जिम्बाबेमा मुगाबेबिनाको चुनाव

एएफपी

हरारे — अधिनायवादी शासक रोबर्ट मुगाबेको पतनपछि जिम्बाबेमा पहिलोपटक सोमबार संसदीय निर्वाचन भएको छ । चुनावमा मुगाबेको सत्तारूढ जानु–पीएफ पार्टीका दोस्रो दर्जाका नेता इमर्सन मनान्गाग्बा उम्मेदवार छन् ।

जिम्बाबेमा मुगाबेबिनाको चुनाव

उनी आर्थिक सुधार र समृद्धिप्रति प्रतिबद्धता जनाउँदै चुनावमा होमिएका छन् । उनलाई विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) का अध्यक्ष ४० वर्षीय नेल्सन चामिसाले कडा टक्कर दिने अनुमान गरिएको छ ।


खासगरी युवा समुदायको समर्थन रहेको एमडीसीले करिब ४ दशकदेखि सत्तामा रहेको जानु–पीएफलाई पराजित गर्ने दाबी गरेको छ । मतदान केन्द्रहरूमा ठूलो संख्यामा मतदाताहरू लामबद्ध देखिएका थिए ।


‘मेरा भावी सन्ततिका लागि शान्त र समृद्ध जिम्बाबे चाहिएको छ । तैपनि परिस्थिति निकै जटिल छ,’ मतदानका लाइनमा बसेका २८ वर्षीय बेरोजगार युवा टावान्दा पेत्रुले भने । उनले परिवर्तनका लागि चामिसालाई मतदान गरेको बताए ।


चुनावको पूर्वसन्ध्यामा रोबर्ट मुगाबेले पत्रकार सम्मेलन गरी आफैंले स्थापना गरेको जानु–पीएलाई मतदान नगर्ने भन्दै चामिसालाई समर्थन गर्ने संकेत दिएका कारण पनि एमडीसी केही उत्साहित देखिन्छ । उनले ‘आफूलाई पीडा दिनेलाई मतदान गर्न नसक्ने’ बताएका थिए ।


यसअघि चुनावी सभालाई सम्बोधन गर्दै चामिसाले आफू विजयी हुने दाबी गरेका थिए । उनले ‘खासगरी ग्रामीण भेगमा मतदान निष्पक्ष भए आफ्नो जितलाई कसैले रोक्न नसक्ने’ दाबी गरेका छन् ।

प्रकाशित : श्रावण १५, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?