१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

क्यालिफोर्निया डढेलो : २ अग्नीनियन्त्रकसहित ६ को मृत्यु, १ हजार ५८ घर नष्ट

नियन्त्रणमा एक चौथाई बजेट खर्च भइसकेको दाबी
एपी

लस एन्जलस — अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा लागेको आगो निभाउनका लागि यसवर्ष छुट्याइएको बजेटको एक चौथाई खर्च भएको अधिकारीहरुले जनाएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा ‘क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड फायर प्रोटेक्सन’का प्रवक्ता माइक मोलरले उक्त जानकारी दिएका हुन् ।

क्यालिफोर्निया डढेलो : २ अग्नीनियन्त्रकसहित ६ को मृत्यु, १ हजार ५८ घर नष्ट

आगलागी नियन्त्रणका लागि सन् २०१८का लागि १२ करोड ५० लाख अमेरिकी डलर छुट्याइएको थियो ।


गत जुलाई २३ देखि सुरु भएको आगलागीमा बुधबारसम्म ६ जनाको मृत्यु भइसकेको छ भने १ हजार ५८ घर नष्ट भएका छन् । मृत्यु हुनेमा २ अग्निनियन्त्रक पनि छन् । ३८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । एक लाख २१ हजार एकड जमीन आगलागीबाट नष्ट भएको बताइएको छ ।


क्यालिफोर्नियाको इतिहासमा यो छैटौं भीषण आगलागी हो । डढेलोका कारण विस्थापित केही व्यक्तिलाई घर फर्कन मिल्ने भन्दै सरकारले अनुमति दिए पनि पुन:नयाँ आगलागी सुरु भएको थियो । बुधबारमात्र सियरा नेभाडा क्षेत्रमा ३ स्थानमा आगो फैलिएको थियो । सानफ्रान्सिस्कोको उत्तरी तथा पूर्वी क्षेत्रमा पनि मंगलबार दुई स्थानमा आगो सुरु भएको छ । ती स्थान पनि मानव बस्तीनजिकै छन् ।


क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पत्रकार सम्मलेनमा आगलागी नियन्त्रण गर्न आवश्यक स्रोतसाधनको व्यवस्था मिलाइएको जनाए । आगलागीमा १३ हजार अग्निनियन्त्रक खटिएका छन् ।

हरेक वर्ष दोहोरिने आगलागी समस्या समाधानका लागि अग्नि नियन्त्रकलाई नयाँ तरिका सिकाइए पनि नियन्त्रणको कठिनाइबाट आफू आश्चर्यचकित भएको ब्राउनले बताएका छन् ।


गम्भीर स्वास्थ्य समस्याको खतरा : विज्ञ

यसैबीच, विज्ञले आगलागीका कारण वायु गुणस्तर घटै जाँदा पश्चिमी अमेरिकी राज्यमा गम्भीर स्वास्थ्य समस्या निम्तने चेतावनी दिएको गार्जियन अनलाइनले जनाएको छ । विज्ञहरुले धुँवाबाट दम तथा मुटुको समस्या निम्तन सक्ने बताएका हुन् ।


विशेषगरी, रेडिङ र योर्कसायर राष्ट्रिय निकुन्जमा धुँवा जमीननजिकै भएकाले त्यसले वायुको गुणस्तरलाई असर गर्ने विज्ञको भनाई छ । युनिभर्सिटी अफ म्यासाचुसेट्सका वातावरण स्वास्थ्य विज्ञानका सहायक प्राध्यापक रिचर्ड पेल्टियरले जंगलको आगोले स्थानीय समुदायमात्रै नभई थुप्रै माइल टाढा रहेका मानिसलाई समेत असर गर्ने बताए । ‘मेरो घर आगलागीमा परेन, यो मेरो समस्या होइन नभन्नुस्, यसले तपाईंको स्वास्थ्यमा समेत असर पर्न सक्छ,’ उनले भने ।


गर्मी सिजन लम्बिँदै जाँदा अमेरिकाको पश्चिमी क्षेत्रका जंगलमा आगो लाग्नेक्रम बढ्दै गएको छ । एक तथ्यांकअनुसार सन् १९८० को दशकमा हरेक वर्ष १ सय ४० वटा आगलागीका घटना हुने गरेका थिए भने सन् २००० र २०१२ को बीचमा यो संख्या बढेर २ सय ५० हुने गरेको छ । जंगलमा लागेको आगोले अमेरिकीको स्वास्थ्यमा असर गरेका प्रमाण पनि भेटिएका छन् ।

प्रकाशित : श्रावण १७, २०७५ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?