करुणानिधिको अन्त्येष्टिमा लाखौं

एजेन्सी

चेन्नई — लामो विवाद र राज्य सरकारको असहमतिका बाबजुद तमिलनाडुका पूर्व मुख्यमन्त्री एम करुणानिधिलाई तमिनलाडुको चेन्नईस्थित मरिना बिचमा समाधिस्थ गरिएको छ । अन्त्येष्टिमा लाखौं सहभागी थिए ।

अन्य राजनीतिक हस्तीहरूसँगै मरिना बिचमै समाधिस्थ गर्ने परिवार र पार्टी डीएमकेको माग भए पनि तमिलनाडु सरकारले अस्वीकार गरेपछि विवाद बढेको थियो । यही विषयमा मंगलबार राति मद्रास उच्च न्यायालयका मुख्य न्यायाधीशको घरमा सुनुवाइ सुरु भएको थियो ।

अदालतले बुधबार बिहान फैसला सुनाउँदै मरिना बिचमै समाधिस्थ गर्ने स्वीकृति दिएको हो । गत २८ जुलाईमा चेन्नईको कौबेरी अस्पताल भर्ना गरिएका ९४ वर्षीय करुणानिधिको मंगलबार साँझ निधन भएको हो ।

Yamaha

तमिलनाडुको एआईडीएमके सरकारले मरिना बिचमा समाधिस्थ गर्ने अनुमति नदिएपछि विवाद चर्किएको हो ।

प्रकाशित : श्रावण २४, २०७५ ०७:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुनसान भयो हर्मिताज

‘नेपाली कला क्षेत्रकै अपूरणीय क्षति’
कान्तिपुर संवाददाता

काठमाडौँ — २०४६ को राजनीतिक परिवर्तनपछि उनी आफ्नै घरलाई गुफाजस्तो बनाएर बसे । सार्वजनिक सभा–समारोहमा कतै देखिएनन् । वरिपरि कलाकृति सजिएको, बौद्धको महांकालस्थित बगैंचासहितको बासस्थानलाई नाम दिए— हर्मिताज ।

वरिष्ठ चित्रकार मनुजबाबु मिश्र र उनका सिर्जना ।

रूसको विश्वविख्यात कला संग्रहालयको नाम सापटी लिइएको यो हर्मिताजमा ८३ वर्षीय वरिष्ठ कलासाधक एवं साहित्यकार मनुजबाबु मिश्र मंगलबार साँझसम्म सक्रिय जीवन बिताइरहेका थिए । बुधबार बिहान हृदयाघातबाट निधन भएयता हर्मिताज सुनसान बनेको छ । मिश्र लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए ।

‘तीन दशक उहाँ गुप्तवास बस्नुभयो,’ बुबाको निधनपछि शोकमा डुबेका छोरा रवीन्द्र मिश्रले भने, ‘मृत्युको बेला पनि कतै हल्ला नगरी सुनसान आर्यघाट पुर्‍याउनू भन्ने उहाँको इच्छा थियो । सामाजिक सञ्जालहरूमा हल्ला भइहाल्यो ।’ तर, परिवारका सदस्यहरू मिश्रकै अन्तिम इच्छा पुर्‍याउन प्रयत्नरत थिए ।

बुधबार दिउँसो हर्मिताज सुनसान थियो, एकाध आफन्त मात्र थिए । बाहिर बगैंचामा अरनिकोको मूर्ति टोलाइरहेझैं देखिन्थ्यो भने मिश्र बस्ने हर्मिताज गुफाभित्र थुप्रै चित्र र पुस्तकहरूको थाक थियो । यीमध्ये त्रिशूल बोकिरहेको गणेश चित्रमा आधा क्यानभास खाली थियो । सञ्चारकर्मी एवं विवेकशील साझा पार्टीका संयोजकसमेत रहेका छोरा रवीन्द्रले भने, ‘गणेशको त्यही चित्र उहाँको अन्तिम सिर्जना थियो, जुन अधुरै रहयो ।’

आफ्नै निवास (हर्मिताज गुफा) मा सुतेकै अवस्थामा बिहान दुई बजे मिश्रको निधन भएको थियो । दिवंगत मिश्रका श्रीमती, दुई छोरी र दुई छोरा छन् । उनी कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा. मञ्जु मिश्र र चित्रकार रोशन मिश्रका बुबा हुन् । कान्छा छोरा रोशन लन्डनमा भएकाले बिहीबार मात्रै अन्त्येष्टि हुने परिवारले जनाएको छ ।

