१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

व्यापार विवाद अन्त्य गर्न आग्रह

एएफपी

बेइजिङ — युरोपेली युनियनले विश्वका शक्ति राष्ट्रबीच पछिल्लो समय जारी व्यापार विवाद हटाउन आग्रह गरेको छ ।

व्यापार विवाद अन्त्य गर्न आग्रह

अमेरिका, रूस र चीनतर्फ संकेत गर्दै युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टस्कले सोमबार उक्त आग्रह गरेका हुन् । उनले भने, ‘विगतमा पनि यस्तो व्यापारका क्षेत्रमा युद्ध देखा परेकै हो तर त्यसको परिणाम राम्रो निस्किएको छैन, त्यसैले यस्तो द्वन्द्व तुरुन्तै हटाउनु जरुरी छ ।’

उनले ‘शक्तिशाली राष्ट्रले व्यापारजस्तो संवेदनशील विषयमा विवाद बढाउन नहुने जनाए । उनले भने, ‘बरु विवाद उत्पन्न भयो भने त्यसको समाधान गर्नेतर्फ क्रियाशील हुनुपर्छ ।’

अमेरिका, रूस र चीनबीच पछिल्ला दिनमा व्यापार विवाद जारी छ । यी देशबीच देशमा आयात या निर्यात हुने सामानमा बढी मात्रामा कर लगाउने गरिएको छ भने कतिपय देशले यस्ता सामानको आयात–निर्यात नै बन्द गरेका छन् ।

टस्कले व्यापार क्षेत्रको विश्वव्यापी प्रचलन एवं मान्यताको पालना गर्नु युरोपेली युनियन तथा शक्तिशाली देशको पनि कर्तव्य भएको जनाए ।

बेइजिङ भ्रमणमा रहेका टस्कले सोमबार आयोजित कार्यक्रममा भने, ‘अझै पनि द्वन्द्व समाधानका लागि समय छ, केही बिग्रिसकेको छैन ।’ अध्यक्ष टस्कले सोमबार बिहानै बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँगको भेटवार्ता उक्त प्रतिक्रिया दिएका हुन् ।

भेटका क्रममा दुई नेताबीच हालैका दिनमा देखिएको व्यापार क्षेत्रको विवाद समाधानका लागि आवश्यक उपायहरूबारे कुराकानी भएको बताइएको छ ।

अमेरिका र चीनबीच पछिल्लो समय व्यापारका विषयमा विवाद उत्पन्न भएको छ । उक्त विवादका कारण दुई देशबीच वाक्युद्धसमेत चलिरहेको छ । सुरुमा अमेरिका आयात हुने चिनियाँ केही सामानमा अमेरिकाले पहिलेको तुलनामा करको मात्रामा भारी वृद्धि गरेको थियो भने पछि चीनले पनि अमेरिकी सामानमा त्यसै गरेको छ ।

दुई देशबीचको विवाद पछिल्लो समय रूसतर्फ पनि सरेको छ । अमेरिकाले रूसी सामानमा पनि कर लगाउने घोषणा गरिसकेको छ ।

दुई देशको जारी विवादबारे प्रतिक्रिया दिँदै युरोपेली युनियनका अध्यक्ष टस्कले भने, ‘अन्तर्राष्ट्रिय समुदायले अहिले व्यापारका क्षेत्रमा विवाद होइन, सुधार खोजेको छ, सुमधुर सम्बन्ध चाहेको छ । त्यसैले समाधानतर्फ जाऔँ ।’

प्रकाशित : श्रावण १, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?