जलविद्युत्को बाँध भत्किएर बाढी

एजेन्सी

अटापु, लाओस — लाओसको दक्षिणपश्चिम अटापु प्रान्तस्थित एक निर्माणाधीन जलविद्युत् आयोजनाको बाँध भत्किँदा २० जनाको मृत्यु हुनाको साथै १ सय जना हराइरहेका छन् । बाँधको बाढी बस्तीमा पस्दा ६ हजारभन्दा बढी घर डुबेका छन् ।

लाओस समाचार समितिका अनुसार पियान से नामनोय नामक जलविद्युत् आयोजनाको बाँध वर्षाका कारण सोमबार भत्किएको हो । सन् २०१३ देखि निर्माण सुरु भएको उक्त परियोजना आगामी वर्ष पूरा हुँदै थियो । बाँध निर्माणमा थाइल्यान्डको कम्पनी राचाबुरी इलेक्ट्रिसिटी जेनरेटिङ होल्डिङ र दक्षिण कोरियाको एसके इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनी संलग्न थिए । थाई कम्पनीका एक अधिकारीका अनुसार बाँध १६ मिटर भत्किएको छ ।

उनका अनुसार भारी वर्षाका कारण उक्त अस्थायी बाँधमा क्षमताभन्दा बढी पानी भरिएको थियो । आइतबार स्थानीय समयअनुसार राति ९ बजे बाँध आंशिक रूपमा क्षति भएको पाइएपछि अधिकारीहरूले बाँधभन्दा तल्लो भूभागका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान सचेत गराएका थिए । बाँध मर्मत गर्न टोली पठाइए पनि भारी वर्षाका कारण सम्भव भएको थिएन । मंगलबार दिउँसो १ बजेबाट बाँधको पानी गाउँ पस्न थालेको थियो ।

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण १०, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

मिथिलाबाट सप्रेम !

‘हिजो कला, सभ्यता र संस्कृति भएरै त आज हामी भयौं । त्यही भएर त हामी ग्यालरीसम्म आउन पाएका छौं, सप्रेम आफ्नो कला बाँड्न पाएका छौं ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — घरमै बस्छन्, तर उनीहरू आफूलाई ‘हाउस वाइफ’ भन्न रुचाउँदैनन् । उनीहरूको परिचय फराकिलो छ । घरधन्दाकै फुर्सदमा तयार उनीहरूका चित्र सहरका ग्यालरी आइपुग्छन्, विदेश पुग्छन् । उनीहरू पनि आफ्ना चित्रबारे सगर्व बखान गरिरहेका भेटिन्छन्, ग्यालरीमा ।

अरुपण ग्यालरीमा प्रदर्शित मिथिला चित्रकला र दर्शक । तस्बिर : कान्तिपुर

पुनमकुमारी दास गुप्ता, मिथिलादेवी यादव, रुबी कर्ण र सरिता मण्डल । बितेका केही दिन मिथिला चित्रकलाका यी चार हस्ती लाजिम्पाटस्थित अरुपण ग्यालरीमा व्यस्त भए । घरमै बसेर कोरेका कलाकृतिमाथि बुधबार पनि चारै जना आआफ्ना भावना सुनाइरहेका थिए ।

महोत्तरीकी पुनमले दुई दशकअघिदेखि नै चित्र कोर्न थालेकी हुन् । छिमेकी भाउजू र हजुरआमाका काम हेर्दाहेर्दै उनी चित्रकार बनिन् । तर, चित्र बेचेर आम्दानी हुन्छ भन्ने उनलाई त्यति बेला थाहा थिएन । दिनभरि घरको काम गरेपछि पनि निद्रा माया मारेर राति दुई बजेसम्म उनी चित्र कोर्ने गर्थिन् । एक दिन जनकपुरको व्यस्त सडकछेउ पुनमले आफ्नो कलाकृति राखिन् । चारमध्ये दुइटा चित्र दुई सय रुपैयाँमा बिक्री भए ।

