इन्डोनेसिया भूकम्प : १०० भन्दा बढीको मृत्यु

एएफपी

जाकार्ता — इन्डोनेसियाको लोम्बोक टापुमा आइतबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् ।

इन्डोनेसिया भूकम्प : १०० भन्दा बढीको मृत्यु

विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पका कारण करिब २ सय ५० मानिस घाइते भएका छन् । लोम्बोक टापुबाट करिब १० हजार मानिस विस्थापित भएको बीबीसीले जनाएको छ ।

७ म्याग्निच्युडको भूकम्पकपछि हजारौं भवनमा विद्युत् आपूर्ति बन्द भएको जनाइएको छ । नजिकैको गिली टापुमा फसेका करिब १ हजार पर्यटकको उद्धारका लागि डुंगा पठाइएको छ । छिमेकी बाली टापुका मानिस चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फुटेजमा देखिन्छ । समुद्री तट र पदयात्राका लागि लोकप्रिय टापु लोम्बोकमा एक साताअघि पनि भूकम्प गएको थियो । उक्त क्षेत्र बालीबाट करिब सय किलोमिटर टाढा पर्छ ।

उक्त भूकम्पका कारण १७ जनाको ज्यान गएको थियो । अमेरिकी भूगर्भ निकायका अनुसार आइतबारको भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा करिब १० किलोमिटर तल थियो ।

भूकम्पलगत्तै अधिकारीहरूले सुनामी आउने चेतावनी जारी गरे पनि केही घण्टापछि फिर्ता लिइएको थियो । इन्डोनेसियाको विपद् न्यूनीकरण निकायका प्रवक्ताले लोम्बोक टापुको प्रमुख नगर माताराममा थुप्रै घरमा क्षति पुगेको समाचार संस्था एएफपीलाई बताए । उनका अनुसार क्षति पुगेकामध्ये अधिकांश कमसल निर्माण सामग्रीबाट बनेका घर हुन् ।

मातारामका बासिन्दाले एउटा शक्तिशाली झट्का महसुस गरेपछि मानिस घरबाट भाग्न थालेको बताएका छन् । एक स्थानीयले भने, ‘तत्काल सबै मानिस घरबाहिर निस्के, सबैजना आत्तिएका थिए ।’ उनले अधिकांश भागमा विद्युत् तथा खानेपानी सेवा बन्द भएको जनाए । भूकम्पपछि बालीस्थित अस्पतालबाट बिरामीलाई बाहिर निकाली सडकमा टाँगिएका पालभित्र चिकित्सकले उपचार गरिरहेका छन् ।

प्रकाशित : श्रावण २२, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?