१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अमेरिकीद्वारा १२ रूसी गुप्तचरविरुद्ध अभियोग

बीबीसी

वासिङ्टन — सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा १२ रूसी गुप्तचर अधिकारीविरुद्ध अभियोग लगाइएको छ । अधिकारीहरूले उक्त घटनाले आगामी सोमबार अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ताबारे आशंका बढाएको छ ।

अमेरिकीद्वारा १२ रूसी गुप्तचरविरुद्ध अभियोग

यद्यपि, अमेरिकी राष्ट्रपति कार्यालयले त्यसले ट्रम्प र पुटिनबीच हुने शिखर बैठक जोखिममा नपर्ने जनाएको छ । १२ जना रूसीविरुद्ध लगाइएका आरोपले यही सोमबार हेलसिन्कीमा हुने शिखर बैठक रोक्ने उद्देश्य राखेको मस्कोले प्रतिक्रिया जनाएको छ ।

तर अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका प्रवक्ता सराह हकाबी स्यान्डर्सले दुई राष्ट्रपतिबीच हुने पूर्वनिर्धारित बैठक प्रभावित नहुने बताएकी छन् । तर सिनेटका डेमोक्रयाट नेता चक सुमरले पछिल्लो अभियोगलाई ध्यान दिँदै बैठक रद्द गर्न राष्ट्रपति ट्रम्पलाई सुझाव दिएका छन् ।

अमेरिकी अधिकारीका अनुसार ती रूसी गुप्तचरलाई एउटा सफ्टवेयरको प्रयोग गरी डेमोक्रयाटिक पार्टीको राष्ट्रिय समिति अध्यक्षविरुद्ध गुप्तचरी गरेको तथा पार्टीका कम्प्युटर ‘हयाक’ गरेको आरोप लगाइएको छ ।

सह–महान्यायाधिवक्ता रड रोसेन्स्टाइनले आरोपितहरूले गलत इमेल र सफ्टवेयरको प्रयोग गरेको दाबी गरे । उनका अनुसार हयाकरले निर्वाचन गराउने निकायको वेबसाइट हयाक गरी ५ लाख मतदाताका विवरण पनि चोरी गरेको जनाए । रोर्बट मुलर नेतृत्वको समितिले गरेको अनुसन्धानपछि यस्तो निर्णय लिइएको हो ।

समितिले रूसले गरेका आक्रमणलाई खस्किएको साख र नीतिमा आएका अवरोधसाग जोडेर हेर्नुपर्ने बताएको छ । तर सह–महान्यायाधिवक्ताले उक्त निर्णय राष्ट्रपति ट्रम्प र पुटिनबीचको भेटवार्तासँग कुनै सम्बन्ध नरहेको बताए । यसै साताको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई रूसी गुप्तचर अधिकारीलाई अभियोग लगाउनेबारे जानकारी दिइएको थियो । हाल बेलायतको भ्रमणमा रहेका ट्रम्पले आफू निर्वाचित भएको चुनावबारे भइरहेका अनुसन्धान मूर्खतापूर्ण कार्य भएको जनाए ।

प्रकाशित : असार ३१, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?