कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मोदीलाई ‘पछ्याउँदै’ खान

सुरेशराज न्यौपाने

नयाँदिल्ली — पाकिस्तानका भावी प्रधानमन्त्री इमरान खानले आफ्नो शपथग्रहण समारोहमा दक्षिण एसियाली सहयोग सगंठन (सार्क) का सदस्य मुलुकका सरकार प्रमुखहरूलाई बोलाउने भएका छन् ।

मोदीलाई ‘पछ्याउँदै’ खान

‘इस्लामाबाद उच्च स्रोतका अनुसार शपथग्रहण समारोहमा सार्क मुलुकका प्रमुखहरूलाई बोलाउने तयारी सुरु भएको छ,’ भारतीय समाचार संस्था पीटीआईलाई उद्धृत गर्दै भारतीय अंग्रेजी दैनिक इन्डियन एक्सप्रेसले लेखेको छ । इमरानको पार्टी तेहरिक–ए–इन्साफको उच्च नेतृत्वमा यस विषयमा छलफल अघि बढेको छ । शपथग्रहणमा सार्क मुलुकका प्रमुखलाई निम्त्याइएको खण्डमा खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछ्याउनेछन् । किनकि सन् २०१४ मा मोदीले आफ्नो शपथग्रहण कार्यक्रममा सार्क सदस्य मुलुकका सरकार प्रमुखहरूलाई निम्त्याएका थिए ।


पूर्वक्रिकेटर इमरानको दलले ९ साउनमा भएको चुनावमा २७३ सिटमध्ये ११५ सिटसहित पहिलो स्थान हात पारेको छ । एकल बहुमत नल्याए पनि उनको दलले साना दलसँग मिलेर सरकार बनाउने निश्चित भइसकेको छ । २६ साउनमा खानले प्रधानमन्त्रीको शपथ लिने तय पनि भइसकेको छ । खानको सत्तारोहणका बेला सार्कका सबै सरकार प्रमुखमध्ये पनि विशेषगरी मोदीको उपस्थिति भएको खण्डमा भारत र पाकिस्तानबीचको सम्बन्ध नयाँ ढंगले अघि बढाउन सघाउने विश्लेषकको दाबी छ । त्यसबाट भारत र पाकिस्तानबीच पछिल्ला वर्षमा देखिएको कटुता कम गर्न सघाउने उनीहरूको विश्वास छ ।


दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयअन्तर्गत सेन्टर फर इन्टरनेसनल पोलिटिक्सका सहप्राध्यापक तथा परराष्ट्र मामिलाका जानकार हयापीमोहन ज्याकब पनि खानले विगतदेखि नै क्षेत्रीय साझेदारी र समृद्धिको कुरा गर्दै आएको र त्यसलाई व्यवहारमा उतार्न यो कदम चाल्न थालिएको हो भने सकारात्मक रूपमा लिनुपर्नेे बताउँछन् । ‘निम्तो आइहाले पनि लोकसभाको चुनाव आउन ९ महिना मात्र बाँकी रहेको अवस्थामा मोदी जाने/नजाने यसै भन्न सकिँदैन । तर, मोदी गए भने निश्चित रूपमा भारत र पाकिस्तानका लागि मात्र होइन सार्ककै लागि सुखद सुरुवात हुनेछ,’ ज्याकबले भने । खानलाई पाकिस्तानी सेनाको समेत सहयोग रहेको हुँदा विदेश मामिलामा उनले लिने निर्णय कार्यान्वयन हुने बलियो सम्भावना रहने उनी बताउँछन् । ‘विदेश मामिलामा खानले चाल्ने कदम वास्तवमा सेनाको हुनेछ, त्यसैले उनलाई द्विपक्षीय र क्षेत्रीय सम्बन्ध विस्तार गर्न सहज छ,’ ज्याकबले भने ।


गत सोमबार भारतीय प्रधानमन्त्री मोदी आफैंले खानलाई फोन गरेर चुनावमा हासिल गरेको जितका लागि बधाई दिएका थिए । साथै आगामी दिनमा पाकिस्तानमा लोकतन्त्र थप सुदृढ हुने र पूरै छिमेकमा शान्ति र विकास हेर्न चाहेको बताएको मोदीलाई उद्धृत गर्दै भारतीय विदेश मन्त्रालयले जनाएको थियो । लामो समयदेखि दुई मुलुकका नेतृत्वबीच संवादहीनता रहेको अवस्थामा मोदीको टेलिफोनलाई पनि दुई मुलुकबीचको सम्बन्धको नयाँ सुरुवातका रूपमा लिइएको छ । यसअघि भारत र मोदीको कटु आलोचना गर्दै आएका खानले पनि चुनावलगत्तैको पत्रकार सम्मेलनमा आफू भारतसँग सुखद सम्बन्धको पक्षमा रहेको बताएका थिए । ‘यदि भारतको नेतृत्व एक कदम पाइला सार्छ भने हामी दुई कदम सार्नेछौं, त्यसैले वार्ताका लागि भारतले अग्रसरता लिनुपर्छ,’ उनले भनेका थिए ।

प्रकाशित : श्रावण १७, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?