२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

विश्वकपकी ‘नयाँ स्टार’

काठमाडौँ — यसपालिको विश्वकप फुटबल प्रतियोगिताको अन्त्यसँगै नयाँ विजेता बन्यो फ्रान्स । विश्वकपले विजेता मात्रै दिएन, केही स्टारहरू पनि जन्मायो । रूसले आयोजना गरेको विश्वकपकै कारण लुका मोड्रिच, किलिएन एम्बाप्पेलगायत दर्जनौं फुटबल स्टार विश्वमै चिनिए ।

विश्वकपकी ‘नयाँ स्टार’

तर विश्वकपको २१ औं संस्करण यतिमा मात्रै सीमित रहेन, मैदानबाहिर पनि एउटा स्टार जन्मायो । ती हुन्– कोलिन्डा ग्राबर–किटारोविच ।


क्रोएसियाकी राष्ट्रपति कोलिन्डाले फाइनल प्रतियोगितापछि खेलाडी र प्रशिक्षकप्रति देखाएको स्नेहले विश्वका फुटबल प्रेमीलाई मुग्ध पार्‍यो । फाइनल खेल सकिएसँगै अचानक परेको मुसलेधारे पानीको परवाह नगरी विजेतालाई बधाईका साथै उनले दोस्रो हुने खेलाडीलाई सान्त्वना दिइन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगै रहेकी उनले खेलाडी र प्रशिक्षकलाई एकपछि अर्को अँगालेको दृश्य धेरैका निम्ति नौलो त थियो नै, राष्ट्रपतिले खेलाडीप्रति देखाएको स्नेह पनि अभूतपूर्व थियो ।


त्यसो त फुटबलप्रतिको उनको क्रेज फाइनलअघि नै देखिएको थियो । आफ्ना खेलाडीको हौसला बढाउन उनी सामान्य दर्शकझै क्रोएसियाको जर्सी लगाएर रंगशालामै उपस्थित भइन् । उनी आमयात्रुझैं आफ्नै खर्चमा इकोनोमी क्लासको टिकटमा रूस पुगेकी थिइन् ।


इंग्ल्यान्डविरुद्धको सेमिफाइनल खेलबाहेक क्रोएसियाको सबै खेल उनले नबिराई रंगशालामै हेरिन् । १९९१ मा युगोस्लाभियाबाट छुट्टिएर स्वतन्त्र राष्ट्र बनेको क्रोएसियाका निम्ति यो विश्वकप विशेष रहयो । हालसम्म विश्वकपमा ५ पटक सहभागी भएपनि क्रोएसिया पहिलोपटक फाइनल पुग्यो । संयोग नै मान्नुपर्छ, सन् १९९८ मा फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको क्रोएसिया २० वर्षपछि पुन: फ्रान्सबाटै फाइनलमा पराजित हुन पुग्यो ।


उपविजेता बने पनि क्रोएसियाली खेलाडीहरूले आक्रमक र आकर्षक खेलशैलीका कारण विश्वभरका फुटबलप्रेमीहरूको मन जित्न सफल भए । विश्वकप नजिते पनि विश्वको ध्यान केन्द्रित गर्न क्रोएसिया सफल भयो, मैदानभित्र खेलाडी, मैदानबाहिर राष्ट्रपतिले । फाइनल खेल हारे पनि आफ्ना खेलाडीको आत्मबल उकास्ने राष्ट्रपतिको प्रयास र उनको स्नेही व्यवहारको विश्वव्यापी चर्चा भयो ।


खासगरी विश्वकपमा उत्कृष्ट खेलाडीको गोल्डन बल जितेका मिडफिल्डर लुका मोड्रिचलाई उनले दिएको सान्त्वनाले धेरैको मन जित्यो । त्यसपछि सुरु भयो, लेडी राष्ट्रपतिको विगतको कथाको चासो पनि । तत्कालीन युगोस्लाभियाको रिजेकामा २९ अप्रिल, १९६८ मा जन्मिएकी कोलिन्दाको परिवारको आयस्रोत भनेको मासु पसल र खेतीपाती थियो । अध्ययनका लागि १७ वर्षको उमेरमा अमेरिकाको न्यु मेक्सिको पुगेकी उनी २ वर्षको बसाइपछि युगोस्लाभिया फर्किइन् ।


सन् २००० मा जाग्रेब विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर कोलिन्डाले सन् २०१५ मा विद्यावारिधिको अध्ययन पनि सुरु गरिन् ।

