक्षले राजनीतिक पूर्वग्रहका आधारमा आफूलाई फसाएको’ आरोप लगाए ।

सरकारले अनावश्यक धरपकड गरिरहेको आरोप लगाउँदै उनले आसन्न आमनिर्वाचन स्वतन्त्र रूपमा हुनेमा आशंका व्यक्त गरे । पाकिस्तानमा आगामी जुलाई २५ मा हुने आमनिर्वाचनको पुर्वसन्ध्यामा भएको उनको गिरफ्तारी अर्थपूर्ण भएको जनाइएको छ । पाकिस्तानमा जुलाई २५ मा आमनिर्वाचन हुँदै छ ।

प्रकाशित : असार ३१, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?