२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

गुफाबाट बालबालिकालाई सकुशल उद्धार गर्ने टोलीलाई उच्च सम्मान

नारायण खड्का

अष्ट्रेलिया — थाइल्याण्डको गुफामा करिब दुई सातासम्म थुनिएका १३ जना युवा फुटबलरहरुलाई सकुशल उद्दार गर्न सहयोग पुर्‍याएका अष्ट्रेलियाली टोलीलाई अष्ट्रेलिया सरकारले उच्च पदकसहित सम्मान गरेको छ ।

गुफाबाट बालबालिकालाई सकुशल उद्धार गर्ने टोलीलाई उच्च सम्मान

थाइल्याण्डको थामलुङ गुफामा १३ जना अलपत्र परेपछि अष्ट्रेलियाबाट एकजना एनेस्थेटिस्ट डाक्टर र ड्राइभरहरुसहित नौजनाको टोली उद्दारमा सहयोग पुर्‍याउन गएको थियो ।


अष्ट्रेलियाली टोलीका उद्दार कार्यमा महत्वपुर्ण भूमिका निभाएका दुईजना डाक्टरलाई अष्ट्रेलियाको दोस्रो ठूलो बहादुरी सम्मान ‘स्टार अफ करेज’ ले सम्मानित गरिएको छ भने अन्य सातजनालाई ‘करेज अवार्ड’ प्रदान गरेको हो । सबैलाई अष्ट्रेलियाको महत्वपूर्णमध्येको ‘अर्डर अफ अष्ट्रेलिया’ मेडल समेत प्रदान गरिएको थियो ।


अष्ट्रेलियाका गर्भनर जनरल पिटर कोसग्रोभले गर्भमेन्ट हाउस क्यानबेरामा मंगलबार आयोजना गरिएको एक विशेष कार्यक्रममा उनीहरुलाई उच्च सम्मानसहित मेडलहरु प्रदान गरेका हुन् ।


विशेष कार्यक्रममा गर्भनर जनरल कसग्रोभले उद्दारकर्ताहरुलाई उनीहरुले देखाएको बहादुरीप्रति धन्यवाद दिदै समग्र अष्ट्रेलिया गौरवान्वित भएको बताएका थिए ।

अष्ट्रेलियामा सामान्यतया यस किसिमका कार्यक्रमहरु वर्षमा एक पटकमात्र आयोजना हुने गरेको भएपनि उनीहरुलाई विशेष कार्यक्रममार्फत सम्मानित गरिएको थियो ।


थाइल्याण्डमा आफ्नो ज्यानको बाजी राखेर १८ दिनसम्म थुनिएका १३ जनाको उद्दारमा सहयोग पुर्‍याएको भन्दै अष्ट्रेलिया सरकारले उनीहरुको बहादुरीको कदर गर्न सिफारिस गरेको थियो ।


अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुल तथा विपक्षी दलका नेता विल सर्टन सहभागी उक्त कार्यक्रममा प्रधानमन्त्री टर्नबुलले अष्ट्रेलियाली टोलीले अविश्वसनीय कार्य गरेको बताउँदै उनीहरुले देखाएको बहादुरीको प्रशंसा गरेका थिए ।


अष्ट्रेलिया सरकारले आफ्नो देशको प्रतिनिधित्व गरेर विदेशमा जोखिमपुर्ण काम गर्ने आफ्ना नागरिकहरुलाई उच्च महत्व दिदै सम्मान गर्ने गरेको छ ।

सोही नियम अनुसार नै थाइल्याण्डको गुफामा फसेकाहरुलाई सहयोग पुर्‍याउन गएकाहरुलाई अष्ट्रेलिया फर्किएको केही समयपछि नै विशेष कार्यक्रम गरेर उच्च सम्मान गरेको हो ।

प्रकाशित : श्रावण ८, २०७५ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?