बाबुलाई ‘क’ छोरीलाई ‘ख’ खाना

एजेन्सी

इस्लामाबाद — लन्डनबाट स्वदेश फर्केलगत्तै शुक्रबार पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई ‘क’ श्रेणीको कैदीको सुविधा प्रदान गरिएको छ ।

बाबुलाई ‘क’ छोरीलाई ‘ख’ खाना

नाम उल्लेख नगर्ने सर्तमा रावलपिन्डीस्थित अडियाला जेलका एक अधिकारीले शरिफकी छोरी मरियमलाई भने ‘ख’ श्रेणीको कैदीको सुविधा दिइएको जनाएका छन् । जेल अधिकारीहरूका अनुसार ‘क’ श्रेणीअन्तर्गत उच्च सरकारी अधिकारीहरूबाहेक पूर्वसंघीय मन्त्री र विगतमा बढी कर तिर्ने गरेकाहरूलाई राख्ने गरिएको छ । ‘क’ श्रेणीअन्तर्गत राखिने कैदीलाई बस्नका लागि २ वटा कोठा दिइन्छ । त्यसमा एसी, ओछ्यान, फ्रिज र टेलिभिजनका साथै भान्सा हुन्छ ।

‘क’ श्रेणीका कैदीले जेलको खानाको सट्टा आफैंले पकाएर पनि खाने सुविधा पाउँछन् । त्यसबाहेक उनीहरूले काम गर्ने २ जना कैदी पनि पाउँछन् । ‘ख’ श्रेणीका कैदीलाई भने एउटा कोठा र काम गर्ने एक कैदी उपलब्ध गराइन्छ । जेल अधिकारीले आवश्यक ठाने काम गर्ने अर्को एक कैदी पनि उपलब्ध गराउँछन् ।

पाकिस्तानको पञ्जाब प्रान्तका बहावलपुर र रावलपिन्डी जिल्लाका जेलमा मात्रै कैदीले ‘क’ श्रेणीको सुविधा पाउने व्यवस्था छ । प्रान्तमा ४२ जिल्ला छन् । ‘ग’ श्रेणीमा हत्या, लुटपाट, चोरी र झैझगडा लगायतका अपराधमा सजाय पाएका कैदीहरूलाई राख्ने गरिन्छ । झैझगडामा संलग्न भए पनि प्रतिष्ठित परिवारका कैदीलाई भने ‘ख’ श्रेणी अन्तर्गतका कारागारमा राखिन्छ । शरिफ र मरियमले अरू कैदीसरह पोसाक लगाउनुपर्ने अधिकारीहरूले जनाएका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक अधिकारीका अनुसार जेलमा नियमितबाहेक थप सुरक्षा निकायका अधिकारी पनि खटाइएको छ ।

शरिफ र मरियमले चाहेमा कैदीको पोसाक आफैंले पनि बनाउन लगाउन सक्ने जेलका अधिकारीले बताएका छन् । उनीहरूका अनुसार पूर्वप्रधानमन्त्री भएको नाताले शरिफलाई ‘क’ श्रेणी र उनकी छोरी भएकाले मरियमलाई ‘ख’ श्रेणी’ को कैदीका रूपमा राखिएको हो ।

प्रकाशित : असार ३२, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?