ट्रम्पद्वारा ओबामाको आलोचना

बीबीसी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे पूर्वराष्ट्रपति बाराक ओबामाको आलोचना गरेका छन् ।

ट्रम्पद्वारा ओबामाको आलोचना

अमेरिकाको राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा शनिबार १२ रुसी गुप्तचर अधिकारीविरुद्ध अभियोग लगाइएको थियो । उनीहरूमाथि एउटा सफ्टवेयरको प्रयोग गरी डेमोक्रयाटिक पार्टीको राष्ट्रिय समिति अध्यक्षविरुद्ध गुप्तचरी गरेको तथा पार्टीका कम्प्युटर ‘ह्याक’ गरेको आरोप लगाइएको हो । ‘तिनीहरूले यसबारे किन केही गरेनन् ?’ ट्रम्पले यसबारे ओबामालाई पहिले नै जानकारी गराइएको दाबी गर्दै आइबार ट्वीट गरेका छन् । रुसले भने निर्वाचनमा आफूले हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

रुसी गुप्तचर अधिकारीमाथिको अभियोगपछि ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार फिनल्यान्डको राजधानी हेलसिन्कीमा हुने शिखर वार्ता स्थगित गर्न समेत दबाब परेको बीबीसीले उल्लेख गरेको छ । रुसले उक्त बैठक निर्धारित मितिमै हुनेमा विश्वास लिएको जनाएको छ । रुसी राष्ट्रपतिका सल्लाहकार युरी उसाकोभले भने, ‘दुई देशबीचको सम्बन्ध निकै खराब छ । हामीले त्यसलाई सही दिशामा ल्याउन आवश्यक छ ।’ यद्यपि, अमेरिकाले रुसी गुप्तचरमाथि अभियोग लगाएपछि भने दुई देशबीच आरोप/प्रत्यारोप बढेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका प्रवक्ता सराह हकाबी स्यान्डर्सले दुई राष्ट्रपतिबीच हुने पूर्वनिर्धारित बैठक प्रभावित नहुने बताएकी थिइन् ।

प्रकाशित : असार ३२, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?