२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सडक सुरक्षा माग्दै विद्यार्थीद्वारा प्रदर्शन

रोयटर्स

ढाका — बंगलादेशको राजधानी ढाकामा एक साताअघि सडक दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि विरोधमा उत्रेका विद्यार्थीहरूले नवौं दिन पनि प्रदर्शन जारी राखेका छन् ।

सडक सुरक्षा माग्दै विद्यार्थीद्वारा प्रदर्शन

करिब १ करोड ८० लाख जनसंख्या रहेको राजधानी ढाका विगत ९ दिनदेखि विद्यार्थीको विरोधका कारण ठप्पप्राय: छ । विरोधमा उत्रेका विद्यार्थीले यातायात कानुनको परिवर्तनको माग गर्दै आएका छन् ।

उनीहरूले सडक तथा ट्राफिक क्षेत्रमा भ्रष्टाचार नियन्त्रण तथा सवारी चालक अनुमतिपत्र वितरणमा कडाइको मागसमेत गरेका छन् । विरोध प्रदर्शनमा सहभागी एक १७ वर्षीय विद्यार्थीले भने, ‘हामीले चाहेको भ्रष्टाचार नियन्त्रण होस् र सवारी चालक अनुमतिपत्र चकलेटजस्तो नबाँडियोस् भन्ने हो ।’

ढाकामा गतसाता गाडीको ठक्करले २ विद्यार्थीको मृत्यु भएपछि दसौं हजार विद्यार्थी विरोध प्रदर्शनमा उत्रेका हुन् । गत जुलाई २९ मा एक बसले यात्रु चढाउन अर्को बससँग प्रतिस्पर्धा गर्दा अनियन्त्रित भई ठक्कर दिँदा २ विद्यार्थीको ज्यान गएको थियो । प्रधानमन्त्री शेख हसिनाले विरोध प्रदर्शनलाई विपक्षीले राजनीतिक उद्देश्य प्राप्तिका लागि सरकारविरुद्ध प्रयोग गरेको दाबी गरेकी छन् । विपक्षीले भने उक्त आरोपको खण्डन गरेका छन् । सरकारको चेतावनीका बाबजुद सोमबार पनि ढाकाका विभिन्न स्थानमा आफ्नो विद्यालयको पोसाक लगाएर भेला भएका विद्यार्थीले सवारी आवागमन ठप्प पारेका थिए । यद्यपि उनीहरूले आपत्कालीन सेवाका सवारीसाधनलाई भने चल्न दिएको बीबीसीले जनाएको छ ।

आइतबार बंगलादेशस्थित अमेरिकी राजदूत चढेको गाडीमाथि आक्रमण गरिएको थियो । अमेरिकी राजदूत मार्सिया बर्निक्याट रातिको खाना खाएर फर्केका बेला मोटरसाइकलमा आएका हतियारसहितका व्यक्तिले आक्रमण गरेका थिए । ढाका प्रहरीले उक्त आक्रमणबारे अनुसन्धान गरिरहेको जनाएको छ । उक्त घटनाअघि अमेरिकी दूतावासले प्रहरीले प्रदर्शनकारीमाथि अनावश्यक हस्तक्षेप गरिरहेको जनाएको थियो ।

बंगलादेशमा सडकसम्बन्धी कानुनहरूको कार्यान्वयन फितलो रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विद्यार्थीले निजी बस सञ्जालहरूले ट्राफिक नियमको उल्लंघन गर्ने कारण दुर्घटनामा वृद्धि भएको दाबी गर्छन् । ढाकामा हरेक वर्ष ४ हजारभन्दा बढी मानिसको सडक दुर्घटनामा परी मृत्यु हुने गरेको छ । बंगालादेशमा भने वार्षिक १२ हजारभन्दा बढी मानिसले सडक दुर्घटनाका कारण ज्यान गुमाउँछन् ।

सजाय बढाउने सरकारी निर्णय
बंगलादेश सरकारले असुरक्षित सवारी चलाई दुर्घटना गराउने चाकललाई हुने कारबाहीमा कडा पार्ने निर्णय गरेको छ । कानुनमन्त्री अनिसुल हकले सडक दुर्घटनाका कारण कसैको मृत्यु भएमा चालकलाई हुने ३ वर्षको जेल सजाय बढाएर ५ वर्ष पुर्‍याइएको छ । हकले भने, ‘प्रतास्वित कानुनअनुसार लापरबाही गरी सवारी चलाउँदा कसैको मृत्यु भएमा ५ वर्षको काराबास सजाय भोग्नुपर्नेछ ।’

यसअघि कानुन मन्त्रालयतका एक अधिकारीले ‘सडक दुर्घटनाका कारण कुनै व्यक्तिको मृत्यु भएमा हदैसम्मको कारबाहीको व्यवस्थासहित कानुन संशोधन गर्न लागिएको’ बताएका थिए । उनले सरकारले लापरबाहीपूर्वक सवारी चलाउनेलाई मृत्युदण्डको सजायको व्यवस्था गर्न लागिएको दाबी गरेका थिए । सडक दुर्घटनाका दोषीलाई मृत्युदण्ड दिने कानुन विश्वका अति कम देशमा मात्र छ ।

फोटोग्राफर पक्राउ

प्रदर्शनका क्रममा प्रहरीले सामाजिक अभियन्ता र फोटोग्राफर सहिदुल अलामलाई पक्राउ गरेको थियो ।
बंगलादेशको अखबार डेली स्टारले उनीमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रपोगान्डा मच्चाएको आरोप लगाइएको छ । अलामलाई सूचना तथा सञ्चार प्रविधि कानुनअनुसार मुद्दा चलाइएको छ । राजधानी ढाकास्थित अदालतले उनलाई ७ दिन हिरासतमा राख्ने अनुमति दिएको अखबारले जनाएको छ ।

अलामले हसिनाको सत्तारूढ दलले विरोध प्रदर्शनमा उत्रेका विद्यार्थीमाथि आक्रमण प्रयास गरेको बताएका थिए । अलामको संस्था ‘ड्रिक पिक्चर्स लाइब्रेरी’ ले आफूलाई प्रहरी गुप्तचर बताउने करिब ३०/३५ जनाको समूहका सादा पोसाक लगाएका व्यक्तिले उनलाई पक्रेर लगेको जनाएको छ ।

कार्यालय रहेको भवनका सुरक्षाकर्मीले अलामलाई जबर्जस्ती कारमा राख्दा चिच्याएको बताए । ढाकाका प्रहरी सहायक कमिसनर ओबाइदुर रहमानले अलामलाई सोधपुछका लगि नियन्त्रणमा लिइएको बताए ।
मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले अलामलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । एम्नेस्टीले अल–जजिरालाई अन्तरवार्ता दिएका कारण उनलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ । उक्त अन्तरवार्ता उनले प्रदर्शनकारीमाथि अनावश्यक दमन गरेको भन्दै सरकारको कडा आलोचना गरेका थिए ।

अधिकारीहरूले उनमाथि छानबिन भइरहेको उल्लेख गरेका छन् । ‘उनले विभिन्न आमसञ्चारमाध्यमलाई गलत सूचना दिएको तथा भड्काउपूर्ण अभिव्यक्ति दिएको मुद्दामा हामीले अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित : श्रावण २२, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?