राजनीतिक यात्रा

कोलिन्डाको राजनीतिक करिअर भने सन् १९९२ मा विज्ञान तथा प्रविधि मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय विभागमा सल्लाहकार पदमा नियुक्तिसँगै सुरु भयो । यसैबीच, उनी क्रोएसिएन डेमोक्रेटिक युनियनमा आबद्ध भइन् । सोही वर्ष उनलाई परराष्ट्र मन्त्रालयको सल्लाहकार नियुक्त गरियो । १९९५ देखि १९९७ सम्ममा उनले विदेश मन्त्रालयअन्तर्गतको उत्तर अमेरिकी महाशाखाको नेतृत्व गरिन ।


सन् २००० मा सम्पन्न आमनिर्वाचनपछि सोसिअल डेमोक्रेटिक पार्टी (एसडीपी) ले सरकार बनायो र टोनिना पिकुला नयाँ विदेशमन्त्री बने । कोलिन्डालाई केही सातामै स्वदेश फर्कन आदेश गरियो । तर, उनले आफू गर्भवती भएको भन्दै फर्कन अस्वीकार गरेपनि चर्को दबाबपछि फर्कन बाध्य भइन् । त्यसलगत्तै उनी अन्तर्राष्ट्रिय तथा सुरक्षा मामिला अध्ययन गर्न छात्रवृत्तिमा जर्ज वासिङटन युनिभर्सिटी गइन् । अध्ययनपछि उनी पुन: रिजेका फर्किइन् । २००३ मा सम्पन्न चुनावमा सांसद निर्वाचित भएसँगै कोलिन्डाको राजनीतिक छवि थप स्थापित बन्न पुग्यो ।


अन्तर्राष्ट्रिय मामिलाको अनुभव र प्रभावशाली व्यक्तित्वकै कारण नयाँ सरकारले उनलाई युरोपियन इन्टिग्रेसन मिनिस्टरको जिम्मेवारी दियो । उक्त जिम्मेवारीले कोलिन्डालाई अन्तर्राष्ट्रिय मामिला र राजनीतिज्ञका रूपमा थप परिपक्व बनाउने अवसर दियो । क्रोएसियाको ईयू र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता विदेश मन्त्री कोलिन्डाका प्रमुख उपलब्धि रहे । सन् २००७ मा संसदीय चुनावमा उनको पार्टी एजडिजेडको विजयपछि उनी पुन: विदेशमन्त्री बनेपनि मन्त्रालयको जिम्मेवारी दिइयो । तर, उनलाई केही केही समयमै हठात पदमुक्त गरियो ।


त्यसलगत्तै उनी अमेरिकाका लागि राजदूत नियुक्त भइन् । उनको यस पटकको अमेरिका बसाइ भने विवादित बन्न पुग्यो । श्रीमान् ज्याकोबले व्यक्तिगत प्रयोजनका लागि दूतावासको कार प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिइन् । छानबिनपछि दूतावासको कार प्रयोग निजी प्रयोजनमा प्रयोग गरेको पुष्टि भएपछि उनले पदबाट राजीनामा दिनुका साथै क्षतिपूर्ति तिरिन् । जनवरी २०१५ मा सम्पन्न राष्ट्रपति चुनावमा पहिलो चरणको चुनावमा झिनो मतले पछाडि परेकी कोन्डिला दोस्रो चरणमा ५० प्रतिशतभन्दा बढी मतसहित क्रोएसियाको पहिलो महिला राष्ट्रपति बनिन् ।


एचडीजेडमा पूर्वसैनिक जनरलहरू र कट्टरपन्थीहरूको वर्चस्व छ । विदेशको उच्च शिक्षा र अंग्रेजी भाषामा दख्खलका कारण पार्टी मात्र होइन, नागरिकबीच पनि उनको बेग्लै परिचय छ । मस्कोको रंगशालामा देखिएको आत्मीयता र स्नेहले कोलिन्डाको उचाइ बढेको छ । खेलपण्डितहरूले फाइनलमा पुग्न सफल क्रोएसियाको पछिल्लो ‘गोल्डन जेनेरेसन’ ले लामो समयसम्म विश्व फुटबलमा आफ्नो प्रभाव कायम राख्ने प्रक्षेपण गरिरहँदा मैदानबाहिरकी ‘स्टार’ कोलिन्डाको घरेलु राजनीतिमा लोकिप्रयता थप बढ्ने विश्लेषकहरूको दाबीलाई पनि नकार्न सकिँदैन ।


प्रकाशित : श्रावण २, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?