क्यालिफोर्निया डढेलो: महँगो हुँदै नियन्त्रण

एपी

लस एन्जलस — अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा लागेको आगो नियन्त्रणका लागि यस वर्ष छुट्टयाइएको बजेटको एक चौथाइ खर्च भइसकेको अधिकारीहरूले जनाएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा ‘क्यालिफोर्निया डिपार्टमेन्ट अफ फरेस्ट्री एन्ड फायर प्रोटेक्सन’ का प्रवक्ता माइक मोलरले उक्त जानकारी दिएका हुन् ।

क्यालिफोर्निया डढेलो: महँगो हुँदै नियन्त्रण

आगलागी नियन्त्रणका लागि सन् २०१८ का लागि १२ करोड ५० लाख अमेरिकी डलर छुट्टयाइएको थियो ।


अग्नि नियन्त्रणकै लागि सन् २०१७ मा २ अर्ब डलरभन्दा बढी संघीय बजेट खर्च भएको थियो । आगो निभाउन बढी खर्च हुन थालेपछि गत वर्ष कृषिमन्त्री सोनी पेरुडले अग्नि नियन्त्रण खर्चका लागि केही निश्चित तरिका पहिल्याउन कंग्रेससमक्ष आग्रह गरेका थिए । युनिभर्सिटी अफ न्यु ह्याम्पसायरका डा रोस गोर्तेले गरेको अध्ययनअनुसार सन् १९९० को दशकसम्म जंगली आगो नियन्त्रणका लागि संघीय बजेटमा १ अर्बभन्दा कम खर्च हुने गथ्र्यो भने सन् २००२ यता बर्सेनि ३ अर्ब डलरको हाराहारीमा खर्च हुने गरेको छ । यस्तै फरेस्ट सर्भिसको वार्षिक बजेटको १० प्रतिशत यसैमा खर्च हुने गरेको पनि उक्त अध्ययनमा जनाइएको छ ।


गत जुलाई २३ देखि सुरु भएको क्यालिफोर्नियाको आगलागीमा बुधबारसम्म ६ जनाको मृत्यु भइसकेको छ भने १ हजार ५८ घर नष्ट भएका छन् । मृत्यु हुनेमा २ अग्निनियन्त्रक पनि छन् । ३८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । १ लाख २१ हजार एकड जमिन आगलागीबाट नष्ट भएको बताइएको छ ।


क्यालिफोर्नियाको इतिहासमा यो छैटौं भीषण आगलागी हो । डढेलोका कारण विस्थापित केही व्यक्तिलाई घर फर्कन मिल्ने भन्दै सरकारले अनुमति दिए पनि पुन: नयाँ आगलागी सुरु भएको थियो ।


क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पत्रकार सम्मलेनमा आगलागी नियन्त्रण गर्न आवश्यक स्रोतसाधनको व्यवस्था मिलाइएको जनाएका छन् । आगलागीमा १३ हजार अग्निनियन्त्रक खटिएका छन् ।

‘स्वास्थ्य समस्याको खतरा’
विज्ञले आगलागीका कारण वायु गुणस्तर घट्दै जाँदा पश्चिमी अमेरिकी राज्यमा गम्भीर स्वास्थ्य समस्या निम्तने चेतावनी दिएको गार्जियन अनलाइनले जनाएको छ ।


धूवाँबाट दम तथा मुटुको समस्या निम्तन सक्ने उनीहरूको भनाइ छ । विशेषगरी, रेडिङ र योर्कसायर राष्ट्रिय निकुञ्जमा धूवाँ जमिनको सतहनजिकै भएकाले त्यसले वायु गुणस्तरलाई असर गर्ने विज्ञ बताउँछन् । युनिभर्सिटी अफ म्यासाचुसेट्सका वातावरण स्वास्थ्य विज्ञानका सहायक प्राध्यापक रिचर्ड पेल्टियरले जंगलको आगोले स्थानीय समुदाय मात्रै नभई थुप्रै माइल टाढा रहेका मानिसलाईसमेत असर गर्ने बताए । ‘मेरो घर आगलागीमा परेन, यो मेरो समस्या होइन नभन्नुस्, यसले तपाईंको स्वास्थ्यमा समेत असर पर्न सक्छ,’ उनले भने ।


गर्मी सिजन लम्बिँदै जाँदा अमेरिकाको पश्चिमी क्षेत्रका जंगलमा आगो लाग्ने क्रम बढ्दै गएको छ । एक तथ्यांकअनुसार सन् १९८० को दशकमा हरेक वर्ष १ सय ४० वटा आगलागीका घटना हुने गरेका थिए भने सन् २००० र २०१२ को बीचमा यो संख्या बढेर २ सय ५० हुने गरेको छ ।

प्रकाशित : श्रावण १८, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?