मिश्रको पार्थिव शरीर भने बुधबारै पशुपति आर्यघाट पुर्‍याइएको छ । मिश्रको निधनसँगै सामाजिक सञ्जालमा उनकै सिर्जनाहरूसहित श्रद्धाञ्जलीको ओइरो लागेको छ । तीमध्ये सर्वाधिक चर्चित चित्र मानिन्छ— मोनालिसा । विख्यात चित्रकार लियोनार्दो दा भिन्चीको कालजयी चित्र मोनालिसालाई मिश्रले नेपालीकरण गरेका थिए । ढुंग्री लगाएकी नेपाली मोनालिसाको पछिल्तिर त्रिशूल बोकेको बोका आकृति नेपाली समाजको मनोविज्ञान चित्रण गर्ने सन्दर्भमा अर्थपूर्ण मानिन्छ । यही चित्र फेसबुकमा पोस्ट गर्दै ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले ‘नेपाली कला क्षेत्रकै अपूरणीय क्षति’ भनेकी छन् ।

कला समीक्षक रमेश खनालका अनुसार, मिश्र स्वैरकाल्पनिक चित्रका लागि प्रख्यात थिए । आफ्नो पुस्तक ‘कला स्रष्टा’ मा मिश्रको जीवनी र योगदान समेटेका खनालका अनुसार मिश्रका चित्रहरू मुलुकबाहिर पनि उत्तिकै ख्यातिप्राप्त छन् । ८३ वर्षअघि जनैपूर्णिमाका दिन बौद्धको महांकालमा जन्मेका उनी बुबाकै प्रभावले कला क्षेत्रमा लागेका थिए ।

पाकिस्तान सरकारको सांस्कृतिक छात्रवृत्ति पाएर सन् १९६३ मा ढाका पुगेका उनले पाँच वर्ष उतै कला अध्ययनमा बिताएका थिए । पाकिस्तानबाट बंगलादेश टुक्रिइनसकेको त्यो समय उनले ढाकामै ललितकलामा स्नातक गरे ।

‘विश्वकलाको इतिहास’ मिश्रको अमूल्य पुस्तक मानिन्छ । उनका ‘मेरो चित्र मेरो छाया,’ ‘तरंग परेली’, ‘दूरान्तर’, ‘अन्तर तरंग’, र ‘अनुहारका पानाहरू’ लगायत निबन्धसंग्रह पनि प्रकाशित छन् । लामो समय प्राध्यापनमा समेत बिताएका उनका ‘स्वप्न सम्मेलन’ उपन्यास, ‘एउटा कथाको कथाकार’, ‘चित्रकला चित्रण विधि’ र केही बाल साहित्यका पुस्तकहरू पनि प्रकाशित छन् । केही वर्षअघि मात्रै उनको आत्मकथा ‘हर्मिताज : अढाइ दशक गुफामा’ सार्वजनिक भएको थियो ।

धेरैजसो त्रिशूल, सिङ र रकेट विम्बमा काम गरेका मिश्रले आफ्नो अन्तिम चित्रमा पनि गणेशलाई त्रिशूलसहित चित्रण गरेको देखिन्छ । त्रिशूललाई शक्तिका रूपमा, सिङलाई मानिसभित्रको पशुत्वका रूपमा र रकेटलाई पश्चिमी ज्ञानको प्रभावका रूपमा उनले यी विम्बहरू क्यानभासमा कोर्दै आएका थिए ।

रोचक के भने, बुधबार दिउँसो हर्मिताज गुफामा एउटा चित्र भेटियो, जहाँ मिश्रले आफू ८३ औं वर्ष प्रवेश गरेको उल्लेख गरेका छन् । चित्रमा उनले ‘आज भाद्र १० गते–२०७५ को जनैपूर्णिमाका दिन जन्मेको ८३ औं वर्ष प्रवेश’ लेखेका छन् । चित्रमा टेबलमाथि कफिनजस्तो लाग्ने बाकस छ, टेबल भने खुट्टासहित हिँडिरहेको भान हुन्छ । बाकसमाथि सिङसहितको आफ्नै आकृति उतारेका उनको यो चित्र मृत्युको पूर्वाभासजस्तै लाग्छ । छोरा रवीन्द्रका अनुसार, यो चित्र उनले एक महिनाअघि मात्रै बनाएका थिए ।

मिश्रसँग नजिक रहेका चित्रकार राधेश्याम मुल्मीले आफूले मिश्रबाट धेरै ज्ञान लिएको बताए । ‘गलत कुरालाई कुनै पनि हालतमा सही भन्न मन नपराउने, एकदमै प्रस्ट विचारको हुनुहुन्थ्यो उहाँ,’ मुल्मीले भने, ‘सबैलाई माया गर्नुहुन्थ्यो ।’

प्रकाशित : श्रावण २४, २०७५ ०७:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT