२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अलराउन्डर इमरान

हिमेशरत्न वज्राचार्य

काठमाडौँ — आधिकारिक तथ्यांक नभए पनि नेपालमा सबभन्दा बढी समर्थन गरिने टिम पाकिस्तान मानिन्छ । र, सायद धेरैले मन पराइएका खेलाडी इमरान खान । विश्व फुटबलमा नेपाली प्रशंसकका लागि म्याराडोना र अर्जेन्टिनाको जुन प्रभाव छ, क्रिकेटमा इमरान र पाकिस्तानको प्रभाव करिब त्यस्तै ।

अलराउन्डर इमरान

यो त्यति बेलाको घटना हो, जति बेला टुँडिखेलमा क्रिकेट हुँदा धेरैले सोध्ने गर्थे, सेतो लुगा लगाएर यी मान्छे के गरिरहेका हुन् ? काठमाडौंमा क्रिकेट बुझ्नेहरू धेरै थिएनन् । तर जत्तिले बुझ्थे, तिनका लागि यो खेल नसाजस्तै थियो । त्यही बेला अन्तर्राष्ट्रिय क्रिकेट ठूलो परिवर्तनबाट गुज्रिइरहेको थियो । विश्व क्रिकेटमा वान डे, रंगीन जर्सी, टीभीबाट प्रत्यक्ष प्रसारण, ठुल्ठूला व्यावसायिक अनुबन्धले प्रवेश पाइरहेको थियो ।

यी सबै सन् ८० को मध्यतिरका हुन् । त्यही बेला पाकिस्तानका एक प्रतिभावान् क्रिकेट खेलाडीको उदय भइरहेको थियो, इमरान खानका रूपमा । यता काठमाडौंमा रेडियोमा क्रिकेट कमेन्ट्री सुन्ने पुस्ता टीभीतिर सर्दै थियो । केही भाग्यमानीको घरमा टीभी थियो र त्यसमा दृश्य सफा आउनका लागि घरको छतमा रहेको एन्टिना समय–समयमा घुमाइरहनुपथ्र्यो । त्यही बेला केही युवाले काठमाडौंमा आफ्नै पहलमा क्रिकेट खेल्न सुरु गरेका थिए ।

यो युवा समूहमा इमरान खानको ठूलो प्रभाव परेको थियो । यूएईको सारजहातिर पनि क्रिकेट प्रतियोगिता हुन सुरु भयो । त्यहाँ हुने पाकिस्तान र भारतबीचको खेलले नेपाली दर्शकलाई तान्न थाल्यो । विश्व क्रिकेटले पाएका महान् कप्तानमा गनिन्छ, इमरान खानलाई । उनको ब्याटिङ पनि चल्थ्यो, अनि बलिङ पनि । उनी उत्तिकै उम्दा अलराउन्ड थिए । सन् १९९२ मा पाकिस्तानले उनकै नेतृत्वमा वान–डेको विश्वकप जित्यो । अहिले यिनै इमरान खान पाकिस्तानका प्रधानमन्त्री हुने लगभग तय छ ।

पाकिस्तानमा बुधबार भएको आम चुनावमा उनको तेहरिक–ए–इन्साफ (पीटीआई) सबभन्दा ठूलो दल बनेको छ । र, यसका नेता इमरानले सरकार बनाउने अनुमान गरिएको छ । कुनै आधिकारिक तथ्यांक नभए पनि नेपालमा सबभन्दा बढी समर्थन गरिने टिम पाकिस्तान मानिन्छ । र, सायद धेरैले मन पराइएका खेलाडी यिनै इमरान खान ।

सन् ८० कै अन्त्यतिर इमरान खान काठमाडौं आएका थिए । त्यति बेला होटल मल्लमा बसेका थिए । यो कति पुराना घटना हो भने, अहिले यसै होटलका कर्मचारीलाई पनि इमरान खान आए/नआएको थाहा छैन । त्यति बेला नेपाली सञ्चार पनि अहिलेजस्तो थिएन । इमरान खानको पटक्कै चर्चा भएन । उनी आए र गए । त्यति बेला उनलाई भेट्ने अवसर पाएका एक भाग्यमानीमा पर्छन्, अशोकनाथ प्याकुरेल । युवा छँदा क्रिकेट खेलेका उनी पछि नेपाल क्रिकेट संघ (क्यान) का महासचिव भए ।

‘हामीले उनलाई होटल मल्लमा गएर भेटेका थियौं । इमरान खान होटलको बगैंचामा बसिरहेका थिए । हामीले उनीसँग हात मिलायौं र अटोग्राफ पनि लियौं,’ प्याकुरेलले भने । उनलाई इमरान खान देखेको पहिलो दृश्यमै लागेको थियो, यी निकै ‘हयान्डसम’ छन् । संयोग कस्तो भने, क्रिकेटको नाता जोडेर उनलाई भेट्न जानेमा सायद प्याकुरेल र उनका केही साथी मात्र थिए ।

त्यसैले इमरान खान आपैंm पनि निकै खुसी भए र उनलाई प्रश्न गरेछन्, ‘के नेपालमा पनि क्रिकेट हुन्छ र ?’ नेपालमा पनि क्रिकेट हुन्छ भन्दा उनले अचम्म मानेछन् । प्याकुरेलले त्यो अटोग्राफलाई जोगाउन सकेनन् । तर इमरान खानलाई भेट्दाको समय सम्झँदा गर्व गर्छन् । यस्तै गर्व, त्यो समय पाकिस्तानी क्रिकेट टिमलाई समर्थन गर्ने पुस्तालाई पनि हुनेछ, जसले टीभीमा क्रिकेट हेर्न पनि राम्रै मिहिनेत गर्नुपथ्र्यो । उनीहरू सबैलाई खुसी लाग्नेछ, आफूले पछयाएका क्रिकेट खेलाडी पाकिस्तानका प्रधानमन्त्री हुने तथ्यले । नेपाली फुटबल प्रशंसकमा म्याराडोना र अर्जेन्टिनाको जुन प्रभाव छ, क्रिकेटमा इमरान र पाकिस्तानको प्रभाव करिब रहेको प्याकुरेल बताउँछन् ।

ती पुराना दिन विश्व क्रिकेटबारे धेरै तथ्य थाहा पाउन नेपाली प्रशंसकसँग खासै माध्यम थिएन । यसका लागि केही भारतीय क्रिकेट म्यागाजिनमा भर पर्नुपथ्र्यो । तर पनि इमरान खानबारे चर्चा व्यापक हुन्थ्यो । जस्तो, उनले यसरी टिमको नेतृत्व गर्थे, उनका धेरैभन्दा धेरै महिला प्रशंसक थिए आदि आदि । उता पाकिस्तानमा इमरानको उनकै समकालीन खेलाडी जावेद मियाँदादसँग भएको झगडाको समाचार पनि उडेर काठमाडौं आइपुग्थ्यो ।

पाकिस्तानले वान–डे विश्वकप जित्दासम्म विश्व क्रिकेट नेपाली प्रशंसकका लागि सजिलै उपलब्ध भइसकेको थियो । यस्तोमा पाकिस्तान र इमरान खानका प्रशंसक अझ बढे । लाहोरमा जन्मेर अक्सफोर्डमा पढ्ने अवसर पाएका इमरानले इंग्ल्यान्डमा पनि आफ्नो खेल र व्यक्तित्वको मद्दतले तहल्का नै मच्चाए । एक प्रकारले उनी बदनाम पनि भए । एकपल्ट लन्डनको नाइट क्लबबाट बाहिर निस्कँदा उनले लगाएको टि–सर्टमा लेखिएको थियो, ‘बिग ब्वाइज प्ले एट नाइट’ ।

विश्वकप जितेयता उनले आफ्नी आमाको नाममा क्यान्सर अस्पताल बनाए । सन् १९९६ मा उनले पीटीआई पार्टी स्थापना गरे । त्यति बेला धेरैलाई लागेको थियो, कुलीन परिवारमा जन्मेका इमरान धेरै समय पाकिस्तानी राजनीतिमा टिक्ने छैनन् । हुन पनि उनले सुरुवाती दिनमा असफलताबाहेक अरू केही भेट्टाएनन् । तर दुई दशकभन्दा लामो कठिन संघर्षपछि उनको हातमा आएको छ, पाकिस्तानको सत्ता । नेपाली क्रिकेट प्रशंसकका तर्फबाट इमरान खानलाई रहनेछ, सफलताको शुभकामना ।

