‘उत्तर कोरिया फेरि क्षेप्यास्त्र बनाउँदै’

रोयटर्स

वासिङ्टन — अमेरिकी गुप्तचर अधिकारीले उत्तर कोरियाले नयाँ अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको विकास गरिरहेको दाबी गरेका छन् ।

‘उत्तर कोरिया फेरि क्षेप्यास्त्र बनाउँदै’

गुप्तचर अधिकारीले अमेरिकी जासुसी भूउपग्रहले क्षेप्यास्त्रको विकास गरिरहेको तस्बिरहरू संकलन गरेको दाबी गरेका छन् । नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले अमेरिकी अखबार द वासिङ्टन पोस्टलाई नयाँ प्रमाणबाट प्योङयाङ नजिकैको सेनमडोङ केन्द्रमा काम भइरहेको देखिएको बताएका छन् ।


एकजना अधिकारीलाई उद्धृत रोयटर्सले क्षेप्यास्त्र निर्माण कार्य कति अगाडि बढिसकेको छ भन्ने कुराचाहिँ स्पष्ट भई नसकेको जनाएको छ । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै द वासिङटन पोस्टले सोमबार प्रकाशित गरेको समाचारमा उत्तर कोरियाले प्योङयाङनजिकैको सेनमडोङ केन्द्रमा तरल इन्धन भरिएका अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको निर्माण गरिरहेको देखिएको उल्लेख छ ।


अमेरिकासम्म मार हान्न सक्ने क्षमताको पहिलो उत्तर कोरियाली क्षेप्यास्त्र सोही केन्द्रमा निर्माण गरिएको थियो । परमाणुविज्ञ जेफ्री लेविसले भूउपग्रह तस्बिरबाट सेनमडोङ केन्द्र ‘सक्रिय’ रहेको देखिएको द वासिङटन पोस्टलाई बताएका छन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिंगापुरमा ऐतिहासिक शिखर बैठक भएको थियो । बैठकमा दुई नेताबीच कोरियाली द्वीपलाई नि:शस्त्रीकरण गर्न मिलेर काम गर्ने सहमति भएको थियो । उक्त सहमतिलगत्तै ट्रम्पले उत्तर कोरियाबाट ‘अब अमेरिकालाई परमाणु हतियारको खतरा नरहेको’ दाबी गरेका थिए ।
तर प्योङयाङको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा कुनै ठोस प्रतिबद्धता नभएको भन्दै ट्रम्पको आलोचना भएको थियो । सिंगापुर शिखर बैठकमा उत्तर कोरियाले जनाएको प्रतिबद्धताअनुसार आफ्ना परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिएको भन्दै यसअघि पनि समाचार सार्वजनिक भएको थियो । गतसाता अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियाले परमाणु बम निर्माण गर्ने इन्धन उत्पादनलाई निरन्तरता दिइरहेको बताएका थिए ।


उत्तर कोरियाली सरकारी समाचारपत्र रोडोङ सिनमुनले मंगलबार ‘प्योङयाङमाथिको प्रतिबन्ध हटाउन समय बर्बाद गरेको’ भन्दै दक्षिण कोरियाको आलोचना गरेको थियो ।
दुई कोरियाबीच सैनिक वार्ता सोल– प्योङयाङले क्षेप्यास्त्र निर्माणलाई निरन्तरता दिइरहेको समाचार सार्वजनिक भइरहेका बेला उत्तर र दक्षिण कोरियाली सैनिक नेतृत्वबीच मंगलबार वार्ता भएको छ । वार्ता दुई कोरियाको सीमाक्षेत्रमा पर्ने पन्मुन्जोममा भएको हो ।


दक्षिण कोरियाली समाचार संस्थाका अनुसार गत जुनयता दोस्रोपटक भएको वार्तामा उत्तर कोरियाली लेफटनेन्ट जनरल अन इक सान र दक्षिण कोरियाली सेनाका मेजर जनरल किम डो ग्युन नेतृत्वका टोली सहभागी भएका थिए । वार्तामा संलग्न सैनिक अधिकारीका अनुसार दुई देशबीच तनाव अन्त्य गरी आपसी विश्वास कायम गर्ने सहमति भएको छ ।

प्रकाशित : श्रावण १६, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?