१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

उत्तर कोरियाले क्षेप्यास्त्र निर्माण रोकेको छैन : राष्ट्रसंघ

रोयटर्स

न्युयोर्क — राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । करिब ६ महिना लामो अध्ययनपछि शुक्रबार राष्ट्रसंघीय सुरक्षा परिषद्मा बुझाइएको एक गोप्य अध्ययन प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ ।

उत्तर कोरियाले क्षेप्यास्त्र निर्माण रोकेको छैन : राष्ट्रसंघ

प्रतिवेदन विभिन्न स्वतन्त्र विज्ञहरुले राष्ट्रसंघीय प्रतिबन्धको कार्यान्वयनबारे अध्ययन गरेपछि तयार पारिएको हो । स्वतन्त्र विज्ञहरूको समूहले उक्त गोप्य अध्ययन प्रतिवेदन सुरक्षा परिषद्लाई शुक्रबार बुझाएको हो ।


‘उत्तर कोरियाले आफ्ना परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमहरू रोकेको छैन र राष्ट्रसंघको प्रतिबन्धको उल्लंघन गर्दै गैरकानुनी रूपमा जहाजबाट पेट्रोलियम पदार्थको ओसारपसार बढाउनुका साथै सन् २०१८ मा कोइला ओसारपसार गरेको छ,’ प्रतिवदेनको पृष्ठ १४९ मा उल्लेख छ ।


यद्यपि, उक्त प्रतिवेदनबारे राष्ट्रसंघका लागि उत्तर कोरियाली प्रतिनिधिले भने प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । प्रतिवेदनमा उत्तर कोरियाले सिरियासँग सैनिक सहकार्य गरेको तथा यमनका हुथी विद्रोहीलाई हतियार बेच्ने प्रयास गरेको पनि उल्लेख छ ।


प्रतिवदेनका अनुसार उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्र निर्माणमा संलग्न प्राविधिकहरुले सन् २०११, २०१६ र २०१७ मा सिरियाको भ्रमण गरेको समेत उल्लेख छ । अध्ययनका क्रममा यमनका हुथी नेताले सन् २०१६ को जुलाई १३ मा उत्तर कोरियालीलाई लेखेको पत्रसमेत प्राप्त भएको थियो । पत्रमा हुथी नेताले उत्तर कोरियाली प्राविधिकलाई ‘हतियार निर्माणको प्रविधि र आपसी सम्बन्धबारे छलफल गर्न सिरियाको राजधानी दमास्कसमा भेट्न’ प्रस्ताव गरिएको थियो ।


त्यसैगरी, प्योङयाङले जहाजबाट गैरकानुनी रूपमा पेट्रोलियम पदार्थको ओसारपसारलाई ‘व्यापक रूपमा बढाएको’ प्रतिवेदनले उल्लेख गरेको छ । गत साता अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्प प्रशासनसँगको न्यानो सम्बन्धका बाबजुद उत्तर कोरियाले नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको विकास गरिरहेको जनाएका थिए ।


यसअघि ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरिएको स्थानमै त्यस्तो गतिविधि जारी राखेको जासुसी भूउपग्रहबाट थाहा भएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै दि वासिङटन पोस्टले समाचार प्रकाशित गरेको थियो ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच गत जुन १२ मा सिंगापुरमा ऐतिहासिक शिखर बैठक भएको थियो । बैठकमा ट्रम्प र किमबीच कोरियाली द्वीपलाई नि:शस्त्रीकरण गर्ने सहमति भएको थियो ।


त्यसपछि ट्रम्पले उत्तर कोरियाबाट ‘अमेरिकालाई परमाणु हतियारको कुनै पनि खतरा नरहेको’ बताएका थिए । तर प्योङयाङको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा कुनै ठोस प्रक्रिया र प्रतिबद्धताबिना सहमति गरेको भन्दै ट्रम्पको आलोचना भएको थियो ।


परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमका कारण उत्तर कोरियाले कैयौं प्रतिबन्ध झेलिरहेको छ । उत्तर कोरियामाथि राष्ट्रसंघ, युरोपेली संघ, अमेरिका, जापान, दक्षिण कोरिया तथा चीनले आर्थिक तथा व्यापारिक प्रतिबन्ध लगाउँदै आएका छन् । राष्ट्रसंघले प्योङयाङमाथि सन् २००६ यता कोइला, फलाम, कपडा, कच्चा तेल तथा पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध लगाउँदै आएको छ ।


ट्रम्प र किमबीचको सिंगापुर बैठकपछि उत्तर कोरियाले औपचारिक रूपमा चीनलाई आफूविरुद्ध लगाउँदै आएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो । तर चीनले भने हालसम्म पनि केही प्रतिक्रिया दिएको छैन ।


प्रकाशित : श्रावण १९, २०७५ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?