दिल्लीमा कौतुहल
-सुरेशराज न्यौपाने
नयाँदिल्ली– पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको तेहरिक–ए–इन्साफ (पीटीआई) पहिलो भएको छ । निर्वाचन आयोगका अनुसार पीटीआईले कुल २ सय ७२ स्थानमध्ये १ सय १४ स्थान जितेको छ ।

सरकार गठनका लागि आवश्यक १ सय ३७ स्थान प्राप्त गर्न नसकेपछि भने उनले सत्ता सहयात्री खोजी गर्नुपर्ने भएको छ । खानले भने आफ्नो दल विजयी भएको बिहीबार नै घोषणा गरेका थिए । प्रधानमन्त्री बन्ने संघारमा रहेका खान आक्रामक, कठोर र कुशल कप्तानका रूपमा चनिन्थे । भारतका पूर्वक्रिकेटकर कपिल देवलाई उद्धृत गर्दै भारतीय अंग्रेजी दैनिक द टाइम्स अफ इन्डियाले लेखेको छ, ‘इमरान एउटा कठोर कप्तान थिए । उनको नेतृत्वमा पाकिस्तानले निकै राम्रो गरेको थियो । म आशा गर्छु, उनले पाकिस्तानको प्रधानमन्त्रीका रूपमा पनि राम्रो काम गर्नेछन् ।’ उनले १९९७ को चुनावमा एउटा पनि सिट नजिते पनि इमरान निराश देखिएनन् ।

बरु कल्याणकारी राज्य, सुशासन र राष्ट्रवादका पक्षका चर्का नारा र आक्रामक निर्णयसहित राजनीतिको मैदानमा डटिरहे । धाँधलीको आरोपमा पीटीआईले २००८ को चुनावनै बहिस्कार गर्‍यो । २०१३ को चुनावमा भने उनको दल तेस्रो शक्ति बन्यो । अफगानिस्तानमा भएको अमेरिकी हमलादेखि मुलुकभित्रको भ्रष्टाचार र कमजोर अर्थतन्त्रजस्ता विषयलाई चर्को रूपमा उठाउँदै आएका उनले यसपटकको चुनावमा ‘नयाँ पाकिस्तान’ को नारासहित जित हासिल गरेका छन् ।


उनको विजयसँगै नयाँदिल्लीमा चिन्ता र आशंका दुवै देखिएको छ । भारतीय अखबारका समाचार तथा विश्लेषण पनि त्यही चिन्ता र आशंकामा केन्द्रित थिए, विशेषगरी खानलाई सत्तामा पुर्‍याउन पाकिस्तानी सेनाले खेलेको भूमिकाप्रति नयाँदिल्लीका विश्लेषकले बढी नै चासो देखाएका छन् ।

सेनाको सहयोगमा सत्तामा पुगेका खान नेतृत्वको सरकारसँग सम्बन्ध अगाडि बढाउन सहज नहुने दिल्लीको बुझाइ छ । टाइम्स अफ इन्डियाले त ‘जनरल स्माइल याज क्याप्टेन बिकम्स किङ’ भन्दै खानको जितका पछाडि सैनिकको हात भएको दाबी गरेको छ ।

दिल्लीका एक सुरक्षा मामिला जानकारले पनि खानको विजयलाई भारतका लागि ठूलो ‘सेटब्याक’ भएको दाबी गरे । ‘लोकतान्त्रिक मुलुक भारतले सेनाको बलमा सत्ता पुगेको सरकारलाई कसरी सहकार्य गर्न सक्छ,’ उनले भने । त्यसमाथि चुनावपछि दिएको पहिलो मन्तव्यमै खानले आफ्नो सरकारको ध्यान चीनलगायतका मुलुकसँग सम्बन्ध सुधारमा केन्द्रित हुने बताएर दिल्लीलाई थप सशंकित तुल्याएका छन् ।

क्रिकेट मैदानमा भारतविरुद्ध सधैं आक्रामक र सफल कप्तान रहेका खानले सत्ताको बागडोर सम्हालेपछि भारतसँगको सम्बन्धलाई कसरी अगाडि बढाउलान् ? भन्नेमा दिल्लीको संस्थापनमा विशेष चासो हुनु स्वाभाविक नै हो ।

प्रकाशित : श्रावण १२, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?