१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पाकिस्तानमा इमरानको जित, गठबन्धन सरकार बन्ने 

– दिल्लीमा चिन्ता र आशंका
सुरेशराज न्यौपाने

नयाँदिल्ली — पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको तेहरिक–ए–इन्साफ (पीटीआई) पहिलो भएको छ । निर्वाचन आयोगका अनुसार पीटीआईले कुल २ सय ७२ स्थानमध्ये १ सय १४ स्थान जितेको छ । 

पाकिस्तानमा इमरानको जित, गठबन्धन सरकार बन्ने 

सरकार गठनका लागि आवश्यक १ सय ३७ स्थान प्राप्त गर्न नसकेपछि भने उनले सत्ता सहयात्री खोजी गर्नुपर्ने भएको छ । खानले भने आफ्नो दल विजयी भएको विहीबार नै घोषणा गरेका थिए ।


पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्ने संघारमा छन् । खान आक्रमक, कठोर र कुशल कप्तानका रूपमा चिनिन्थे । भारतका पूर्व क्रिकेटकर कपिल देवलाई उद्धृत गर्दै भारतीय अंग्रेजी दैनिक द टाइम्स् इण्डियाले लेखेको छ, ‘इमरान एउटा कठोर कप्तान थिए । उनको नेतृत्वमा पाकिस्तानले निकै राम्रो गरेको थियो । म आशा गर्छु, उनले पाकिस्तानको प्रधानमन्त्रीका रुपमा पनि राम्रो काम गर्नेछन् ।’


हुन त क्रिकेटमा जस्तै राजनीतिमा पनि उनी बोल्ड र चातुर्यपूर्ण लिँदै आएका छन् । १९९६ मा गठन भएको (पिटिआई) ले सन् १९९७ को चुनावमा एउटा पनि सिट जितेन भने २००२ मा भएको दोस्रो चुनावमा खान मात्र विजय भएका थिए । उनी निराश देखिएनन् । बरु कल्याणकारी राज्य, सुशासन र राष्ट्रवादका पक्षका चर्का नारा र आक्रमक निर्णयसहित राजनीतिको मैदानमा डटि रहे । धाँधलीको आरोपमा पिटिआईले २००८ को चुनावनै बहिष्कार गऱ्यो । सन् २०१३ को चुनावमा भने उनको दल तेस्रो शक्तिको रुपमा उदायो । अफगानिस्तानमा भएको अमेरिकी हमलादेखि मुलुकभित्रको भ्रष्टाचार र कमजोर अर्थतन्त्रजस्ता विषयलाई चर्को रुपमा उठाउँदै आएका उनले यसपटको चुनावमा ‘नयाँ पाकिस्तान’ को नारासहित जित हासिल गरेका छन् ।


६५ वर्षीय खान पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएसँगै नयाँदिल्लीमा चिन्ता र आशंका दुवै देखिएको छ । आज प्रकाशित भारतीय अखबारका सामग्रहीहरु पनि तिनै त्यही चिन्ता र आशंकामा केन्द्रित थिए । विशेषगरी खान र उनको पार्टी पिटिआईलाई सत्तामा पुर्‍याउन पाकिस्तानी सेनाले खेलेको भूमिकाप्रति नयाँदिल्लीका विश्लेषक र अधिकारी बढी नै चासो देखिन्छन् । त्यो चासोका पछाडि भारतीय संस्थापनको पूर्वप्रधानमन्त्री नवाज सरिफप्रति नरम दृष्टिकोण हुनु पनि हो ।


सेनाको सहयोगमा सत्तामा पुगेका खान नेतृत्वको सरकारसँग सम्बन्ध अगाडि बढाउन सहज नहुने दिल्लीको बुझाई छ । विशेषगरी खानले सरकारको नेतृत्व गरे पनि विदेश र आन्तरिक मामिलामा सैनिक नेतृत्व हावी हुने आशंका दिल्लीको छ । दिल्लीको आशंकालाई आज प्रकाशित दैनिक पत्रिकाले पनि मुखरित गरेका छन् । टाइम्स अफ इण्डियाले त ‘जनरल स्माइल याज क्याप्टेन बिकम्स् किंग’ भन्दै खानको जितका पछाडि सैनिक जनरलको हात भएको दावी गरेको छ । नयाँदिल्लीका एक सुरक्षा मामिला जानकारले पनि खानको विजयलाई भारतका लागि ठूलो ‘सेटब्याक’ भएको दाबी गरे । ‘एउटा लोकतान्त्रिक मुलुक भारतले सेनाको बलमा सत्ता पुगेको सरकारलाई कसरी सहकार्य गर्न सक्छ,’ उनले भने ।


