अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

रासस/एएफपी

ब्युनस आयर्स — अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ । 

अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु निराश भएको बताइएको छ । गत जुन महिनामा महिलाले गर्भपतन गराउन पाउने विधेयक यहाँको संसदको तल्लो सभाले पारित गरेको थियो ।


उक्त विधेयक पारित हुँदा खुशी भएका यहाँका महिलाहरु बिहीबारको सिनेटको मतदानपछि भने निराश हुन पुगेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


उता, इसाई समुदायका सर्वोच्च गुरु पोप फ्रान्सिस जन्मेको यस देशमा गर्भपतन गराउन पाउने भनी ल्याइएको यस कानुन पारित हुन नसकेपछि भने अधिकांशमा खुशियाली छाएको बताइएको छ ।


एकजना अधिकारीकाअनुसार उक्त विधेयकको विपक्षमा ३८ जना सिनेटरले मतदान गरेका थिए भने यसको पक्षमा मतदान गर्ने सिनेटर ३१ जना थिए । मतदानको क्रममा ४ जना सिनेटर अनुपस्थित थिए ।


उक्त विधेयकमा महिलाले चाहेमा आफ्नै निर्णयबाट गर्भ रहेको बढीमा १४ हप्तासम्मको भ्रूण पतन गराउन पाउने प्रावधान रहेको थियो । यहाँका नागरिकले भने यस प्रावधानको विरोध गरेका थिए ।


महिलालाई गर्भपतनको अधिकार दिनुपर्छ भन्ने महिला अधिकारकर्मीहरुले भने सिनेटको यस निर्णयको विरोध गरेका छन् । उनीहरुले पनि जुलुशहरुमार्फत विरोध प्रदर्शन गरेका छन् ।


यस कानुनका पक्षधर महिलाहरु हरियो पछ्यौरी ओढेर विभिन्न सडकमा विरोधमा निस्किएका थिए । उनीहरुले आँशु झारेका दृश्यहरु पनि टेलिभिजनमा देखाइएको थियो ।


केही प्रदर्शनकारीले भने सडकमै प्रहरीतर्फ ढुङ्गामुढा गरेका थिए । उनीहरु गर्भपतनको कानुनका पक्षधर थिए । उनीहरुले सिनेटले राम्रो काम नगरेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : श्रावण २४, २०७५ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?