१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रहेनन् करुणानिधि

एजेन्सी

चेन्नाई — तमिलनाडुका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको मंगलबार मृत्यु भएको हो । चेन्नाईस्थित एक अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा मृत्यु भएको हो ।

रहेनन् करुणानिधि

तमिल नाडु सरकारले उनको मृत्युप्रति शोक व्यक्त गर्दै बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


गत जुलाई २८ मा उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनी सन् १९२४ को जुन ३ मा तमिलनाडुको नागापट्टिनम जिल्लामा भएको थियो ।


करुणानिधिको सन् २०१६ देखि स्वास्थ्यमा समस्या देखिएपछि पटकपटक उपचार गराइरहेका थिए । उनी खराब स्वास्थ्यका कारण दुई वर्षयता राजनीतिमा भने निष्क्रिय थिए ।


सन् २०१६ मा उनका छोरा एमके स्टालिनले कार्यकारी अध्यक्षको रूपमा डीएमके पार्टी सञ्चालन गरेका थिए । करुणानिधि सन् १९६९ को जुलाई २७ मा पार्टीको अध्यक्ष बनेका थिए ।


मंगलबार उनको मृत्युको खबर सार्वजनिक भएसँगै अस्पतालबाहिर उनका समर्थकको भीड लागेको थियो ।


करिब ८ दशक राजनीतिमा सक्रिय करुणानिधि ५ पटकसम्म तमिलनाडुको मुख्यमन्त्री भए । १३ पटक विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका करुणानिधिले कुनै पनि चुनाव हारेनन् । उनी सन् २०१६ को विधानसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए ।


करुणानिधिले करिब ५० वटा तमिल भाषामा निर्मित फिल्मको पटकथा तथा संवादसमेत लेखका थिए ।


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले करुणानिधिको निधनप्रति दु:ख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘भारतले एक वरिष्ठ राजनीतिज्ञ गुमाएको’ जनाए ।


मोदीले भनेका छन्, ‘हामीले भारतको माटोसँग जोडिएका एक असल नेता गुमायौं । उनी एक अत्यन्त सफल लेखक थिए र उनले आफ्नो सम्पूर्ण जीवन गरिबको सेवामा समर्पित गरे ।’

प्रकाशित : श्रावण २२, २०७५ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?