डुंगा डुब्दा मृत्यु हुने १७ पुगे
वासिङ्टन — अमेरिकाको मिसौरी राज्य शुक्रबार भएको डुंगा डुब्दा मृत्यु हुनेको संख्या १७ पुगेको छ । मृतकमध्ये ९ जना एकै परिवारका भएको अधिकारीले जनाएका छन् । मिसौरी हाइवे प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने एक देखि ७० वर्षसम्मका छन् ।
एक महिला टिया कोलिमनले आफ्नो परिवारका ९ सदस्य गुमाएको अधिकारीले जनाएका छन् । ‘मैले मेरा बालबच्च गुमाएँ, श्रीमान् गुमाएँ, सासुससुरा र काका गुमाएँ,’ उनले फक्स समाचार संस्थासँग भनिन्, ‘म त ठिकै छु, तर यो निकै कठिन समय हो ।’ दुर्घटनामा बाँच्न सफल एक व्यक्तिले चालकले डुंगामा सवार सबै ३१ जनालाई लाइफ ज्याकेट नलगाउन भनेका थिए ।
कोलिमनका अनुसार क्याप्टेनले ‘लाइफ ज्याकेट लगाउने चिन्ता नलिन आग्रह गरेको’ बताइन् । अधिकारीहरूले डुंगाका क्याप्टेनको हाल अस्तालमा उपचार भइरहेको जनाए । आँधीका कारण मिसौरीस्थित टेबल रक तालमा पर्यटक सवार डुंगा डुबेको हो । दुर्घटनामा घाइते केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित : श्रावण ६, २०७५ ०८:४९