त्यसमाथि चुनावपछि दिएको पहिलो मन्तव्यमै खानले आफ्नो सरकारको ध्यान चीनलगायतका मुलुकसँग सम्बन्ध सुधारमा केन्द्रित हुने बताएर दिल्लीलाई थप सशंकित तुल्याएका छन । उनले चाइना पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) मा लगानी गरेको भन्दै चीनको प्रशंसासमेत गर । प्रस्तावित सिपेक विवादास्पद कश्मिर भूभाग भएर जाने भएकाले त्यसप्रति शुरुदेखि नै आपत्ती जनाउँदै आएको छ ।


खानको उदयसँगै पाकिस्तान र अफगानिस्तानबीच विकसित हुने सम्बन्धलाई लिएर पनि नयाँदिल्लीको चासो रहेको छ । किनकी उनले अफगानिस्तानमा अमेरिकी सैनिकको उपस्थितिको आलोचना गर्दै आएका छन् । त्यति मात्र होइन, उनले अफगानिस्तान र पाकिस्तानबीच खुला सिमा हुनुपर्ने पनि बताउँदै आएका छन् । यसले पनि उनी अफगानिस्तानमा पाकिस्तानको भूमिका विस्तार गर्ने पक्षमा रहेको प्रष्ट हुन्छ । त्यसैगरि उनले अफगानिस्तानका तालिवा विद्रोहीसँग पनि उनको ‘सहज’ सम्बन्ध रहेको बताइन्छ ।


भारतले पनि अफगानिस्तानमा आफ्नो भूमिका बढाउँदै लगेको थियो । पूर्वाधार विकासमा सहयोग गर्नेदेखि प्रत्यक्ष अनुदानमार्फत् भारतले अफगानिस्तानलाई सहयोग पुरयाउँदै आएको थियो । नरेन्द्र मोदी र सि चिन पिगंबीचको उहान भेटमा चीन र भारत मिलेर अफगानिस्तानमा पूर्वाधार विकास गर्ने सहमति नै भएको थियो । त्यतिमात्र होइन पछिल्ला वर्षहरुमा भारत सरकारकै आग्रहमा भारतका निजी कम्पनीहरुले पनि अफगानिस्तानमा लगानी बढाउँदै लगेका छन् ।


खानको छवी भारतविरोधी रहे पनि आफ्नो जित सुनिश्चित भएपछि दिएको मन्तव्यमा आफू भारतसँगको सम्बन्ध सुधार गर्न चाहेको बताएका छन् । ‘यदि भारतको नेतृत्व एक कदम पाइला सार्छ भने हामीहरु दुई कदम सार्नेछौ त्यसैले वार्ताका लागि भारतले अग्रसरता लिनुपर्छ’ उनको भनाई उद्धृत गर्दै अर्को भारतीय अंग्रेजी दैनिक द इण्डियन एक्सप्रेसले लेखेको छ । तर, शान्ति र वार्ताका लागि भारतले अग्रसरता लिनुपर्छ भन्ने खानको भनाई पाकिस्तानी सेनाले विगतदेखि लिँदै आएको अडानकै सेरोफेरोमा रहेको भारतीय विश्लेषकहरुको छ । खानको जितका पछाडि सेनाको भूमिका छ भन्ने दावी चलिरहेका बेला उनको भनाईलाई स्वाभाविक रुपमा लिनुपर्ने उनीहरु बताउँछन् ।


खानको उदयलाई लिएर विभिन्न आशंका र चासो व्यक्त भइरहेका बेला पाकिस्तानी सेनाले भारतसँगको सम्बन्ध साँच्चिकै सुधार गर्न चाहेको हो भने त्यसतर्फ सकारात्मक पहल हुन सक्ने बुझाई पनि दिल्लीमा रहेको छ । त्यसमाथि खानको पार्टीले स्पष्ट बहुमत हासिल नगरेका कारण मिलिजुली सरकार बन्ने र त्यसको साँचो पाकिस्तानी सेनासँग रहने विश्लेषकहरुको दावी छ । र, त्यस्तो अवस्थामा खानले चाहेर पनि सैनिक जनरलहरुको चाहनाविपरीत भारतसँग सम्बन्ध सुधारका लागि अगाडि बढ्न नसक्ने बुझाई दिल्लीको छ ।


त्यसैले सत्ताको बागडोर सम्हालेपछि क्रिकेटको मैदानमा भारत विरुद्ध सँधै आक्रमक र सफल कप्तान रहेका खानले भारतसँगको सम्बन्धलाई कसरी अगाडि बढाउलान् ? भन्नेमा दिल्ली संस्थापनमा विशेष चासो रहेको पाइन्छ ।

प्रकाशित : श्रावण ११, २०७५ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?