‘चित्र पनि बिक्री हुँदो रहेछ भन्ने थाहा पाएको त्यो दिन म खुसीले उफ्रिएकी थिएँ,’ पुनमले सुनाइन्, ‘त्यसपछि अरू थुप्रै चित्र बाटोमा राखें ।’ एक दिनमा चारवटा चित्र एकै चोटि बेचेको दिन उनी सधैं सम्झिरहन्छिन् । ‘चित्रबाट आएको १५ सय रुपैयाँले त्यही दिन एक बोरा चामल किनेकी थिएँ,’ उनले भनिन्, ‘त्यसपछि हौसला थपिँदै गयो, धेरै चित्र कोर्न थालेँ ।’

यस्तैमा पुनम एक दिन काठमाडौं घुम्न आइन्, आफ्ना सिर्जना लिएर । ठमेलमा उनको एउटा चित्र ७ सय रुपैयाँमा बिक्री भयो । ८ वर्षअघि उनले पहिलो पटक चित्रकै कमाइले २ हजार रुपैयाँको मोबाइल किनिन् । त्यस बेलादेखि उनलाई लाग्न थाल्यो, ‘आफ्नो कमाइको स्वाद बेग्लै हुँदो रहेछ ।’ यति बेला भने उनी ढुक्कैले काठमाडौंमै बसेकी छन् । मिथिला कला बनाउने र बेलाबखत प्रर्दशन गर्ने गर्छिन् । अहिले आफ्नो खर्च जुटाउन कसैको मुख ताक्नुपर्दैन । १ सय रुपैयाँदेखि बिक्री हुन थालेको उनको चित्रको मूल्य अहिले १५ हजारदेखि ३० हजार रुपैयाँसम्म पुगेको छ ।

मिथिला कला सर्जकहरू (बायाँबाट) पुनमकुमारी दास गुप्ता, सरिता मण्डल, मिथिलादेवी यादव र रुबी कर्ण । तस्बिर : कान्तिपुर

धनुषाकी मिथिलादेवीले पुनमभन्दा पनि अग्रज चित्रकार हुन् । उनी २०४५ देखि मिथिला कलामा निरन्तर छिन् । मिथिला हस्तकला पेन्टिङ उद्योगसमेत खोलेकी उनले सुरुमा ४५ जनालाई रोजगार दिएकी थिइन् । ‘मिथिला कलालाई व्यावसायिक बनाउनुपर्छ भनेर म सुरुदेखि नै लागेकी हुँ,’ उनले भनिन्, ‘अझै पनि बजार भाउअनुसारको मूल्य सिर्जना हुन सकेको छैन । कला क्षेत्रको साझा समस्याजस्तै हो यो ।’

भारतबाट बिहे गरेर नेपाल आइपुगेकी रुबी आफ्नो सबैभन्दा अमूल्य सम्पत्ति भनेकै मिथिला कला ठान्छिन् । उनी पनि घरमै बसेर मिथिला कलालाई निरन्तरता दिइरहेकी छन् । ‘मिथिला कलाको विशेषता के हो भने,’ उनले सुनाइन्, ‘घरमै बसेर यो बनाउन सकिन्छ । बेरोजगार र बेफुर्सदिलो हुनुपर्दैन ।’ बौद्ध घर भएकी उनले थपिन्, ‘आर्थिक सबलता त छँदै छ, चित्र कोर्दा मन जसरी हल्का हुन्छ, त्यो अर्थोकबाट हुन सक्दैन ।’

जनकपुरकी सरिता पनि काठमाडौंमै बसेर मिथिला चित्रकर्म गर्छिन् । उनी यसरी बस्न थालेको एक दशक पुग्यो । राजधानी जस्तो महँगो सहरी जीवनशैलीलाई भरथेग मिथिला कलाबाटै मिलिरहेको छ । उनलाई घरबाट पनि सपोर्ट छ । उनीसहित श्रीमान र चार छोरा चित्रकलामै लागिपरेका छन् । मिथिला नारी हस्तकला सेन्टर चलाउँदै आएकी उनले नाम र दाम दुवै पाएकोमा मिथिला सभ्यताको परम्परागत ज्ञानलाई धन्यवाद दिइन् ।

‘हिजो कला, सभ्यता र संस्कृति भएरै त आज हामी भयौं,’ उनले भनिन्, ‘त्यही भएर त हामी ग्यालरीसम्म आउन पाएका छौं । सप्रेम आफ्नो कला बाँड्न पाएका छौं ।’

प्रकाशित : श्रावण १०, २०७५ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT