२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

क्याथोलिक चर्चका अार्कबिसपलाई बाल यौन दुराचार मुद्दा

आर्कबिसपलाई बर्खास्त गर्न अष्ट्रेलियाली प्रधानमन्त्रीको माग

अष्ट्रेलिया — विगतमा बालबालिकाहरुमाथि भएको बाल यौन दुराचारका घटना लुकाएको आरोप लागेका क्याथोलिक चर्चका आर्कबिसप (मुख्य धर्माध्यक्ष) फिलिप विल्सनलाई बर्खास्त गर्न अष्ट्रेलियाली प्रधानमन्त्री माल्कम टर्नबुलले पोप समक्ष माग गरेका छन् । 

क्याथोलिक चर्चका अार्कबिसपलाई बाल यौन दुराचार मुद्दा

विल्सनलाई करिब ५ दशकअघि भएको बालबालिकामाथिको यौन दुराचारको घटनालाई समयमै रिपोर्ट नगरेको आरोप लागेको थियो । उनलाई अदालतले १ वर्ष डिटेन्सनमा राख्न आदेश दिएको छ ।


अदालतबाट दोषी पाइएपछि उनलाई आफ्नो पदबाट राजीनामा दिनका लागि विभिन्न पक्षबाट दबाब परिरहेको छ । यसैबीच प्रधानमन्त्री टर्नबुलले बिहीबार क्याथोलिक चर्चका सबैभन्दा ठूला धर्मगुरु पोप समक्ष उनलाई बर्खास्त गर्न आग्रह गरेका हुन् । यसपहिले पनि प्रधानमन्त्रीले दोषी पाइएका आर्कबिसप विल्सनले राजीनामा दिनुपर्ने बताउँदै आएका थिए ।


विल्सनले भने आफ्नो आरोप विरुद्ध अदालतमा पुन अपिल गर्ने बताएका छन । उनले आफ्नो अपिल असफल भए राजीनामा दिने बताएको स्थानीय समाचारसंस्थाहरुले जनाएका छन् ।

प्रधानमन्त्री टर्नबुलले गरेको आग्रहलाई समर्थन गर्दै बिहीबार विपक्षी दलका नेता विल सर्टनले समेत विल्सनलाई पदबाट हटाउन आग्रह गरेका छन् । अष्ट्रेलियामा बाल यौन दुराचारका पुराना मुद्दा केही समयदेखि पेचिलो बनिरहेको छ ।


विल्सनमात्र नभएर चर्चहरुमा काम गर्ने केही धर्मगुरुहरुमाथि यसअघि पनि यस प्रकारका आरोपहरु लाग्दै आएको छ । यसैबीच अष्ट्रेलिया सरकारले विगतमा भएको बाल यौन दुराचारको पीडितहरुलाई राहत दिने विषयमा राष्ट्रिय निवारण कार्यक्रमको घोषणा गरेको छ । अष्ट्रेलियाको रोयल कमिसनले सिफारिस गरेको यस कार्यक्रमबाट पीडितहरुलाई केही मात्रामा राहत दिने योजना रहेको छ ।


सरकारको यो योजना अन्तर्गत विगतमा भएको बालयौन दुराचारका पीडितहरुलाई १ लाख ५० हजारसम्म करिब (१ करोड २० लाख रुपैया) क्षतिपूर्ति दिने प्रावधान छ । सरकारले १० वर्षसम्म चल्ने गरी सुरु गरेको यो योजनामा अष्ट्रेलियामा रहेको क्याथोलिक, युनाइटिङ लगायतका चर्चले सहभागिता जनाएका छन् ।


सञ्चारमाध्यमहरुका अनुसार अष्ट्रेलियामा करिब ६० हजार बालयौन दुराचारका पीडितहरु रहेको अनुमान गरिएको छ । सरकारले ल्याएको यो योजनामा सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : श्रावण ३, २०७५ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?